२०८० माघ ८ गते १८:३९ इन्द्रसरा खड्का
जब कसैले छोरीमात्रै जन्मेको भन्दै नाक खुम्च्याउँथे, उनका बुबाको जवाफ हुन्थ्यो- ‘म मर्दा रुन आउने यिनै छोरी हुन् ।’ गाउँलेलाई कसिलो जवाफ फर्काउने बुबाको सपना छोरीहरूलाई डाक्टर बनाउने थियो । तर, बिडम्बना छोरी डाक्टर बनेको हेर्नै नपाउने गरी उनको बुबालाई कलिलो उमेरमै दैवले चुड्यो । बुबाको सपना र आमाको हिम्मतले डाक्टर बनेकी हुन् रीता गुरुङ । जो विगत ११ वर्षदेखि तिलगंगा आँखा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै आएकी छन् । अस्पतालको स्थापनाकालदेखि नै काम गर्दै आइरहेकी नेत्ररोग विशेषज्ञ डा.रीता गुरुङले आफूलाई अब्बल व्यस्थापकको रूपमा पनि स्थापित गरेकी छन् ।
उमेरले ६७ वर्षको भइन् उनी । काम गर्ने जोश, जाँगर र आँट भने अझै जवानीको जस्तै छ । काम गर्ने हुटहुटी उस्तै छ । विभिन्न जिल्लामा सञ्चालन भइरहेका क्याम्पमा पनि उनी पुग्छिन् । केही दिनअघि मात्र उनी सिन्धुलीमा आँखा शिविर सञ्चालन गरेर फर्किइन् । ओरालो लागेको उमेरसँग भन्दा उनलाई अस्पताललाई कसरी अझै योभन्दा राम्रो बनाउन सकिन्छ भन्ने चिन्ता छ । अस्पतालको व्यवस्थापनसँगै बिरामीको उपचारमा पनि दिनरात खट्छिन् ।
डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । आँखाको अपरेसन गरेर ज्योती फर्काउनु उनको काम हो । उनले कामको सेडुल बनाएकी छन् । उनी हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेसन र दुई दिन प्रशासनको काम गर्छिन् ।
एउटा डाक्टरलाई व्यवस्थापनको जिम्मेवारी लिँदा कति सहज हुन्छ ? भन्ने हाम्रो जिज्ञासामा उनले जवाफ दिइन्, ‘म डाक्टर भएपनि व्यवस्थापनको काम पहिले पनि गर्थें, अहिले जिम्मेवारी मात्रै थपिएको हो ।’
उनको अधिकांश समय अस्पतालमै बित्छ । घरबाट आउने जाने ठेगान हुँदैन । ‘बिहान उठ्छु, नित्यकर्म गर्छु, ७ बजे अफिस आइपुग्छु, अफिस आइपुगेपछि काम के-के छ हेर्छु, साथीहरूसँग छलफल गर्छु, त्यसपछि बिरामीलाई हेर्ने, कहिले अप्रेसन गर्ने काम हुन्छ,’ उनी भन्छिन्, ‘समय बढी दिनु परे पनि व्यवस्थापक र डाक्टर भएर काम गर्दा केही विषयमा भने सहज हुँदो रहेछ, सिक्ने पनि अवसर पाइन्छ ।’
टीमले राम्रो काम गर्नका लागि सुरुमा आफूले राम्रो काम गर्नु पर्ने धारणा उनको छ । उनको बुझाइमा एउटा राम्रो व्यवस्थापकसँग कम्युनिकेसन गर्न सक्ने क्षमता हुनुपर्छ । भन्न चाहेको विषयवस्तु प्रभावकारी रूपमा टिममा राख्न सकिएन भने समस्या हुने उनको भनाइ छ ।
तपाईं राम्रो डाक्टर कि व्यवस्थापक ? उनी भन्छिन्, ‘म राम्रो डाक्टर हुँ, किन कि म सर्जरी राम्रो गर्छु, बिरामीलाई राम्रो उपचार गर्छु, मैले त्यसको नतिजा पनि तुरुन्त देख्छु, व्यवस्थापकले गरेको मिहिनेतको फल तुरुन्त नआउन सक्छ ।’
उत्कृष्ट अस्पताल, निःशुल्क पनि सेवा
रीता तिलगंगा आँखा अस्पतालमा सुरुदेखि नै संलग्न भएकी हुन् । क्लिनिकल कामदेखि व्यवस्थापन तहसम्म आइपुग्दा उनले धेरै हण्डर ठक्करहरू भोग्नुपर्यो । उनी अस्पतालमा सबैलाई जिम्मेवारी छुट्याएर काम भइरहेको बताउँछिन् ।
