२०८० फागुन १० गते १२:३२ विकासन्युज
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् केशब प्रसाद दाहाल । सहकारी क्षेत्रमा करिब तीन दशकको अनुभव भएका दाहाल व्यवस्थापनमा पनि अब्बल मानिन्छन् । विभिन्न सहकारी संघ संस्थाको नेतृत्व गरिसकेका दाहाल २०७८ भदौमा बागमती प्रोस्कुनको सीईओ बनेका थिए । उनै सीईओ दाहालसँग बागमती प्रोस्कुनले फागुन १६ र १७ गते आयोजना गर्ने बागमती साकोस समिट, वर्तमान सहकारी समस्या र यसको सुधारका लागि भइरहेको पहल लगायत विषयमा कुराकानी गरेका छौं ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले बागमती साकोस सम्मेलनको आयोजना गर्दैछ, यो सम्मेलनको उद्देश्य के हो ?
यस्ता किसिमका सम्मेलन अन्य संघ संस्थाबाट पनि भइरहेका छन् । तर, यो सम्मेलन धेरै पृथक छ । हामीले यसलाई फरक ढंगबाट अगाडि बढाइरहेका छौं । सहकारी क्षेत्रको सुदृढिकरण र अभियानको बुझाइमा पृथकता ल्याउन आवश्यक छ । हामी सामुहिक रूपमा हिँड्दा गन्तब्यमा पुग्न सक्छौं । अहिले सबैले एक्लाएक्लै अगाडि बढ्दा सहकारीका वास्तविक एजेण्डा ओझेलमा परेका छन् । त्यस कारण पनि सहकारीमा विषम् परिस्थिति सिर्जना भएको छ, सहकारीमा बदमासी र अनियमितताका घटना बढिरहेका छन् । धेरै सदस्यहरूमा विश्वास हराउँदै गएको अवस्था छ । त्यो विश्वास पुर्नजाग्रित गराउनु पर्ने आजको आवश्यकता हो । त्यसको भूमिका हामीले पनि खेल्नु पर्छ भन्ने मनसायका साथ यो बागमती प्रदेश साकोस समिट आयोजना गर्दैछौं । आज केही सहकारीहरु समस्यामा छन् । ती तिनका निजी समस्या मात्रै होइनन् ती समस्या हाम्रा पनि हुन् । यो कार्यक्रमको उद्देश्य भनेको अहिलेको समस्या हामी सबैको हो । अब सुदृढिकरणमा हातेमालो गर्नुपर्छ । यो समग्र अभियानको समस्या हो । सहकारी अभियानका लागि यो कार्यक्रम कोशेढुङ्गा बन्नेछ भन्ने अपेक्षा छ ।
सहकारी अभियानमा कस्तो किसिमको सृदृढिकरण खोज्नु भएको हो ?
सहकारी अभियानभित्र सबै गलत गर्ने मान्छे छन् भन्ने बुझाइ र विरोधाभाष छ । सहकारीमा काम गर्ने भन्ने वित्तिकै हेयको रूपले हेर्ने दृष्ट्रिकोण छ । सहकारीको सञ्चालक भन्ने वित्तिकै यसले बचतर्ताको पैसा खाएको छ भन्ने बुझाइ अधिकांशमा छ । तर, सहकारी क्षेत्रमा धेरै राम्रो काम गर्ने मान्छेहरूको जमात पनि छ । आफ्नो महत्वपूर्ण जीवन यही सहकारी क्षेत्रमा बिताएकाहरू पनि यो अभियानमा हुनुहुन्छ । तर ती व्यक्तिले गरेका कामहरूलाई हामीले बाहिर ल्याउन सकेका छैनौं । केही व्यक्ति व्यक्तिगत व्यवसायमा तथा आत्मकेन्द्रीत भएर सहकारी सञ्चालन गर्दा अहिलेको समस्या देखिएको हो । ती व्यक्तिहरूको पहिचान गर्न आवश्यक छ । केही अभियान्ताहरू गलत नियतका साथ सहकारी अभियानमा प्रवेश गरेको रहेछन् भन्ने देखियो । अब तिनीहरूको कित्ताकाट हुनुपर्छ । सहकारीको बचतकर्ताको लागि जीवनभर लागेकाहरू पनि छन् । गलत नियत भएका केही व्यक्तिहरूको कारण जीवनभर सहकारी क्षेत्रमै काम गरेकाहरूलाई पनि लज्जित बनाएको छ ।
सहकारीलाई देखाउने माध्यम बनाएर त्यहाँबाट माथि आउने परिस्थिति जुन बन्यो त्यसको अब पर्दाफास हुनुपर्छ । त्यसको अन्त्य गर्नुपर्छ । गलत गर्ने र राम्रो काम गर्नेको कित्ताकाट नै सहकारीको सुदृढिकरण हो । यसलाई हामीले मुख्य एजेण्डा बनाएका छौं । कुन सहकारी सञ्चालन गर्न सकिने र कुन समस्यामा छ भन्ने विषय पनि हामीले खोज्ने बेला भएको छ । विशेष परिस्थिति नआएसम्म सहकारी संस्थाहरू डुब्दैनन् भन्ने सन्देश दिनु पर्नेछ । सदस्यको हकहितका लागि काम गरेका संस्थामा समस्या आउँदैन भन्ने सन्देश तथा वर्गिकरण गरिनु पर्नेछ ।
बागमती साकोस समिटले गलत मनसाय भएका र सहकारीबाट करोडौं कमाउने नियत राख्नेहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउने ल्याकत राख्न सक्छ ?
