२०८० माघ २६ गते १२:३० विकासन्युज
५६ वर्षअघि उनी राजधानीमा जन्मिए । राम्रो स्कूलमा पढ्ने अवसर पाए । पढाइमा उनी औसत विद्यार्थी थिए । तर, अकण्टक मिहिनेत, अथक परिश्रम र निरन्तर लगावका कारण आज उनी यस्तो ठाउँमा छन्, जहाँ पुग्ने सपना थोरै मान्छेसँग होला, सफलता चुम्ने त विरलै । उनी हुन् मुलुकको दोस्रो ठूलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा. डा. भोला थापा । र, उनी विश्वविद्यालयको शिक्षालाई सहज र सीपमूलक बनाउन लागि परेका छन् । नेपाली विश्वविद्यालयको शिक्षालाई विदेशमा विस्तार गर्न लागि परेका छन् ।
पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजिबाट विद्यावारिधी गरेका छन् । सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयमा लेक्चरको रुपमा प्रवेश गरेका डा. थापा २००८ मा प्रोफेसर भए । सन् २०१३ देखि १८ सम्म रजिष्ट्रार बने । सन् २०२१ जनावरीमा उपकूलपति नियुक्त भएपछि डा.थापाले विश्वविद्यालयलाई नेपालको अब्बल विश्वविद्यालय बनाउने, अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने र स्रोत साधान सम्पन्न बनाउने लक्ष्यका साथ काम गरिसकेका छन् ।
गौरवपूर्ण संस्था
तत्कालिन समयमा शैक्षिक अभियन्ताहरूले पहिलो पवित्र उद्देश्यका साथ उज्यालो सपना बोकेर स्थापना गरेको संस्था हो काठमाडौं विश्वविद्यालय । ३३ वर्षअघि स्थापना भएको यो संस्था अहिले देशको दोस्रो ठूलो विश्वविद्यालय मात्र बनेको छैन, गौरवपूर्ण संस्था बनेको छ, जोस जागर भएका जो कोहीलाई प्रेरणादायी संस्था बनेको छ ।
काठमाडौं विश्वविद्यालय न सरकारको लगानीमा बनेको हो, न ठूला व्यावसायिक घरानाको लगानीमा बनेको हो । शिक्षाप्रेमीहरुको निःस्वार्थभावले अर्थात आर्थिक प्रतिफलको अपेक्षा नगरी स्थापना भएको र प्रभावकारी रुपमा सञ्चालन भईरहेको संस्था हो । यस विश्वविद्यालयले २०० भन्दा बढी प्रोग्रामहरु सञ्चालन गरिरहेको छ । २२ वटा कलेजले सबन्धन लिएका छन् । हाल १८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । १८०० भन्दा बढीले काम गर्दछन् । अनुदान स्रोत परिचालन गरेर यो संस्थाले धुलिखेल, काठमाडौं, ललितपुर, झापामा गरी ९१० रोपनी जग्गामा वृहत पूर्वाधार निर्माण गरेको छ । विश्वविद्यायलको अक्षय कोषमा मात्र ४३ करोड रुपैयाँ जम्मा भएको छ ।
गत वर्षसम्म ५५ देशका १३ प्रतिशत विद्यार्थी केयुबाट ग्रेजुएट भएका छन् । त्यो भनेको साढे ५ हजार हो । काठमाडौं विश्वविद्यालयले अहिले नेपाल बाहिर पनि पढाउन शुरु गरेको छ । उपकुलपति डा. थापा भन्छन्, ‘तिरुपतिमा क्याम्पस खोलेका छौं, अस्ट्रेलियाको सिड्नीमा नेपालीले चलाएका क्याम्पससँग सहकार्य गर्ने योजना छ । चीनमा पनि क्याम्पस सञ्चालन गर्ने विषयमा सहकार्य शुरु भएको छ ।’
