२०८० पुष २९ गते १७:४५ सन्तोष रोकाया
काठमाडौं । साँझको साढे ७ बजे । मोबाइलमा घण्टी बज्यो । फोन उठाएँ, उताबाट आवाज आयो- ‘तपाईंलाई एमडी (म्यानेजिङ डाइरेक्टर) सरले समय दिनुहुन्छ, अहिले नेपाल विद्युत प्राधिकरण आउन सक्नुहुन्छ ? पंक्तिकार हस् आउँछु भन्दै प्राधिकरणतर्फ लागे । पंक्तिकारले कुराकानीका लागि प्राधिकरणका एमडी कुलमान घिसिङलाई समय मागेका थिए, घिसिङले साँझ साढे सात बजे प्राधिकरणमै बोलाए । विकासन्युजको कार्यालय पनि प्राधिकरणको मुख्यालय नजिकै रहेकोले हिड्दै प्राधिकरण पुग्न सजिलो भयो । फोटो पत्रकार रिसव चौधरी घर पुगिसकेका रहेछन् । पंक्तिकार स्कूटर लिएर सोझै प्राधिकरण पुगे ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय सुनसान थियो । जाँदा र फर्कँदा गेटमा सुरक्षाकर्मी र सचिवालयमा एक जना कर्मचारी, ड्राइभरलाई हामीले देख्यौं, अरु कोही देखिएनन् ।
घिसिङ काममा व्यस्त । पंक्तिकारले सुरुमै जिज्ञासा राखे, ‘सर, अहिलेसम्म घर जानु भएको रहेनछ ? मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘८/९ बजे घर फर्किनु आदत बनिसक्यो, दिनभर विभिन्न मिटिङ तथा अफिसका साथीहरूसँग छलफलमै समय बित्छ, मेरो काम गर्ने समय नै यतिबेला हो ।’
विद्युत महसुल नतिरेपछि बत्ती काटिएको विषयमा पत्रकार सम्मेलनमा बताउने भन्दै अन्य विषयमा मात्र कुरा गर्न उनी तयारी भए । विद्यार्थी जीवन, प्राधिकरणको यात्रा, कुशल व्यवस्थापनमा उनले गरेका अभ्यास, अध्यारो नेपाललाई उज्यालो बनाउन उनले गरेका प्रयासबारे हामीले साढे नौ बजेसम्म कुरा गर्यौं । उनी घर पुग्दा करिब १० बज्यो नै ।
कति घण्टा काम गर्नुहुन्छ ?
जवाफमा उनले भने, ‘बिहान ९ बजे अफिस आइपुग्छु, साँझ ८/९ बजे घर पुग्छु, म मिहिनेत गर्न रूचाउँछु, जसरी पनि नतिजा दिनुपर्छ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्छु ।’
उनले आफू सानैदेखि नै मिहिनेती स्वभावको रहेको बताउँदै आफ्नो बाल्यकालको काहानी सुनाए । वि.सं २०२७ सालमा रामेछापको बेथान गाउँपालिकामा जन्मेका कुलमान सानैदेखि मिहिनेती ।
देशलाई लोडसेडिङ मुक्त बनाएर ठूलो प्रशंसा र वाहीवाही पाएका उनी आफू भने टुकी बालेर रातभर पढेको दिनहरू अझैं स्मरण गर्छन् । ‘त्यतिबेला गाउँमा बत्ती, टेलिफोन, सडक केही पनि सुविधा थिएन, टुकी बालेर पढ्नु पर्थ्यो, बिहान भैंसीलाई घाँस काटेर त्यसपछि स्कुल जानु पर्थ्यो,’ उनी विगत सम्झिँदै भन्छन्, ‘म धेरै दुःख र मिहिनेत गर्ने मान्छे हो, मेरो मिहिनेत देखेर धेरैले मलाई माया गर्नुहुन्थ्यो ।’
