२०८० माघ १४ गते १३:४७ सन्तोष रोकाया
हिमालयन रिइन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई हामीले प्रश्न गर्यौं – ‘तपाईं म्यानेजर कि लिडर ?’ उनले जवाफमा भनिन्, ‘लिडर’ । हामीले पुनः जिज्ञासा राख्यौं- ‘तपाईं औसत कि अब्बल नेतृत्व ?’ उनले व्याख्या गर्ने प्रयत्न गरिन्- ‘मेरो कर्मचारी, सेयरधनी र ग्राहकहरू मैले गर्ने काम र त्यसबाट प्राप्त प्रतिफलले खुसी छन्, बजारले पनि मलाई एउटा अब्बल व्यवस्थापकका रूपमा चिनेको छ, अनि म कसरी गुड लिडर होइन भन्न सक्छु,’ उनले आत्मविश्वासका साथ भनिन्, ‘आइ एम अ गुड लिडर’ ।
सीईओ उपासना पौडेललाई नेपाली बीमा बजारकी ‘केन्द्रबिन्दु’ हुन् भन्दा अत्युक्ति नहोला । ३३ वर्षको उमेरमा एउटा बीमा कम्पनीको नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा आएपछि उनको क्षमतामाथि प्रश्न गर्नेको कमी थिएन त्यतिबेला । तर, ती प्रश्नको उत्तर उनले बोलेर होइन, कामबाट देखाइन् । उनले सो कम्पनीमा सीईओ बनेको तीन वर्षमा संस्थालाई एउटा उचाइमा पुर्याइन् । सुरुमा उनको क्षमतामाथि प्रश्न गर्नेहरू पछि उनको वाहीवाहीमा लागे । तीन वर्षपछि सो कम्पनी छोडेर हिमालयन रिइन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्न पुगेपछि उनको फेरि आलोचना सुरु भयो । सीईओ भएर राम्रो पफर्मेन्स गरिरहेको बेला हिमालयन रिमा जाने निर्णय राम्रो नभएको भन्दै धेरैले कुरा काट्न थाले । तर, डीसीईओ बनेको १० महिनामै निजी क्षेत्रको एकमात्रै पुनर्बीमा कम्पनी हिमालयन रिइस्योरेन्सको सीईओ बनेर देखाइ दिइन् उपासनाले । ३६ वर्षको उमेरमा पुनर्बीमा कम्पनीको सीईओ बनेर उनले ‘कान्छो सीईओ’ को रेकर्ड बनाउन सफल भइन् । त्यसैले पनि उनी अहिले सबैको नजरको केन्द्रबिन्दुमा छिन् ।
उनी यसलाई आफ्नो कामप्रतिको इमानदारिता र मिहिनेतको फल मान्छिन् । ‘धेरैमा नेतृत्वमा पुगेपछि काम गर्नु हुँदैन, कर्मचारीलाई निर्देशन दिए पुग्छ भन्ने गलत बुझाइ हुन्छ । तर, म अहिले पनि १२ घण्टा काम गर्छु, धेरै काम भएको दिन १६ घण्टा पनि काम गर्छु, केही दिन त राती दुई बजे घर गएको उदाहरण पनि छन्,’ उनी भन्छिन्, ‘मेरो काम गर्ने शैली र मिहिनेतको फल नै मेरो कुर्सी हो, उसले मलाई उर्जा दिन्छ ।’
उनी एउटा नेतृत्वले परम्परावादी सोचबाट माथि उठ्नु पर्ने धारणा राख्छिन् । नेतृत्व सफल हुनका लागि काम गर्ने शैली र वातावरण व्यवस्थापन गर्न सक्नु पर्ने उनको धारणा छ । उपासना आफ्ना कर्मचारीलाई कहिल्यै पनि कर्मचारी ठान्दिनन्, साथी ठान्छिन् । माइक्रो म्यानेजमेन्ट होइन, म्याक्रो म्यानेजमेन्ट गर्छिन् । कर्मचारीलाई त्रास र दबाबमा होइन, उत्प्रेरणा र अधिकार दिन्छिन् । उनी आफ्नो काम गर्ने शैली बताउँदै भन्छिन्, ‘म आफूसँगै मेरा कर्मचारी साथीहरूलाई यो पदमा आउनका लागि मोटिभेट गरिरहेकी छु, काम गर्नका लागि स्वतन्त्र वातावरणको व्यवस्था मिलाउँछु, काम गर्नका लागि सबल बनाउँछु ।’
नेतृत्वमा आलोचना पनि सुन्न र ग्रहण गर्न सक्ने क्षमता हुनुपर्ने बुझाइ उपासनाको छ । उनी भन्छिन्, ‘टीमभन्दा केही अनुभवी र अब्बल भएपनि म पनि सिकारू नै हो, मैले पनि सबैको कुरा सुन्नुपर्छ, सोही ढंगले निर्णय गर्नुपर्छ, सबैलाई मिलाएर जान सक्ने खुबी र क्षमता एउटा नेतृत्वमा भएन भने ऊ ‘गुड लिडर’ बन्न सक्दैन ।’
