विदेश भ्रमणमा नेपालीको २८ अर्ब बढी खर्च, अर्काको पैसामा घुम्छन् सरकारी कर्मचारी

  २०८० माघ १ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपालीहरू विदेश घुम्ने अभ्यास बढ्दै गएको छ । विभिन्न सरकारी तथ्यांक अनुसार नेपालीहरूले विदेश भ्रमण गरेर अर्बौं रुपैयाँ खर्च गरिरहेका छन् । विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसको समयमा केही सुस्ताएको विदेश भ्रमण अहिले पुनः बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्ष (आव)को ५ महिनामा विदेश भ्रमणमा २८ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरूले वैदेशिक भ्रमणमा गर्ने खर्च वार्षिक बढ्दै गएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरूले विदेश भ्रमणमा १८ अर्ब ६७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए ।

यस्तो छ ५ वर्षको तथ्यांक

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव ०७९/८० मा नेपालीहरूले विश्वका विभिन्न मुलुकहरूमा भ्रमणको लागि ४४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेका छन् । आव ०७८/७९ मा नेपालीहरुले विदेश भ्रमणमा २९ अर्ब ६२ करोड, आव ०७७/७८ मा ७ अर्ब ८४ करोड, आव ०७६/७७ मा २७ अर्ब ३३ करोड र आव ०७५/७६ मा ४३ अर्ब २६ करोड खर्च गरेका छन् ।

तथ्यांकअनुसार विश्वभर कोभिड-१९ महामारी छाएको बेलामा नेपालीहरुको विदेश भ्रमणमा खुम्चिएको देखिन्छ । महामारी पछिका वर्षहरूमा भने संख्या र खर्च पनि बढ्दै गएको छ ।

स्पोन्सरमा घुम्छन् सरकारी कर्मचारी

अघिल्ला वर्षहरूको तुलनामा चालु आवको हालसम्म संघीय सरकार मातहतका मन्त्रालयहरुबाट हजारौं कर्मचारीले विदेश भ्रमण गरेका छन् । विकासन्युजलाई प्राप्त केही मन्त्रालयको विवरणअनुसार संघीय मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरूले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको कार्यक्रमको अवसरमा विदेश भ्रमण गरेका छन् ।

पछिल्लो ८ महिनामा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका ४४० जना कर्मचारीले विदेश भ्रमण गरेका छन् । १७८ वटा विदेश भ्रमणका कार्यक्रम मध्ये ११० वटा कार्यक्रम मात्रै विश्व स्वास्थ्य संगठन अन्तर्गतका विभिन्न निकायहरूले आयोजना गरेर खर्च व्यहोरेको छ ।

शहरी विकास मन्त्रालयको तर्फबाट ७ महिनाको अवधिमा ४५ जनाले विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश कार्यक्रमको खर्च आयोजक पक्षले व्यहोरेको छ भने केही खर्च नेपाल सरकार र केही संस्थाको तर्फबाट व्यहोरेको देखिन्छ ।

बैशाख महिनादेखि मंसिर महिनासम्म १२३ जना पदाधिकारी तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश भ्रमणको खर्च आयोजकले नै व्यहोरेको छ ।

उद्योग वाणिज्य मन्त्रालयको तर्फबाट पछिल्लो ६ महिनामा ६० जना कर्मचारीले विभिन्न विदेशी निकायहरूले आयोजना गरेका कार्यक्रममा भ्रमण गरेका छन् । ती भ्रमणहरूमध्ये केही कार्यक्रमको खर्च विदेशी निकायले गरेका छन् भने केही नेपाल सरकारको तर्फबाट व्यहोरेको देखिन्छ ।

परराष्ट्र मन्त्रालय भने कुटनीतिक क्षेत्रमा सहभागिता जनाउनुपर्ने निकाय हो । वैशाखदेखि मंसिर मसान्तसम्म सो मन्त्रालयको तर्फबाट २७ जना पदाधिकारी र कर्मचारीले भ्रमण गर्दा नेपाल सरकारको तर्फबाट ३७ लाख २० हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.