आठ वर्षको हुँदा स्कुलमा भर्ना भएका उनको स्कुले पढाइको अनुभव भने गज्जबको छ । कुलमान एक र दुई कक्षामा प्रथम भए । तीन कक्षा नपढेर चारमा भर्ना भए । तर, चार कक्षामा पढ्नको लागि भने उनले एक घण्टाको उकालो हिडेर स्कुल जानु पर्थ्यो । बिहान भैंसीको लागि घाँस काटेर त्यसपछि एक घण्टाको उकालो हिडेर स्कुल जानु परेको संघर्षपूर्ण दिनहरु उनी अझै पनि स्मरण गर्छन् ।
उनी चार कक्षाबाट पाँच कक्षामा पनि पहिलो नै भए । पाँच कक्षाबाट नै विद्यालय टप गरे । त्यसपछि कुलमान काठमाडौंको बालसेवा माविमा सात कक्षामा भर्ना भए । उनका दाजुहरू काठमाडौंमा थान्का लेख्ने काम गर्थे । उनका दाजुहरूले उनलाई काठमाडौं ल्याए ।
उनी काठमाडौं आएर पनि धेरै मिहिनेत गरे । भन्छन्, ‘म पढ्नमा धेरै मिहिनेत गर्थें, कोठा वरिपरी बस्नेहरूले पनि यो केटा कति पढ्छ भनेर प्रश्न गर्थे,’ उनी स्कुले जीवन स्मरण गर्दै भन्छन्, ‘सात कक्षामा पनि पहिलो नै भएपछि स्कुलमा पनि धेरैले माया गर्न थाले ।’
बालसेवा माविका शिक्षकहरूले उनलाई राम्रो विद्यार्थी भएकोले बोर्डिङमा पढाउन उनका दाजुलाई सल्लाह दिए । सोही सल्लाह अनुसार अब उनी बानेश्वरमा रहेको अमरआदेश बोर्डिङ स्कुलमा पढ्ने भए । तर, सो स्कुलले उनलाई ८ कक्षामा भर्ना लिन मानेन । पछि फर्ष्ट ब्वाई भएको सर्टिफिकेट देखेपछि भर्ना दिएको कुलमान बताउँछन् ।
सुरुमा त उनलाई साँच्चिकै कठिन भयो । विस्तारै मिहिनेत गर्दै गए । सुरुको त्रैमासिक परीक्षामा एक/दुई विषयमा फेल भएका उनी वार्षिक परीक्षामा भने कक्षा फर्ष्ट नै भए । १६ वर्षको उमेरमा एसएलसी (हालको एसईई) दिएका उनी ५ नम्बरले बोर्ड टप हुनबाट पछि परे ।
‘सबैले मलाई बोर्ड टप आउँछ भनेर आशा गरेका थिए, । तर, ५ नम्बरले पछि परें, साथी (महेश ढकाल) ले टप गरे,’ उनले भने ।
एसएलसीपछि उनी आइएस्सी पढ्न अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सी पास भएपछि उनी छात्रवृत्तिमा भारतमा इन्जिनियर पढ्न गए । सन् १९९४ मा भारतको बिहार टाटानगरमा रहेको रिजनल इन्टिच्युट अफ इन्जिनियरिङमा चार वर्ष पढे र नेपाल फर्किए ।
एकै पटक तीन ठाउँमा नाम
स्कुले जीवनमा पढाइमा कुशल कुलमानले भारतबाट इन्जिनियरिङ पास गरेपछि सरकारी जागिर गर्ने सोच बनाए । उनले भारतबाट फर्किएलगत्तै तीन ठाउँमा आवेदन दिए । २०५१ सालमा नेपाल विद्युत प्राधिकरण, लोकसेवा आयोग र हवाइ विभागमा एकै पटक मौखिक र लिखित परीक्षामा नाम निस्किएर पनि सिफारिस भए ।
उनले कामका लागि प्राधिकरण नै रोजे । ‘प्राधिकरणमा फिल्ड र प्राविधिक काम हेर्नु पर्ने भएकोले पनि मैले प्राधिकरण रोजेको हुँ, त्यतिखेर २३ वर्षको थिएँ, प्राधिकरणमा सातौं तहमा नाम निकालें,’ उनले विगत स्मरण गर्दै भने, ‘म अफिसमै बसेरभन्दा पनि फिल्डमा काम गर्न चाहन्थें ।’
