इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक किन बाहिरियो ?

  २०८० माघ ८ गते १७:१९     विकासन्युज

काठमाडौं । सन् २०२० देखि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक बाहिरिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको सूचना अनुसार उक्त कम्पनीले हालै रेटिङ विथड्र गरेको हो ।

२०२० नोभेम्बरमा पहिलो पटक रेटिङ गराएको कम्पनीले हालसम्म निरन्तर उक्त एजेन्सीमा रेटिङ गराइरहेको थियो । इक्रा नेपालको तथ्यांकअनुसार यो अवधिमा कम्पनीले दुई पटकसम्म रेटिङ गराएको देखिन्छ । जसमा दुबैपटक इक्रा एनपी इस्युआर रेटिङ ए प्लस पाएको थियो । जुन हाल मात्र फिर्ता भएको छ ।

विथड्र गर्नको लागि कम्पनीबाट निवेदन आएसँगै उक्त रेटिङ विथड्र गरिएको कम्पनीका विश्लेषक राजिब महर्जन बताउँछन् । क्रेडिट रेटिङ विनियम २०११ अनुसार उक्त रेटिङ फिर्ता गरिएको इक्रा नेपालका विश्लेषक राजिब महर्जन बताउँछन् ।

‘उहाँहरुबाट रेटिङ चाहिँदैन विथड्र गरिदिनुस् भन्ने रिक्वेष्ट आयो, सोही बमोजिम विथड्र गरिएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने ।

रेटिङ एजेन्सीले कुनैपनि कम्पनीसँग रेटिङ सम्झौता गरेपश्चात सुरुको रेटिङ गरेको तीन वर्षसम्म उक्त कम्पनीको अनुगमन गर्नैपर्छ भन्ने व्यवस्था छ । सोही समयावधि सकिएकोले पनि कोषको रेटिङ विथड्र भएको बुझिन्छ ।

कोषका उपनिर्देशक नारायण प्रसाद घिमिरेले पनि सम्झौता गरिएको अवधि सकिएकोले विथड्र गरिएको बताए । ‘हामीबीचको एग्रिमेन्टको अवधि गत नोभेम्बरबाट सकिएकोले विथड्र भएको हो,’ विकासन्युजसँग बोल्दै घिमिरेले भने- ‘आवश्यक भएमा अर्को पटक फेरि सम्झौता गर्न सक्छौं ।’

तर, तत्काललाई भने कोषलाई रेटिङ गराउन आवश्यक नरहेको उनको भनाई छ । ‘अहिले हामीलाई ऋण लिनु पनि छैन, हकप्रद सेयर जारी गर्नु पनि छैन, त्यसैले तत्काल रेटिङ आवश्यक छैन,’ उनले थपे- ‘आवश्यक परेमा सञ्चालक समितिको निर्णय अनुसार नै रेटिङ एजेन्सीसँग सम्झौता गर्ने छौं ।’

यदि पुनः इक्रा नेपालसँग रिटिङ गराउन चाहेमा कोषले पुनः सम्झौता गर्नुपर्ने हुन्छ । किनभने एकपटक विथड्र भइसकेपछि अर्को पटक रेटिङ गर्नको लागि दुई कम्पनीबीच पुनः सम्झौता हुनैपर्छ । जबसम्म विथड्र भएका कम्पनीले अर्को सम्झौता गर्दैनन् तबसम्म रेटिङ एजेन्सीहरुले अर्थात इक्रा नेपालले कम्पनीका कुनैपनि रिपोर्टको निगरानी नगर्ने कोषका विश्लेषक राजिब महर्जन बताउँछन् ।

नेपालमा हाल तीन वटा रेटिङ एजेन्सीले इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले विभिन्न कम्पनीहरूको रेटिङ गराउँदै आएका छन् । पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन एजेन्सीबाट करिब ६० वटा कम्पनीको रेटिङ विथड्र भएको देखिन्छ । एजेन्सीका पदाधिकारीहरू रेटिङ विथड्र हुनुमा तीन वटा कारण हुन सक्ने बताउँछन् । त्यसमध्ये एउटा त सेवा मन नपराएर अर्को कम्पनीमा जानु, अर्को कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमान्नु र अर्को भनेका तत्काल रेटिङ गराउन आवश्यक नभएकोले पनि कम्पनीहरूले रेटिङ विथड्र गर्न सक्ने उनीहरूको भनाई छ ।

सम्बन्धित समाचार

रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.