हुन त एउटा अब्बल व्यवस्थापक बन्नका लागि प्लेटफर्म, पैसा, प्रशंसा र परिश्रम पनि चाहिन्छ । जसले नेतृत्वको प्रख्यातिमा मद्दत पुग्छ । संस्थाको गरिमा बढ्छ । असल संस्कार स्थापित हुन्छ । तर, उपासना आफ्नो लागि पैसा र प्रशंसाभन्दा पनि ‘प्लेटफर्म’ महत्वपूर्ण हुने तर्क गर्छिन् । उनी आफू कामका लागि ‘काम’ गर्ने धारणा राख्छिन् ।
‘कतिपय नेतृत्वमा कुर्सीको मोह बढी हुन्छ, कुर्सी आज छ, भोलि छैन भन्ने विषयमा उनीहरू सजग बन्दैनन्, यसले हाम्रो उत्पादकत्व पनि रोकिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सकिएन भने नेतृत्वले कुर्सी खाली गर्न सक्नुपर्छ ।’
‘म जता काम गर्छु, पूर्णरूपमा सन्तुष्ट भएर गर्छु, अहिलेसम्म जेजति संस्थामा काम गरेँ, सन्तुष्ट भएर गरेँ, जतिबेला म सन्तुष्ट भइनँ, त्यो बेला संस्था पनि छोडेँ, पैसा र प्रशंसाका लागि म काम गर्दिनँ, उनी भन्छिन्, ‘अहिले पनि मेरो खातामा कति पैसा आउँछ थाहा छैन । तर, कामका लागि काम गर्छु, त्यसले सोचेअनुरूपको प्रतिफल पनि दिइरहेको छ ।’
अर्को महत्वपूर्ण विषय उपासना ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने तर्क दिन्छिन् । ‘मैले यूनाइटेको सीईओ भएर चुनौती र साहस नलिएको भए म अहिले ‘म’ बन्थिनँ, त्यतिखेर कतिपयको आलोचना सहन नसकेको भए, चित्त दुखाएको भए, म यहाँ हुन्थेँ या हुन्थेनँ, थाहा छैन । तर, मैले त्यसलाई एउटा सिकाइको रूपमा लिएँ,’ उनी भन्छिन्, ‘एउटा नेतृत्वले हरेक विषयलाई सहर्ष स्वीकार गर्नु सक्नुपर्छ, सामना गर्न सक्नुपर्छ ।’
आफूलाई खुसी पार्नका लागि आफ्नो रुचिको क्षेत्र पनि छनोट गर्न सक्नु पर्ने उनको भनाइ छ । आफू नेतृत्वबाट बाहिरिँदा पनि त्यो पदका लागि टीमकै साथीलाई तयार पार्न सक्नु एउटा सफल नेतृत्वको अर्को महत्वपूर्ण सफलता हुने उनी बताउँछिन् ।
परिपूरक हुन् बोर्ड र व्यवस्थापक
एउटा संस्थालाई दीगो र दरिलोरूपमा अगाडि बढाउनका लागि एउटा संरचनाको आवश्यकता पर्छ । त्यसमध्येको महत्वपूर्ण विषय हो संस्थाको सञ्चालक समिति र व्यवस्थापन समूह अर्थात् कर्मचारी । संस्था सफल बनाउनका लागि बोर्ड र व्यवस्थापक परिपूरक हुनुपर्ने धारणा उपासनाको छ ।
‘सीईओ भनेको संस्थाको विज्ञ हो, कार्यकारी प्रमुख बोर्डको ‘एसम्यान’ बन्नु हुँदैन, बोर्डले पनि व्यवस्थापकलाई बोल्ने वातावरण दिन सक्नुपर्छ, सीईओले जस्तोसुकै प्रस्ताव ल्यायो त्यसलाई स्वीकार गर्ने बोर्ड पनि हुनु हुँदैन, बोर्ड पनि तार्किक बन्न सक्नु पर्यो, सीईओले पनि बोर्डले गरेको निर्णय यस कारण गलत छ भन्ने साहस राख्न सक्नु पर्यो,’ सीईओ पौडेल भन्छिन्, ‘तब मात्रै संस्था दीगो बन्न सक्छ, नेतृत्वले प्रभावकारी काम गर्न सक्छ, सफल बन्न सक्छ ।’
एउटा व्यवस्थापकका लागि असल वातावरण सिर्जना गर्नका लागि संस्थाका सञ्चालकको भूमिका महत्वपूर्ण हुने उनको अनुभव छ । संस्थाको बोर्ड र व्यवस्थापक ‘स्याण्डविच’ भएको तर्क उनको छ । सबल नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण विषय टीम (कर्मचारी) नै हो । सबैको सहकार्य, समन्वय र संस्थाभित्रको अपनत्वको भावनाले संस्था दीगो बन्न सक्ने धारणा राख्छिन् उनी ।
