धुम्बाराहीको अकामा होटल ‘रमडा’ को नामबाट सञ्चालन हुने, छिट्टै सेयर जारी गर्ने

  २०८० माघ १८ गते ११:१३     विकासन्युज

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल विश्व प्रसिद्ध ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट फ्रेन्चाइजमा सञ्चालन हुने भएको छ । विन्डम होटल एण्ड रेस्टुरेन्टसँग फ्रेन्चाइजका लागि बुधबार एक कार्यक्रमबीच अकामा होटल र रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विगत चार वर्षदेखि सञ्चालनमा उक्त होटल मंसिर २९ गते स्तरोन्नति भई पाँच तारे होटलको मान्यता पाइसकेको छ । अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अमेरिकन चेन ब्राण्ड ‘रमडा’ सँग फ्रेन्चाइजका लागि सम्झौता गरेको होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले बताए ।

सन् २०१९ को फेब्रुअरीबाट ‘सफ्ट लन्च’ भई सोही वर्षको अन्त्यबाट पूर्ण रूपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको ‘रमडा वाई विन्डम ब्राण्डबाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण रहेको कम्पनीले बताएको छ । यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने कम्पनीले विश्वास राखेको छ ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर ९५, डिलक्स -६, डिलक्स स्विट-४, फेमिलि स्विट -२, प्रेसिडेन्टल स्विट-१ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन् । न्युनतम् २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेको पनि कम्पनीले बताएको छ ।

अकामा होटलमा हाल १३० जना विभिन्न तहका कर्मचारीहरू कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्टसहितको पार्किङ सुविधा समेत रहेको छ । कम्पनीले अकामा होटलको निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने पनि बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.