सातौं तहमा नाम निकालेका उनले ८ वर्ष सोही तहमा रहेर काम गरे । पछि आठौं तहमा नाम निकाले । पढाइमा एक कक्षा अपग्रेड गरेका उनले काममा पनि नवौं तह काम नगरी १०औं तहमा नाम निकाले ।
त्यही बिचमा एक जना सहसचिवका लागि खुला प्रतिस्पर्धा भयो । उनले लिखितमा नाम निकाले । अन्तर्वार्तामा दिनेश घिमिरेको नाम निस्कियो । घिमिरे मन्त्रालयको सचिवको रुपमा प्राधिकरणको सञ्चालक भए, घिसिङ प्रबन्ध निर्देशक । घिमिरेले गत मंसिरमा सचिवबाट अवकाश पाए । ‘यदि त्यतिबेला म सहसचिव भएको भए अहिले सचिव भएर म पनि अवकाश भइसकेको हुन्थें,’ उनी हाँस्दै जवाफ दिन्छन् ।
चिलिमेले चम्कायो
१०औं तहमा काम गरिरहेका कुलमानलाई सरकारले चिलिमे जलविद्युत आयोजनाको एमडी बनाएर पठायो । त्यतिखेर चिलिमे परियोजना अगाडि बढ्न नसक्ने अवस्थामा थियो । स्थानीयले परियोजनाविरूद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले सेयरको माग गरिरहेका थिए । उनले ती सबै समस्याको समाधान गर्ने प्रयास गरे । नभन्दै एउटा सफल परियोजनाको रूपमा अगाडि बढाए ।
‘म गएपछि स्थानीयहरूसँग समन्वय गरेर मुद्दा फिर्ता गर्न लगाएँ, १० प्रतिशत स्थानीय र पब्लिकलाई १५ प्रतिशत सेयर जारी गर्यौं । १०० रुपैयाँको सेयर २८१० रुपैयाँ पुग्यो,’ उनी भन्छन्, ‘त्यसपछि चिलिमेमा सबैको ध्यान गयो ।’
उनले सरकारको अपेक्षाअनुसार काम मात्रै गरेनन् स्थानीयलाई सेयर दिएर धनी समेत बनाए । ‘त्यो सेयरको नाफाबाट धेरै स्थानीयले काठमाडौंमा घर बनाए, जग्गा किने, कतिले व्यवसाय सुरु गरे, पछि त्यो सेयरमा दलाली पनि लागे, पछि सेयर बिक्री गर्नु हुँदैन भनेर स्थानीयमा सचेतना पनि जगायौं, ७ करोडको सेयर फिर्ता नै गर्न लगायौं,’ उनी भन्छन्, ‘त्यो परियोजना सफल बनेपछि धेरैले मलाई चिन्न थाले ।’
चिलिमेमा सफल काम गरेका उनलाई सरकारले फिर्ता बोलायो । त्यतिखेर उर्जामन्त्री थिइन् राधा ज्ञवाली । उनको चिलिमेबाट जिम्मेवारी मात्रै खोसिएन प्राधिकरणमा पनि उनलाई कामबिहिन बनाइयो । उनी जगेडामा परे ।
‘म त्यतिखेर २४ घण्टा खट्ने मान्छेलाई सरकारले डेढ वर्षसम्म जगेडामा राख्यो, प्राधिकरणमा बस्ने कुर्सी पनि पाइनँ, कुर्सी नपाएपछि लाइब्रेरीमा गएर पढ्थें,’ निराश हुँदै उनी भन्छन्, ‘बिहान हाजिर गरेर लाइब्रेरीमा जान्थें, दिनभर पढेर साँझ हाजिर गरेर घर जान्थें ।’
कुलमानले त्यतिबेला राजीनामा दिने मनसाय पनि बनाए । तर, उनका केही सहकर्मीले रोके । त्यसपछि उनी ११औं तहमा बढुवा भए । दुई वर्षपछि सरकारले उनलाई राहुल गाड जलविद्युत आयोजनाको प्रमुखको जिम्मेवारी दिएर पठायो । त्यो पनि जीर्ण अवस्थामा रहेको आयोजनालाई उनले सफलताका साथ अगाडि बढाए ।