‘सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्यो भने काम गर्न समस्या हुँदैन, टीमवर्क चाहिन्छ, तिलगंगा यहाँसम्म आइपुग्नुमा एक जनाको मात्र नभइ पुरै टोलीको हात र योगदान छ,’ उनले भनिन् ।
तिलगंगा आँखा अस्पताल नेपालको मात्र होइन, एसियाकै अब्लल संस्थाको रूपमा स्थापित भएको छ । ७५ बेड क्षमताको यस अस्पताललाई सय बेडको बनाउने तयारी भइरहेको छ । यो अस्पतालमा सन् २०२३ मा ३ लाख २२ हजार १ सय ६६ जनाभन्दा बढी बिरामीले उपचार गराएका छन् ।
डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । उनले कामको सेडुअल बनाएकी छन् । हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेशन र दुई दिन प्रशासनको काम गर्ने ।
यो अस्पतालले वर्षमा ३ लाख बढीको उपचार गर्छ । ५०० भन्दा बढी चिकित्सक एवम् कर्मचारी छन् । अस्पताल चलाउन न सरकारले लगानी गरेको छ, न त नाफा कमाउने उद्देश्यका साथ लगानीकर्ताले पैसा हालेका छन् । आवश्यक स्रोत जुटाउन दाता, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाको साथ रहेको उनी बताउँछिन् ।
यो अवस्थासम्म आइपुग्नुमा अस्पतालमा सरसफाइ गर्ने क्लिनरदेखि डाक्टर, कर्मचारी र बोर्ड लगायतको भूमिका छ । सहयोगी हातहरूको योगदान पनि महत्वपूर्ण छ । ‘अस्पताललाई चाहिने महंँगा उपकरणहरू खरिदका लागि देश विदेशबाट सहयोग आयो, जसले रोगको निदान गर्न सकियो,’ उनी भन्छिन्, ‘गुणस्तरीय सेवा प्रदानकै लागि सर्वसाधारणको विश्वास पाउन सफल भयौं ।’
ठाउँ-ठाउँमा क्याम्प गरेर उपचार गर्दा पनि अस्पतालले एक किसिमको उचाइ प्राप्त गरेको हो । तिलगंगाको विभिन्न जिल्लामा सामुदायिक आँखा केन्द्र पनि छन् । कर्मचारी नियुक्तिमा पनि पारदर्शीता कायम हुने उनको भनाइ छ । ती सबै कर्मचारीको योगादानले आज तिलगंगा देशकै गौरव गर्न लायक स्वास्थ्य संस्था बन्न पुगेको हो ।
अस्पतालमा उपचार गर्न धेरै किसिमका व्यक्ति आउँछन् । कसैले उपचार गर्न सक्छन् त कसैले गर्न सक्दैनन् । उपचारमा अस्पतालको फरक प्रणाली (सिस्टम) छ । उपचारका लागि शुल्क तिर्न नसक्नेले पनि सेवा पाइरहेको उनको भनाइ छ । ‘जसले उपचार शुल्क तिर्न सक्दैनन्, पैसा नभएकाहरूको उपचारका लागि केही संस्थासँग फण्डका लागि सहयोग माग्छौं,’ उनले भनिन्, ‘त्यसबाट उनीहरूको निःशुल्क उपचार हुन्छ ।’
तिलगंगा अस्पतालमा आँखा सम्बन्धि उपचार धेरै किसिमको हुन्छ । पर्दाको सर्जरी गर्नुपर्यो भने एकदमै महँगो पनि छ । मान्छेलाई चस्मा लगाउन नपर्ने लेजरको सर्जरी व्यवस्था पनि छ, जुन महँगो पर्छ । मोतीबिन्दुका बिरामीलाई त्यति महँगो नपर्ने उनी बताउँछिन् ।
उनी एउटा संस्था दीगोरूपमा चल्नको लागि व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताउँछिन् । पहिला आफूलाई पैसा भयो भने जे पनि चलाउन सकिन्छ भन्ने लागे पनि अहिले त्यो भ्रम रहेछ भन्ने महसुस भइसकेको अनुभव सुनाउँछिन् । संस्थालाई दीगोरूपमा सञ्चालनका लागि अब आफूसँगै अर्को व्यक्तिलाई पनि सो जिम्मेवारीका लागि तयार पार्न सक्नु पर्ने बताउँछिन् । तबमात्रै असल र सफल व्यवस्थापक हुने उनको भनाइ छ ।