उपकुलपति डा. थापाका अनुसार काठमाडौं विश्वविद्यालयको वार्षिक बजेट मेडिकलबाहेक २ अर्ब रुपैयाँ बराबर छ । मेडिकल भने धुलिखेल अस्पतालसँग सहकार्य गरेर चलिरहेको छ । अन्य स्रोतहरू पनि छन् । मेडिकलबाहेक टुक्राउने हो भने बजेटको ६० प्रतिशत आम्दानी विद्यार्थी शुल्कबाट संकलन हुन्छ । जति खर्च हुन्छ, त्यसको ६० प्रतिशतमात्रै विद्यार्थीबाट र ४० प्रतिशत अन्य स्रोतबाट जुटाउनुपर्छ । त्यसमध्ये १० प्रतिशतसम्म सरकारबाट आउँछ । अर्को ३० प्रतिशत जुटाउनु विश्वविद्यालय नेतृत्वको चुनौती हो ।
‘हामी विदेशी र स्वदेशीदाताका ढोका ढकढकाउन पुग्छौं, अब ६० प्रतिशत रकम पनि विद्यार्थीबाट उठाउन असम्भव हुन सक्छ,’ थापा भन्छन्, ‘संसारका राम्रा विश्वविद्यालय अक्षय कोषबाट चलेका हुन्छन्, त्यसको ब्याजले धानिएका हुन्छन् । उपकुलपति भएपछि ५० करोडको अक्षयकोष स्थापना गर्ने मेरो प्रतिवद्धता थियो । अहिलेसम्म करिब ४३ करोड रुपैयाँ संकलन भइसकेको छ । यो सबै नेपालीको हिस्सा हो ।’
जसले जग बसाए
डा. सुरेशराज शर्मासहित शिक्षा क्षेत्रको अग्रजहरूले विश्वविद्यालय खोल्ने सपना देखे । तत्कालिन राजनैतिक नेतृत्वले बैधताको बाटो खोलिदिए । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले विश्वविद्यालयका लागि स्वीकृति दियो । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारका पालामा काठमाडौं विश्वविद्यालयको ऐन संसद्ले पास गरिदियो र काठमाडौं विश्वविद्यालय स्थापना भयो । उपकुलपति थापा भन्छन्- त्यतिबेला पनि राजनीतिक नेतृत्वले पनि ‘सरकारसँग प्रशस्त स्रोत छैन, तपाईंहरूको आर्थिक जिम्मेवारी हामी लिँदैनौं, काम गर्नुस्, विश्व विद्यालयलाई बढाउनुस् । तर, सरकारको भर नपर्नुस्’ भनेका रहेछन् । सरकार र राजनीतिक नेतृत्वले त्यसो भन्दाभन्दै विश्वविद्यालय स्थापना हुनु संस्थापकहरुमा दअम्य सहास हो ।
गाउँगाउँमा क्याम्पस किन्ने लहर चलिरहेका बेला विश्वविद्यालय खुलेको थापा बताउँछन् । सबै सहयोगीदाताहरू, तत्कालीन अवस्थामा धुलिखेल नगरपालिकाले काठमाडौं विश्वविद्यालयलाई आमन्त्रण गरेर, केही दाताले अलिअलि भरथेग गरेर अनि केही विदेशी दाताबाट सहयोग प्राप्त भएपछि स्थापना भएको काठमाडौं विश्वविद्यालय यतिबेला नेपाल मात्रै होइन, विश्वमा पनि परिचित भएको छ ।
५५ देशका विद्यार्थी, विदेशमा पनि पढाई
गत वर्षसम्म ५५ देशका १३ प्रतिशत विद्यार्थी केयुबाट ग्रेजुएट भएका छन् । त्यो भनेको साढे ५ हजार हो । त्यसमा सबै महादेश समेटिएको थियो । मूलतः धेरै विद्यार्थी मेडिकलका र फाइन आर्ट, बुद्धिस्ट स्टडिज र साइन्समा थिए । गाम्बियाजस्तो देशले केयुमा ५० जना मान्छेलाई इलेक्ट्रिक इन्जिनियरिङमा स्नातकोत्तर गर्न पठाएको थियो । विदेशमा भएका विश्वविद्यालयमा जति शुल्क तिरेका छन् त्यसैको हाराहारीमा शुल्क तिरेर उनीहरुले नेपालमा पढेको पनि उपकुलपति थापाले बताए । नेपालका विश्व विद्यालयहरूले राम्रो पढाएकै कारण विदेशीहरू पनि नेपालमा पढ्न आउने धारणा उनी राख्छन् ।