चिलिमे र राहुल गाड जलविद्युत आयोजनालाई सफलताका साथ अगाडि बढाएका कुलमानको नाम अब बजारमा सुनिन थाल्यो । सञ्चार माध्यमको नजरमा पनि कुलमान पर्न थाले ।
उनले एउटा अनुभव सुनाए- ‘एकपटक तत्कालीन राजा वीरेन्द्रको सवारी थियो, फागुनको अन्तिममा काम सुरु गरेर करिब ६ किलोमिटर लाइन बनाएर १ महिनामा काम सक्यौं, धेरैले अचम्म पनि माने,’ उनी भन्छन्, ‘म परियोजना प्रबन्धक वा जुनसुकै लेबलमा भएपनि प्रभावकारी र जिम्मेवारीबोध हुने गरी काम गर्छु, मेरै काम हो भनेर ओनरसिप लिएर काम गर्छु ।’
लोडसेडिङको अन्त्य, शाख र सम्पत्ति जोगियो
चिलिमे र राहुल गाड जलविद्युतको जिम्मेवारी लिएर एक किसिमको प्रशंसाको पात्र बनिसकेका कुलमान अब नेपाल प्राधिकरणका एमडी बने । वि.सं २०७३ भदौमा उनी प्राधिकरणको एमडी बने । ११ तहमा बढुवा भएको एक वर्षमै उनी एमडी बने । प्राधिकरणमा १२ औं तह पनि हुन्छ । १२ औं तहमा काम नगरी प्राधिकरणको कार्यकारी प्रमुख बने ।
तर, त्यतिखेर पनि उनको प्राधिकरणभित्रकै कर्मचारीले साथ समेत नदिने अवस्था सिर्जना भयो । कारण थियो जुनियरलाई एमडी बनाएको । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिए ।
‘मैले ११औं तहबाट राजीनामा दिएर कार्यकारी निर्देशक बनें, मभन्दा सिनियर धेरै थिए, सिनियरहरूले जुनियर आएर कसरी चलाउँछ भन्ने प्रश्न पनि गर्थे, मलाई काम गर्ने यही समय हो भन्ने हुटहुटी थियो,’ उनी भन्छन् ।
उनी आफू कर्मचारी मात्रैभन्दा पनि एउटा ओनरसिप नै लिएर काम गर्ने बताउँछन् । ‘कर्मचारीलाई कसरी मोटिभेट गर्ने, ठेकेदारलाई कसरी मनाउने, आफूले कसरी काम गर्ने भन्ने विषयमा म धेरै होमवर्क गर्छु, सोही अनुसार काम गर्छु, सफल पनि हुन्छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म धेरै मिहिनेत गर्छु ।’
उनी प्राधिकरणको एमडी हुँदा त्यतिधेरै ठूलो संस्थाको वित्तीय अवस्था नाजुक थियो । देश अँध्यारोमा थियो । उनी विगत स्मरण गर्दै भन्छन्, ‘सबैको मुखबाट यो अवस्था सुधार नै हुँदैन भन्ने कुरा सुनिन्थ्यो, जसले पनि प्राधिकरणको आलोचना गर्थे ।’
उनी प्राधिकरणको एमडी हुुँदा संस्थाको ३५ अर्ब रुपैयाँ सञ्चिति घाटा थियो । कर्मचारीलाई तलब खुबाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो, वर्षमा ९ अर्ब घाटा थियो । यो अवस्थाबाट गुज्रिरहेको संस्थालाई उनले जसरी पनि सुधार गर्ने र लोडसेडिङको अन्त्य गर्ने महत्वकांक्षा बोके ।
उनी एमडी बनेको अर्को वर्षदेखि प्राधिकरण नाफामा जान थाल्यो । पहिलो चरणमा काठमाडौंमा लोडसेडिङको अन्त्य भयो । ‘सर्वसाधारणलाई लोडसेडिङ अन्त्यको महसुस गराउनु पर्छ भन्ने सन्देश दिन शुरुमा काठमाडौंमा लोडसेडिङको अन्त्य भएको घोषणा गर्यौं, देशभर लोडसेडिङको अन्त्य गर्ने विषय सम्भव थिएन, मान्छेले लोडसेडिङको अन्त्य हुन्छ भन्ने विश्वास नै गरेका थिएनन्,’ उनी थप्छन्, ‘संस्था समस्यामा भएपनि ठूलो चुनौती लिन सकिन्छ भन्ने थियो, चुनौती पनि लिएँ ।’