लाखौंलाई उज्यालो संसार
डा.रीतासँग अहिलेसम्म कति जनाको आँखा उपचार गरेँ भन्ने हिसाब छैन । एक लाखभन्दा बढीलाई उपचार गरेको अनुमानित हिसाब भने उनी सुनाउँछिन् ।
दुर्गम जिल्लामा पुगेर वर्षौदेखि अन्धकारमा बसिरहेकाहरूलाई आँखा देख्ने बनाउँदा कत्ति खुसी भइन्छ होला । उज्यालो संसारमा अन्धकार दिनहरू बिताइरहेका हजारौं मान्छेको उपचार गरेर ज्योति फर्काउँदाको अनुभूतिहरू रीतासँग कत्ति हो कत्ति छन् ।
उनले एउटा घटना सुनाइन्- ‘सिन्धुली क्याम्प जाँदा एउटै परिवारका दिदीभाइ आँखा देख्न नसक्ने थिए, भाइ १२ वर्षको दिदी १५ वर्षकी थिइन्, भाइको एक आँखाको मोतिबिन्दुको अपरेसन गरेको देखियो । तर, दिदीलाई १५ वर्षसम्म अस्पतालमा पनि देखाएको भेटिएन, मैले दुवै दिदीभाइको अपरेसन गरेँ, दुवैले दिदीभाइले आँखा देखे,’ उनी त्यो घटना स्मरण गर्दै भन्छिन्, ‘यस्ता घटनाले हामीलाई पनि भावुक बनाउँछ, तर हामीलाई भावुक हुने छुट छैन ।’
मोतिबिन्दु आँखा नदेख्ने अन्धोपनको पहिलो कारण हो । तर, यसको अपरेसन गर्न थुप्रै पैसा तिर्नुपर्थ्यो । पैसा तिरेर पनि राम्रो सुविधा पाउन नेपालमा गाह्रो थियो । अपरेसन गरिसकेपछि आँखाभित्र एउटा लेन्स हाल्नुपर्छ । त्यसपछि मात्र मान्छेले आँखा देख्न सक्छ । तर, त्यो बेला नेपालमा लेन्स थिएन । लेन्स बाहिरबाट ल्याउनु पर्थ्यो । बाहिरबाट ल्याउँदा एउटै लेन्सको साढे दुई सय डलर लाग्थ्यो । त्यो बेला त्यति पैसा तिरेर मोतिबिन्दुको अपरेसन गर्न नेपालीको पहुँचमा थिएन ।
नेपालमै लेन्स बनाउन सक्यौं भने मोतिबिन्दुको सर्जरी र लेन्सको कार्यान्वयन नेपालीहरूको पहुँचमा हुन सक्छ भन्ने अवधारणाले तिलगंगा आँखा अस्पताल बन्यो । त्यसपछि नेपालमै लेन्स बनाउन सुरु भयो ।
डा. सन्दुक रुइतको साथी र प्रोफेसर फ्रेड होलोजको फाउण्डेशनले यसमा धेरै काम गर्यो । ‘फ्रेड होलोज फाउण्डेशन’को सहायता र अरु त्यस्तै अन्तर्राष्ट्रिय संस्थाको सहयोगले गर्दा यो अस्पताल स्थापित हुन सकेको उनले बताइन् ।
डा. रुइतले बोलाएपछि …
उनी रुसमा पढाइ सकेर नेपाल फर्केपछि पोखरा गइन् । त्यहाँ हिमालय आँखा अस्पताल थियो । त्यहाँको पहिलो आँखा डाक्टर उनै थिइन् । उनीसँगै अर्को नेदरल्याण्डसका डाक्टर थिए । उनीहरू दुई जनाले त्यो अस्पताल सुरु गरे । एक वर्षमा पोखरा काम गरिसकेपछि उनी काठमाडौं आइन् ।
रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परी बुबाको मृत्यु भयो । रीताकी आमा आशादेवी तीन छोरीहरू बोकेर नेपाल फर्किइन् । आमाको काँधमा छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो ।
डा.रुइतसँग उनको पहिल्यै कुराकानी हुन्थ्यो । काठमाडौं आएर उनले डाक्टर रुइतसँग काम गर्न सुरु गरिन् । सुरुमा डाक्टर गुरुङ र रुइतले थापाथलीमा दुई/चार कोठा भाडामा लिएर काम गर्न सुरु गरे । कोठाभित्रबाट भन्दा बाहिर ठाउँठाउँमा क्याम्प सञ्चालन गरेर उनीहरूले आँखा उपचार सुरु गरे । त्यसपछि तिलगंगा अस्पताल बनेपछि उनीहरू दुवैजनाले सँगै काम गर्न सुरु गरे ।