उनी थप्छन्, ‘मेरो जिम्मेवारी संसारभरका विद्यार्थी यहाँ ल्याएर पढाउँछु, मेरा छोराछोरी पनि काठमाडौं विश्वविद्यालयमै पढ्छन्, छोरी ऋतिका अहिले एमबिबिएस फाइनल इयरमा मेडिकलमा इन्टर्न गर्दैछिन् । छोरा ऋषभ काठमाडौं विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङ गरेर अहिले दराजमा काम गर्दैछन्,’ उनी भन्छन्- ‘सबै नेपालीको छोराछोरी स्वदेशमै पढाउने वातावरण सिर्जना गर्नुपर्छ ।’
‘कुनै-कुनै विषय त नेपाल सान्दर्भिक पनि छ, हाइड्रोपावर पढ्न नर्वेजियन पनि काठमाडौं विश्वविद्यालय आउँछन्, हिमाल पढ्न आउनु पर्यो भने नेपाल नै आउने हुन्, मलेसिया गएको कामदारले चाइनिज युनिभर्सिटी किन पढ्ने ? त्यहाँको पढाइ राम्रो छ भने त हामीले पढ्नलाई रोक्न सक्दैनौं, काठमाडौं विश्वविद्यालयको डिग्रीलाई पनि नराम्रो भनेर गएको त होइन नि,’ उनी भन्छन्, ‘मैले अस्ट्रेलियाको जुन विश्वविद्यालयसँग सहकार्य गर्दैछु त्यो कार्यक्रममा त्यो कलेजको सीईओ पनि काठमाडौं विश्वविद्यालयको ग्रेजुएट हो, त्यो कलेजमा पढाउने ६ जना शिक्षक पनि केयुकै हुनुहुन्छ रे ।’
टपरहरूलाई जागिर
उच्च शिक्षामा चुनौतीहरू सरकारदेखि राजनीतिक नेतृत्व सबैले भन्ने कुरा नेपालका विश्वविद्यालयमा युवा कम भए, सबै विदेश गए भन्ने हो । यस विषयमा डा. थापा पनि चिन्तित छन् । उपकुलपति (भीसी) भएर आए पनि उनी कुनै दिन आफू पनि विदेश गएर पढेर आएको पनि सम्झिन्छन् ।
‘मैले पनि पञ्जाबमा समस्या भएका बेला पढेको हुँ, एक वर्ष बंकरमा बसेर पढेको हुँ, मेरो होस्टेल बाहिर बन्दुक लिएर बसेका थिए, विदेश बसेर पढ्नुको पीडा म राम्रोसँग बुझ्छु,’ थापा भन्छन् । तर, विद्यार्थीहरू विदेशमा गएर पढ्छन र पुनः नेपालमै फर्किने भन्नेमा उनी आशावादी देखिन्छन् । उनका अनुसार अहिले विश्वविद्यालयले टपर विद्यार्थीहरूलाई आफैं राख्ने अभ्यास गरेको छ । यसले विद्यार्थीहरूमा एक किसिमको उत्प्रेरणा मिल्नेमा उनी विश्वस्त छन् ।
काठमाडौं विश्वविद्यालयले अहिले नेपाल बाहिर पनि पढाउन शुरु गरेको छ । उपकुलपति डा. थापा भन्छन्, ‘ तिरुपतिमा पनि हामीले क्याम्पस खोलेका छौं, त्यहाँ ६ जना विद्यार्थी भर्ना गरिएको छ, अस्ट्रेलियाको सिड्नीमा त्यहाँको नेपाली क्याम्पससँग सहकार्य गर्ने योजना छ, त्यसमा हामी सहकार्य पनि गर्नेछौं, त्यहाँ अस्ट्रेलियन एम्बेसेडर बसेर हामीले एग्रिमेन्ट गरेका छौं । हामीले त्यहाँ फेब्रुअरीदेखि पढाइ सुरु गर्छौं । हाम्रो चीनसँग पनि क्याम्पस सञ्चालन गर्ने विषयमा सहकार्य भएको छ ।’