एउटा नेतृत्वकर्ताका लागि नतिजा महत्वपूर्ण हो । एउटा व्यवस्थापकले २४ घण्टा नै खटेर काम गरे पनि उसले रिजल्ट दिन सकेन भने त्यसको कुनै महत्व हुँदैन । खेल खेल्दा जतिसुकै पसिना बगाए पनि गोल गर्न सकेन भने अर्थ नहुने उनी बताउँछन् ।
प्राधिकरणमा जागिर खाईसकेपछि घिसिङले पुल्चोकबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर पनि गरेका थिए । इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइट म्यानेज्मेन्ट विषयमा थेसिस गरेका थिए । एमडी भएपछि उनलाई त्यो विषयले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले व्यवस्थापन पनि पढेका छन् । त्यसैले पनि उनी एक कुशल व्यवस्थापक बनेका छन् ।
देशमा लोडसेडिङ अन्त्य गर्नका लागि पनि उनले ठूलो संघर्ष गर्नुपर्यो । ‘हाम्रो टीमवर्कले नै लोडसेडिङमुक्त सम्भव भएको हो, एमडी बन्दा सहयोग नगरेका साथीहरू पनि पछि सँगै आए, लोडसेडिङको अन्त्य भएपछि पब्लिकको साथ मिल्यो, लोडसेडिङको अन्त्य हुन्छ भन्ने कुरा प्राधिकरणभित्रका साथीहरूले कल्पना पनि गरेका थिएनन् । तर, पछि पब्लिकको पनि साथ आएपछि उनीहरू काम गर्न र टीमवर्क गर्न उत्साहित भए,’ अनुभव सुनाउँदै उनी भन्छन्, ‘टीमले नेतृत्वको विश्वास गर्न सक्नुपर्छ, जब टीमले नेतृत्वलाई विश्वास गर्दैन अनि काम हुँदैन ।’
नेतृत्वप्रतिको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ । प्राधिकरणभित्र रहेका १२/१३ हजार कर्मचारी र चार वटा ट्रेड युनियनलाई सँगै लिएर जानु पर्ने चुनौतीसँगै संस्थाको व्यवस्थापन, पूर्वाधार निर्माण लगायत विषयमा ठूलो चुनौती खेप्नु परेको उनी बताउँछन् ।
‘विगतमा प्राधिकरणको ड्रेस लगाउने बित्तिकै बाटोमा कुट्छन् कि भन्ने त्रास हुन्थ्यो । तर, अहिले प्राधिकरणको कर्मचारी भन्ने बित्तिकै फरक किसिमको छाप बसेको छ, म्यानेज्मेन्टमा मोटिभिसन र पैसा दिएर मात्रै होइन, इमोसन पनि महत्वपूर्ण हो,’ उनले भने ।
‘राइट म्यान इन दि राइट प्लेस’ ले संस्थालाई ठूलो प्रभाव पार्ने उनको अनुभव छ । उनी भन्छन्, ‘संस्थामा १० प्रतिशत राम्रो र १० प्रतिशत खराब मान्छे हुन्छन्, ८० प्रतिशत मान्छे नेतृत्वमा भरपर्छ, त्यो १० प्रतिशत मान्छेलाई समातेर काम गर्न सक्यो भने १० प्रतिशत खराब मान्छे लाइनमा आउँछन् । तर, काम राम्रो गर्न सकेन भने सबै १० प्रतिशत खराबको बाटोमा जान्छन्, त्यो कहाँ लग्ने भन्नेमा नेतृत्वको हात हुन्छ ।’
६६ अर्ब नाफा, पुनः नियुक्ति