छोरी पनि डाक्टर, श्रीमान् इन्जिनियर
व्यक्ति अगाडि बढ्न परिवारको साथ आवश्यक पर्ने उनी बताउँछिन् । रीताका श्रीमान् कम्प्युटर इिन्जिनियर हुन् । उनकी एउटी छोरी छिन् । छोरी पनि आँखाको डाक्टर छिन् । ‘म यहाँसम्म आइपुग्नु मेरो परिवारको हात छ, परिवारले साथ दियो, उनी भन्छिन्, ‘श्रीमानले साथ दिनुभयो, छोरीले भाव बुझिन् र म यहाँसम्म पुगेँ । ’
रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । उनका बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । बुबाको जागिर भारतमा हुँदा उनकी आमा आशादेवी पनि भारत बस्थिन् । डाक्टर रीताको जन्म पनि भारतमै भयो । उनका एक दिदी र एक बहिनी गरी तीनजना दिदीबहिनी छन् । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परि उनका बुवाको मृत्यु भयो । श्रीमानको मृत्युपछि रीताकी आमा आशादेवी छोरीहरू बोकेर नेपाल फर्किइन् । उनी चितवनको दिब्यानगरमा बस्न थालिन् । रीताकी आमाको काँधमा तीन छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो ।
डा.रीता आफू डाक्टर हुनुको पछाडि आमाको हात र स्वर्गीय बुबाको आशिर्वाद र आफ्नो लगाव रहेको बताउँछिन् । आफुले पाएको दुःख समाजको तिरस्कार आफ्नो छोरीहरूले पाउन नपरोस् भन्दै आमा आशादेवीले तीनैजना छोरीहरूलाई काठमाडौंमा ल्याएर बोडर्समा राखिन् । उनीलगायत तीनैजना दिदीबहिनी काठमाडौंमा रहेको महेन्द्र विद्या भवनमा पढ्न थाले ।
रीताले वि.सं २०३० सालमा एसएलसी पास गरिन् । उनी पढाइमा राम्रै थिइन् । त्यो बेला पैसा भएर पनि मेडिकल स्कुल जान पाइँदैनथ्यो । सरकाबाट छात्रवृत्ति पाए पढ्न पाइन्थ्यो । त्यो बेलामा जति चिकित्सक थिए सबै सरकारी छात्रवृत्तिबाटै पढेका थिए । रीताले पनि छात्रवृत्ति पाइन् ।
‘भाग्यले भनौं या मिहिनेतले मैले छात्रवृत्ति पाएँ, छात्रवृत्ति पाएपछि पढ्न रुस गएँ, रुसमा गएर नेत्ररोग विशेषज्ञता हासिल गरे,’ उनले विगत सुनाइन् ।
उनलाई छिटछिटो काम र परिणाम चाहिँन्छ । कोही मान्छेमा मोतिबिन्दु भएर आँखा बन्द भएको छ भने अपरेसन गरेको भोलिपल्ट देख्न सक्ने हुन्छ । ‘आँखामा गरेको कामको छिनमै परिणाम आउँछ, यस्ता परिर्वतनहरू छन्, जसले मलाई सधैं काम गर्न अभिप्रेरित गर्यो, त्यसैले म यो क्षेत्रमा आएँ होला,’ उनले आफू डाक्टरी पेसा पढ्नुको कारण बताइन् ।
अब उनलाई फरक काम गर्ने रहर छ । उनकी आमाको निधन भएपछि रीताका दिदीबहिनी मिलेर फ्याम्ली फाउण्डेशन स्थापना गरेका छन् । जसको नाम ‘दानआशा’ फाउण्डेशन हो । रिटायर्ड भएपनि आफ्नो अनुभवलाई जहाँ पनि प्रयोग गर्न सक्ने क्षमता उनमा छ । उनलाई अब केयर चिल्ड्रेनको शिक्षामा काम गर्ने रहर छ ।
‘म कहिल्यै जीवनदेखि दुःखी भइनँ, पढ्ने मौका पाएँ, पढेर यहाँसम्म आएँ, डाक्टर बनेँ, अहिले तिलगंगा चलाउँदै छु, अझै चलाउँछु भन्ने मनमा आँट छ,’ उनले उत्साहित हुँदै भनिन् ।
(देशविकासबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.