शिक्षाप्रेमीहरुले नाफा नखाने उदेश्यसहित ३३ वर्षअघि स्थापना भएको काठमाडौं विश्वविद्यालयले २०० भन्दा बढी प्रोग्रामहरु सञ्चालन गरिरहेको छ । २२ वटा कलेजले सबन्धन लिएका छन् । हाल १८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । १८६० जनाले काम गर्दछन् । अनुदान नै उठाएर संस्थाले धुलिखेल, काठमाडौं, ललितपुर, झापामा गरी ९१० रोपनी जग्गामा वृहत पूर्वाधार निर्माण गरेको छ । विश्वविद्यायलको अक्षय कोषमा मात्र ४३ करोड रुपैयाँ जम्मा भएको छ ।
उनले आफ्नो नेतृत्वमा विश्वविद्यालयमा धेरै परिवर्तन भएको धारणा राखे । थापाका अनुसार यसपालि नयाँ सुरु गरेको कार्यक्रम ‘बैंकिङ इन्जिनियरिङ’ हो । विश्वविद्यालयबीचको शुल्कले पनि प्रतिस्पर्धामा समस्या भइरहेको उनको बुझाइ छ । केयुको शुल्क ८ लाख ५० हजार रुपैयाँ छ । अर्को विश्वविद्यालयको १ लाख छ । कुनै पैसा तिर्न नपर्ने प्रोग्राम पनि छन् । सबै इन्जिनियरिङ कार्यक्रममा सबै विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने गरिएको छ ।
थापाका अनुसार नेपालको उच्च शिक्षामा केयुको योगदान ४.५ प्रतिशत छ । नेपालमा उत्पादित डाक्टर ५० प्रतिशत केयुका हुन् । इन्जिनियरिङ म्यानेजमेनटमा आ-आफ्नो प्रोफेसनल विधामा छन् । अर्को, आर्ट र इन्जिनियरिङलाई पनि सँगै लैजाने योजना छ । ब्याचलर एन्ड क्राफ्ट डिजाइन अघि बढाइएको छ । परम्परागत सीप र कलालाई पनि विद्यालय तहमा ल्याउन लागिएको छ ।
‘हाम्रा थुप्रै अनुसन्धानहरू बिकेका छन्, हाइड्रोपावरमै मैले गरेका, गराएका र अहिले विद्यार्थीले गरिरहेका प्रोजेक्ट पनि यरी नै गर्दिनुस् न भनेर माग आएको छ, पछिल्लो समय हामीले हाइड्रोजनमा थुप्रै काम गरिरहेका छौं, हामीले सिर्जना गरेका ज्ञान इन्डस्ट्रीमा गइराखेकै छ,’ थापा भन्छन् ।
औषत विद्यार्थी, कडा परिश्रम
भोला थापा सन् १९६७ मा काठमाडौंको थापागाउँमा जन्मिएका हुन् । उनले प्रारम्भिक शिक्षा बानेश्वरको अमर आदर्श स्कुलमा पढे । सात कक्षामा पढ्न उनी र्कीतिपुरको ल्याबोरेटोरी स्कुलमा भर्ना भए । थापाले एसएलसी (हालको एसईई) मा ७० प्रतिशत ल्याए । ‘उत्कृष्ट विद्यार्थी नभए पनि पछाडि कहिल्यै परिनँ, त्यसपछि म अमृत साइन्स कलेजमा भर्ना भएँ,’ डा. थापा थप्छन्, ‘अमृत साइन्स कलेजमा पनि त्यो बेला देशैभरिबाट भर्ना लिने बेला ७५ जनाभित्र म पनि परेँ ।’
७५ जनाको समूहले आइएस्सी सकेपछि कोलम्बो प्लानअन्तर्गत शिक्षा मन्त्रालयमा ४९ वटा सिट आएको थियो । त्यसमध्येको एउटा सिट थापाले पनि पाए । त्यसपछि पढ्न उनी भारतको पञ्जाब युनिभर्सिटी गए । ‘मैले मेकानिकल छानेँ, किनभने मलाई मैले सिभिल इन्जिनियरिङ पढ्न पाउँदिन भन्ने थाहा थियो । र, म पञ्जाब गएर मेकानिकल इन्जिनियरिङ पढेँ,’ थापा भन्छन्, ‘त्यो बेला बच्चैदेखि म यही विषय पढ्छु भन्ने थिएन, आफ्नो आवश्यकताअनुसार विषय छनौट गरेर पढेँ ।’