चार वर्षको कार्यकाल सकेर कुलमान घिसिङ वि.सं २०७७ मा प्राधिकरणबाट बाहिरिए । एक कार्यकाल सफलरूपमा जिम्मेवारी निर्वाह गरेका उनी बाहिरिएपछि सरकारको नै आलोचना हुन सुरु भयो । ‘राम्रो मान्छेको पुनः नियुक्ती नगरेको’ भन्दै सर्वसाधारणबाट सरकारको समेत आलोचना भयो ।
‘मलाई एउटै व्यक्ति त्यही सिटमा बस्नुहुँदैन भन्ने नै थियो, सरकारले कार्यकाल थप्दैन भन्ने पनि थाहा थियो, नथपेकोमा पनि कुनै गुनासो थिएन । तर, सर्वसाधारण र सञ्चार माध्यमले कुलमान दोहोरिनुपर्छ भनेर आवाज उठाए,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘काम गरेपछि सबैको साथ मिल्दो रहेछ भन्ने त्यतिबेला पनि धेरै बुझ्ने मौका मिल्यो ।’
सबैले उनलाई दोहोरिनुपर्छ भन्ने आवाज उठाएपछि उनी पुनः प्राधिकरणको एमडी बने । उनी २०७८ साल साउनमा पुनः प्राधिकरणको एमडी बनेका हुन् । यो अवधिमा पनि धेरै काम भएको उनको भनाइ छ ।
कुलमान घिसिङ प्रबन्ध निर्देशकमा नियुक्ती हुँदा प्राधिकरणको संचित नोक्सानी ३५ अर्ब रुपैयाँ थियो । एक वर्षमा करिब ९ अर्ब घाटा थियो । कर्मचारीलाई तलब खुवाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो । घोषित रूपमा दैनिक १५/१६ घण्टा लोडसेडिङ थियो । सबैले भन्न थालेका थिए, अब प्राधिकरण कहिल्यै उठ्दैन ।
पहिले ३५ अर्ब नोक्सानमा रहेको प्राधिकरण अहिले ३१ अर्ब नाफामा छ । यो हिसाबले प्राधिकरणले कुलमान एमडी भएपछि करिब ६६ अर्ब नाफा गरेको छ । ‘नाफा मात्रै होइन हामीले ठूलो लगानी पनि गरेका छौं, हामीलाई टुकी बालेको पीडा छ, हरेकले बिजुलीमा बसेर पढ्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो, यो ठूलो उपलब्धि हो,’ उनले भने ।
उनी भन्छन्, ‘म आउँदा विद्युत प्राधिकरणको रेभिन्यू वार्षिक ३२ अर्ब थियो, अहिले १ खर्ब २५ अर्ब पुगेको छ, भारतबाट विद्युत आयात गर्न पनि ठूलो सकस भोग्नु पर्थ्यो, पछि लाइन बनायौं, अहिले हामी त्यही लाइनबाट निर्यात गरिरहेका छौं, उनी भन्छन्, ‘ हिजो १५/२० अर्ब रुपैयाँ बराबरको आयात थियो, आज १५ अर्बको बिजुली निर्यात गरिरहेका छौं ।’
उनका अनुसार आगामी वर्ष एउटा सिजनमा ३० अर्ब रुपैयाँसम्मको बिजुली निर्यात गर्न सकिन्छ । सरकारी योजनाअनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुँदा ५ खर्बको बिजुली निर्यात हुने बताए । यसले देशको व्यापार घाटा कम गर्न धेरै सहयोग पुग्ने उनको भनाइ छ ।
‘मैले जुन काम गरें त्यसमा सन्तुष्ट पनि बनें, यो एउटा ‘हर्ट सिट’ हो, निर्णय छिटो गर्नुपर्छ । तर, निर्णय गर्दा जोखिम पनि हुन सक्छ, आफूलाई कन्फिडेन्टमा राख्नुपर्छ, नेपालमा फसिन्छ कि भनेर तत्काल निर्णय नलिने अभ्यास छ, उनी प्रश्न गर्छन्, ‘निर्णय नगर्ने भए किन त्यो पोस्टमा बस्ने ?’