‘बोर्डले जतिखेर पनि नेतृत्वलाई प्रश्न उठाउने काम गर्यो भने त्यो नेतृत्वले मानसिकरूपमा पनि सही काम गर्न सक्दैन, नेतृत्वले पनि अनायासै कर्मचारीलाई गालि गर्यो भने त्यसले संस्थालाई थप हानी गर्न सक्छ, यी सबै तहबीच आपसी सहकार्य र सद्भावका साथ अनरसिपको भावनाले काम गर्न सक्यो भने नेतृत्वसँगै संस्था पनि सफल हुन्छ,’ उनी भन्छिन्, ‘सबैमा संस्था मेरो हो भन्ने भावनाको विकास गर्न सकियो भने सफल नहुने भन्ने हुँदैन ।’
अहिलेसम्म जेजति संस्थामा काम गरेँ, सन्तुष्ट भएर गरेँ, जतिबेला म सन्तुष्ट भइनँ, त्यो बेला संस्था पनि छोडेँ । पैसा र प्रशंसाका लागि म काम गर्दिनँ । कामका लागि काम गर्छु, त्यसले सोचेअनुरूपको प्रतिफल पनि दिइरहेको छ । मेरो खातामा कति पैसा आउँछ, मुख्य कुरा होइन ।
उनका अनुसार नेपाली व्यवस्थापकहरू अझैं पनि पुरातनवादी सोच र बुझाइमा दगुडिरहेका छन् । आफूभन्दा जुनियर तहको कर्मचारीलाई सिकायो भने भोलि उसले आफ्नो पद पाएर आफू संस्थाबाट बाहिरनु पर्ने जोखिमको त्रासमा कतिपय नेपाली व्यवस्थापकहरू छन् । तर, त्यसो नभई त्यो पद छोडेर नेतृत्वले थप प्रगति र अवसर हासिल पनि गर्न सकिन्छ भन्ने बुझाइमा व्यवस्थापक नदेखिने उनको धारणा छ ।
‘कतिपय नेतृत्वमा कुर्सीको मोह बढी हुन्छ, कुर्सी आज छ, भोलि छैन भन्ने विषयमा उनीहरू सजग बन्दैनन्, यसले हाम्रो उत्पादकत्व पनि रोकिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सकिएन भने नेतृत्वले कुर्सी खाली गर्न सक्नुपर्छ ।’
नेतृत्वले विश्वास कायम गर्न सक्नु पर्ने भनाइ उनको छ । उनी भन्छिन्, ‘जब नेतृत्वमा विश्वास, विश्वसनियता र व्यवहारिकता हुँदैन, ऊ सफल नेतृत्व नै बन्न सक्दैन ।’
नाम कमाएँ, दाम कमाइन
पढाइ र जागिरको सिलसिलामा एक दशकभन्दा बढी समय उपासनाले भारतमा बिताइन् । जहाँ उनको पद र पैसा राम्रै थियो । काम गर्ने वातावरण उत्कृष्ट नै थियो । तर, नेपालमा जन्मिएकी उपासनालाई देशको मोहले तान्यो । र, एक दशकको मिहिनेत र अनुभवलाई बोकेर उनी स्वदेश फर्किइन् ।
उनी भारतमा हुँदा पहिलो काम पुनेस्थित कमेन्स इन्डिया नामक कम्पनीमा थियो । गाडीको इन्जिन लगायत मेसिनरी सामान उत्पादन गर्ने त्यो कम्पनीमा उनले ९ महिना काम गरिन् । त्यसपछि उनले बम्बईमा रहेको आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन् । त्यहाँ उनले प्रडक्ट मेनेजर भएर काम गरिन् । काम गर्ने वातावरण राम्रै थियो । बैंकले गराउने बीमा पोलिसी (बैंक्यास्योरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले । उक्त कम्पनीमा उनले तीन वर्ष काम गरिन् ।
उनलाई त्यसपछि भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा आवद्ध भइन् । भोडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा उनलाई फेरि आईसीआईसीआईबाटै अफर आयो । उनी फेरि पहिले काम गरेको संस्थामै गइन् । त्यहाँ पनि उनले दुई वर्ष काम गरिन् ।