थापासँग त्यसबेला करियर कसरी बनाउने, के गर्ने कुनै योजना थिएन । उनलाई जुनबेला जुन अवसर प्राप्त भयो र आवश्यकता जे थियो त्यही परिपूर्ति गरिरहे । भारतबाट इन्जिनियरिङ सकेर फर्किँदा शिक्षक बन्छु भन्ने लालसा भने उनमा थियो । फाइनल इयर सकिनुअघि उनको समूहले एउटा म्यागजिन निकाल्थ्यो । त्यसमा उनले लेखेको थिए- ‘नेपाल जान पाएँ भने शिक्षक बन्छु ।’ तर, शिक्षक बन्न कि पुल्चोक क्याम्पस जानुपथ्र्यो कि थापाथली क्याम्पस । त्यतिबेला यी दुई क्याम्पसमा ओभरसियरमात्र पढाइ हुन्थ्यो ।
पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजिबाट विद्यावारिधी गरेका छन् । सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयमा लेक्चरको रुपमा प्रवेश गरेका डा. थापा प्रोफेसर, रजिष्ट्रार हुँदै सन् २०२१ जनावरीमा उपकूलपति नियुक्त भए । डा.थापाले विश्वविद्यालयलाई नेपालको अब्बल शिक्षालय बनाउने, अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने र स्रोत साधन सम्पन्न बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् ।
‘शिक्षा मन्त्रालयमार्फत् स्कलरसिपमा छानिएर गएको हुनाले नेपाल फर्केपछि रिपोर्ट पेस गर्नुपर्ने हुन्थ्यो, मैले पेस गरेँ, शिक्षा मन्त्रालयले तपाईंको मेकानिकल रहेछ भन्दै उद्योग मन्त्रालयमा चिठ्ठी लेखिदिए,’ थापा सम्झिन्छन् । ‘उहाँ मेकानिकल इन्जिनियरिङ पढेर आउनुभएकाले उहाँका लागि उपयुक्त जागिर मिलाइदिनू’ भनेर चिठ्ठीमा लेखिएको थियो ।
त्यतिबेला उदयपुर सिमेन्ट कारखाना निर्माणाधीन थियो । त्यो चिठ्ठी लिएर थापा उदयपुर सिमेन्ट कारखाना गए । कारखाना बनिरहेकाले चिठ्ठीमात्रै बुझाए । त्यहाँ उनलाई ‘चाहिएपछि बोलाउँछौं’ भनियो । केही महिनापछि तत्कालीन सरकारी निकाय नेसनल कस्ट्रक्सन कम्पनी नेपाल लिमिटेड (एनसिसिएन, त्यो नेपालको एकमात्र ठेकेदार कम्पनी) स्थायी कर्मचारी माग भयो । उनले आवेदन दिए । र, छनौट भएर जागिर सुरुवात गरे । यो सन् १९९१ को कुरा हो ।
‘त्यहाँ मैले ४ वर्ष काम गरेँ, त्यसबेला मैले काठमाडौंका मुख्य-मुख्य विकास निर्माण आयोजनाको नेतृत्व गरेँ,’ डा. थापा रमाइलो मान्दै भन्छन्, ‘मलेखुको बाटो बन्दादेखि लिएर चारआली इलाम र महाकाली राजमार्गदेखि धेरै आयोजनामा इन्जिनियरका रूपमा काम गरेँ, अहिले सम्झिँदा गर्व लाग्छ ।’
थापा मेकानिकल इन्जिनियर भएर एनसिसिएन जहाँ अहिले हलचोकमा सशस्त्र प्रहरीको मुख्यालय छ, त्यो ठाउँमा वर्कसप थियो । त्यहाँ उनी पुराना उपकरण बनाएर बस्थे । त्यसपछि उनको हल्चोक ढुंगाखानीमा सरुवा भयो । त्यहाँ उनी हप्ताको दुई दिन बस्नुपर्थ्यो । ढुंगागिटी निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्लाई गर्नुपर्थ्यो । त्यहाँ मर्मतको काम चलिरहेको थियो । उनको काम त्यहाँ बसेर कति गिटी बन्यो र सप्लाइ गर्न सकियो भनेर रेकर्ड राख्ने थियो ।