उनका अनुसार हाल २५ लाख ग्राहकले ३० रुपैयाँ बिजुली उपभोग गरिरहेका छन् भने कम रेटमा विद्युत उपभोग गर्नेको संख्या पनि ठूलो छ । आफू आएपछि बिजुलीको रेट घटाए पनि संस्था नाफामा जान सफल भएको उनको भनाइ छ । नेपालको विद्युत क्षेत्र आत्मनिर्भर भएर ६० प्रतिशतसम्म निर्यात गर्न सक्ने अवस्थामा चाँडै पुग्ने उनको भनाइ छ ।
आईपीओ जारी गरेर हाइड्रोमा लगानी
प्राधिकरणले अब सर्वसाधारणका लागि आईपीओ पनि जारी गर्ने तयारी गरिरहेको छ । एमडी घिसिङका अनुसार अहिले प्राधिकरणको कुल भ्यालुएसन ७ खर्बको छ । त्यसलाई मोनिटाइज गर्नका लागि पनि आईपीओ जारी गर्नु परेको उनको भनाइ छ । उनले १० प्रतिशत सेयर जारी गर्ने तयारी भइरहेको बताए । ‘हामीले १० प्रतिशत सेयर जारी गरे पनि २५० रुपैयाँ प्रिमियम तोक्यौं भने डबल बनाउन सकिन्छ, अर्थमन्त्रालयबाट सहमति पनि मागिसकेका छौं, अब छिट्टै मन्त्रिपरिषद् जान्छ र पब्लिकलाई ६०/७० अर्बको सेयर जारी गर्छौं,’ उनले भने । त्यो रकम जलविद्युतमा नै लगानी हुने उनको भनाइ छ । त्यसले सर्वसाधारणलाई पनि फाइदा नै हुने उनले बताए ।
‘तपाईंको घर छ र त्यसलाई बैंकमा राखेर व्यापार गर्नु भयो भने राम्रै हुन्छ । व्यापार पनि चल्छ, घर पनि रहन्छ । तर, घरलाई त्यतिकै राख्यो भने त्यो सम्पत्ति भएको महत्व नै हुँदैन, त्यसैले हामीले पब्लिकको लागि सेयर जारी गर्ने भनेका हौं, हामीसँग ठूला प्रोजेक्ट छन्, आएको पैसा रिइन्भेष्ट गर्ने हो,’ उनले भने ।
१० वर्षपछि देश सम्वृद्ध बन्छ
कार्यकारी निर्देशक घिसिङ सबैको मुखबाट देश बिग्रियो, खत्तमै भयो भन्ने धारणाहरू सुनेर अचम्ममा पर्छन् । युवाहरू विदेश गएको ट्रेण्डलाई हेरेर धेरै नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।
‘देश खत्तम भयो भनेर अधिकांशले बच्चाहरूको मेन्टल नै डिस्टर्ब गरिरहेका छन्, म पोजिटिभ कुरा गर्छु, विकास जति गाउँमा छ तर युवा जति विदेशमा छन्, चीनको मान्छे पनि विदेशमै छन्, युरोपबाट एसिया आउन चाहन्छन्, यो ग्लोबल ट्रेण्ड हो, यो विषयमा धेरै चिन्तित हुनु पर्ने म देख्दिनँ, एक पटक भारतबाट धेरै ठूलो जनसंख्या बाहिरिएको थियो । तर, अहिले स्वदेशमा फर्किने ट्रेण्ड सुरु भएको छ, नेपालमा पनि एकदिन त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले चिन्तित हुनु पर्ने अवस्था छैन ।’
अहिले विदेशिएका युवा ५/१० वर्षपछि नेपालमा नै फर्किने उनको तर्क छ । ‘नेपालमा अवसर र सम्भावना पनि धेरै छ, अबको ५/१० वर्षमा सम्वृद्धिको बाटो लिन्छ, हावापानी राम्रो छ, दुई ठूलो देशको बिचमा छ, बाहिर गएकाहरू अनुभव र पैसा ल्याउँछन् र त्यो अनुभव र पैसा लिएर नेपालमा आएर काम गर्छन्, त्यसले देशलाई सम्वृद्ध नै बनाउँछ,’ उनी भन्छन् । (देशविकासबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.