उनलाई अब नेपाल फर्किनुपर्छ भन्ने महसुस भयो । नेपाल फर्किएर उनले सानिमा जनरल इन्स्योरेन्समा नायब महाप्रबन्धक भएर काम गरिन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । त्यसपछि उनी वि.सं. २०७६ सालको मंसिरमा यूनाइटेड इन्स्योरेन्समा डेपुटी सीईओ बनिन् । डीसीईओ बनेको केही समयपछि उनी कम्पनीको सीईओ नै बनिन् ।
यूनाइटेडमा तीन वर्षको अवधिमा आफूले धेरै काम गरेको उनी बताउँछिन् । केही सूचकमा खस्किएको यूनाइटेडलाई बलियो र प्रतिस्पर्धी कम्पनीको रूपमा अगाडि बढाउनका लागि उनले ठूलो भूमिका खेलिन् ।
‘मैले यूनाइटेडमा सेयरधनीलाई लाभांश दिन सकेँ, बिजनेस पनि बढाएँ, ५० करोडको बिजनेसलाई तीन वर्षको अवधिमा तीन गुणा वृद्धि गर्दै १५० करोडको पुर्याएँ, ग्राहकलाई सहज सेवा दिएर सन्तुष्ट पारेँ, कम्पनीको रिब्राण्डिङ गरेँ, कर्मचारीलाई बोनस दिन सक्ने कम्पनीको हैसियत बनाएँ, ‘उनले यूनाइटेडमा गरेको काम सुनाउँदैन भनिन्, ‘सबैभन्दा महत्वपूर्ण विषय काम गर्ने संस्कार स्थापित गरेँ ।’
आफूले यो अवधिसम्म नाम कमाए पनि पैसा भने नकमाएको उनी मुस्कुराउँदै जवाफ दिन्छिन् । ‘म घुम्न रुचाउँछु, धेरै देशमा घुमिसकेको छु, कमाएको पैसा घुमघाममै खर्च गरेँ,’ उनी मुस्कुराउँदै जवाफ दिन्छिन्, ‘मलाई पैसा गौण लाग्छ, काम सर्वोपरि ठान्छु ।’
काठमाडौंको कुलेश्वरमा जन्मिएकी उपासनाले विद्यालयको तह पढाइ नेपालमै पूरा गरिन् । शिक्षित परिवारमा जन्मिएकी उनको हजुरबुबा स्कुलका प्राध्यानाध्यापक । बुबा व्यवसायी र आमा बैंकर्स हुन् । उनले स्कुलले शिक्षा डिएबीबाट पास गरिन् । प्लसटु डनबास्कोबाट पुरा गरिन् । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिजनेस इन्फर्मेससन सिस्टममा स्नातक पास गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् ।
अहिले उनी हिमालयन रिइन्स्योरेन्सको नेतृत्व गरेर संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यमा छिन् । ‘हिमालयन रिइन्स्योरेन्सको बिजनेस बढाउने अभिभारा हामी सामू छ, विभिन्न २९ देशमा बिजनेसका लागि पुगिसकेका छौं, अब यसलाई थप बढाउनु पर्नेछ,’ उनले भनिन् ।
जुनसुकै संस्थामा पनि कर्मचारीलाई सन्तुष्ट पार्न सकियो भने सबैभन्दा ठूलो समस्या समाधान हुने उनको अनुभवले बताउँछ । ‘कर्मचारी असन्तुष्ट हुनु भनेको गाडीको पाँग्रा नहुनुजस्तै हो, एउटा संस्थामा २० प्रतिशत कर्मचारी सधैं असन्तुष्ट हुन्छन्, २० प्रतिशत धेरै सन्तुष्ट र ६० प्रतिशत औसत सन्तुष्ट हुन्छन्, हामीले त्यो ८० प्रतिशत कर्मचारीलाई अगाडि बढाएर जाने हो, ८० प्रतिशतलाई जोगाउन पनि चुनौती नै हुन्छ,’ उनी भन्छिन्, ‘कर्मचारी संस्थाको सम्पत्ति हो ।’
उनी आफू ‘बटम अफ एप्रोच’मा काम गर्न रुचाउने धारणा राख्छिन् । ‘कर्मचारीलाई अधिकार दिन सक्नुपर्छ, जिम्मेवार बनाउन सक्नुपर्छ, कर्मचारीलाई म पनि निर्णयकर्ता हुँ भन्ने आत्मबोध गराउन सक्नुपर्छ,’ उनी भन्छिन्, ‘तर, कर्मचारीमा पनि अनुशासन पनि चाहिन्छ, तब मात्रै संस्था सबलरूपमा अगाडि बढ्छ ।’ (देशविकासबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.