त्यहाँ काम गरिरहँदा थापाले काठमाडौं विश्वविद्यालय बनेको छ भन्ने सुनेका थिए । एक दिन पत्रिका पढ्दै गर्दा त्यहाँ एकजना मेकानिकल इन्जिनियर चाहिएको विज्ञापन देखे । उनले काठमाडौं विश्वविद्यालयमा आवदेन दिए । सन् १९९४ मा लेक्चरर भई काठमाडौं विश्वविद्यालय प्रवेश गरेका थापाले २७ वर्ष यही संस्थामा बिताइसकेका छन् । काठमाडौं विश्वविद्यालयमार्फत् नै स्नातकोत्तर गर्न भारतको राजस्थान गए । उनको विद्यावारिधी जलविद्युत उत्पादन गर्न आवश्यक टर्बाइनको खिइने प्रक्रिया तथा समस्याबारेमा थियो ।
सहजकर्ताको भूमिका
डा. थापाका अनुसार नेतृत्व भनेको संस्थाको मुख्य सहजकर्ता हो । ‘सबैसँग एउटा भिजन र फिलोसफी हुन्छ, त्यसलाई उसले कसरी अगाडि बढाउँछ भन्ने कुरा उसमा निहित हुन्छ,’ उनी भन्छन्, एउटा नेतृत्वमा संस्थालाई सहीरूपमा अगाडि बढाउन सक्ने क्षमता हुनुपर्छ ।’
मेकानिकल इन्जिनियर सर्कलमा थापालाई विज्ञका रूपमा परिचित छन् । ‘म आज उपकुलपति हुँदा मेरो काम म मातहतकालाई सहजीकरण गर्ने हो, उहाँहरूले प्रोजेक्ट लेख्नुहुन्छ, नयाँ प्रोग्राम डिजाइन गर्नुहुन्छ, पढाउनुहुन्छ, स्रोतसाधन उहाँहरूबाट नै आउने हो, उहाँहरूलाई काम गर्ने वातावरण मैले बनाइदिनुपर्ने होे,’ डा. थापा भन्छन् ।
संस्थाभित्र जे हुन्छ त्यसको पूर्णजिम्मेवारी नेतृत्वले लिन सक्नु पर्ने उनको भनाइ छ । ‘नेतृत्वकर्ता भइसकेपछि मैले गरेको होइन, मेरो जिम्मेवारी थिएन भन्न मिल्दैन, शतप्रतिशत जिम्मेवारी मेरो हो भन्ने किसिमले अगाडि बढ्ने हो, त्यो जिम्मेवारी कसरी पूरा गर्न सक्छ भन्ने तर्फ लाग्नुपर्छ,’ उनी थप्छन् ।
जुन ठाउँमा डा. थापा अहिले छन्, यो कुरा उनले कहिल्यै सोचेका थिएनन् । तर, आज आफू यो ठाउँमा आइपुग्नुमा मिहिनेत भएको बताउँछन् । नेतृत्वले मिहिनेत गर्न छोड्न नहुने उनको भनाइ छ । उनी समकालीन साथीहरूलाई हेर्दा आफूले डिजर्भ गरेको महसुस गर्छन् ।
‘म अहिले जे छु, त्यसमा पूर्ण सन्तुष्ट छु, यतिको त संसारका जुनसुकै कुनामा लगेर राखेको भए पनि गर्न सक्ने थिइनँ, म असिस्टेन्ट भएर छिरेको मान्छे, लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र रजिस्ट्रार हुँदै यहाँसम्म आएको छु,’ उनी भन्छन्, ‘यसलाई म मेरो सफलता मान्छु, एउटा सामान्य कर्मचारीबाट यो पदसम्म आइपुग्दा पृथक किसिमको परिश्रम छ, अब यो पदमा रहेर सफल नेतृत्वको उदाहरण बन्नुछ, त्यसको प्रयासमा छु ।’
(देशविकासबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.