हामीले यो सम्मेलनलाई प्रस्थान बिन्दु गर्न खोजेका हौं । अब उप्रान्त नेटवर्क म्यानेज्मेन्टसँगै सहकार्य गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा थप छलफल गर्छौं । प्रत्येक रोगको उपचार एउटै औषधीले हुँदैन । त्यसको खोजी हामी गर्छौं । छिटो सुधार गर्नु पर्ने र विस्तारै सुधार गर्ने सहकारीको पहिचान गरेर मार्गदर्शन गर्ने र सबैलाई विस्तारै गुणस्तरीय सहकारी बनाउने योजना बागमती प्रोस्कुनको हो । यसमा सबैको हातेमालो चाहिन्छ ।
अहिले अधिकांश सहकारीमा संकट छ भन्ने सुनिन्छ, सबैले समस्या भोगिरहेको बेला पैसा तिरेर तपाईंको सदस्यहरू यो सम्मेलनमा स्वस्फूर्तरूपमा सहभागी हुन्छन् ?
अहिले बागमती प्रोस्कुनको नेटवर्कभित्र ४२७ वटा सहकारी छन् । तर, जिल्ला बचत संघमा आवद्ध भएका सहकारीहरूलाई पनि गणना गर्दा २ हजार ९ सय सहकारीहरू हुन्छन् । हाम्रो नेटवर्कमा दर्ता भएका ४४ प्रतिशत सहकारी पनि सम्पर्कमा छैनन् । बाँकी रहेका ५६ प्रतिशत सहकारीबाट सहभागिता राम्रै छ । सबैको उत्साहपूर्ण सहभागिता छ । दर्ताको प्रक्रिया हेर्दा राम्रै छ । १० गतेसम्म २२० सदस्य पुर्याउने लक्ष्य हो । कार्यक्रममा कुल ३०० सम्म सहभागिता रहने विश्वास छ ।
बागमती प्रोस्कुनमा दर्ता भएका ४४ प्रतिशत सहकारीहरू नेटवर्कमै छैनन् भन्नुभयो, ती सहकारीहरू संकटमा परेर सम्पर्कविहीन भए भनेर बुझ्दा हुन्छ ?
त्यसरी बुझ्नु भएन । अहिले ४ हजार ६ सय बढी बचत तथा ऋण सहकारी संस्थाहरू प्रदेशमा दर्ता भएको देखिन्छ । त्यसमध्येको २ हजार ८ सय सहकारी जिल्ला बचत संघको सदस्य छन् । बाँकी बचत तथा ऋण सहकारी संस्थाहरू कुनै पनि नेटवर्कमा आवद्ध भएका छैनन् । कतिपय सञ्चालन भएर पनि आफ्नै ढंगले काम गरिरहेका छन् । उनीहरूलाई यो नेटवर्कको मतलब नै छैन । त्यस कारण पनि अहिलेको समस्या बढी देखिएको हो । हाम्रै सदस्यहरूमा समस्या पनि छ । तर, तुलनात्मकरूपमा कम छ । संघमा आवद्ध भएका सहकारीमा समस्या देखियो कि नेटवर्कमा नआएका सहकारीमा बढी समस्या देखियो ? यो विषय पनि हामीले थाहा पाउनु पर्छ । यस विषयमा पनि छलफल हुन्छ ।
बागमती प्रोस्कुन प्रदेशभरि रहेका बचत तथा ऋण सहकारी संस्थाहरूको अभिभावक पनि हो । अभिभावकलाई आफ्नो सदस्यहरू के कस्तो समस्या छन्, कस्तो काम गरिरहेका छन् भन्ने विषय पनि राम्रोसँग थाहा होला । बागमती प्रोस्कुनमा आवद्ध कति सहकारी अहिले समस्यामा छन् ?
यकिन तथ्यांक हामीलाई पनि थाहा छैन । तर, अहिलेसम्म तयार गरेको तथ्यांकलाई अध्ययन गर्दा संघीय सहकारी विभागमा कुल २२ वटा सहकारी संस्थाहरू दर्ता भएको रहेछन् । ती मध्ये ११ वटा समस्याग्रस्त घोषणा भएका छन् । अन्यमा पनि समस्या छ भन्ने कुरा जानकारीमा आएको छ । बागमती प्रदेश अन्तर्गत १५ सय बचत तथा ऋण सहकारी संस्थाहरू आवद्ध छन् । त्यसमध्ये १७२ सहकारी विरूद्द उजुरी परेको देखियो । त्यो भनेको ९ प्रतिशत हो । त्यो उजुरी के कारणले पर्यो भन्ने विषय खुलेको छैन । बचत फिर्ता, बढी ब्याजदर, धाँदलिपूर्ण साधारणसभा लगायत विषयका उजुरी परेको देखिन्छ । त्यसमध्ये दुई/तीन वटा सहकारी प्रदेश सरकारलेले समस्याग्रस्त सहकारी घोषणाका लागि सिफारिस गरेको छ । अन्य सहकारीको विषयमा प्रदेशमै समन्वय गरेर समाधान खोज्ने प्रयास भइरहेको छ ।
यो साकोस समिटले सबैको साझा धारणा बनाएर अहिलेको समस्याको समाधानको लागि ‘वे आउट’ दिन्छ भन्नेमा कत्ति विश्वस्त हुन सकिन्छ ?
यसलाई हामीले सकारात्मक उर्जा खर्च गरौं भन्ने बुझौं । यसलाई रमाइलोकारूपमा हामीले आयोजना गर्न लागेका होइनौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)सँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेका छौं । ब्यानरमा नेफ्स्कुनको पनि लागो छ । सबैको समन्वय र सहकार्य हुनु पर्छ भन्ने किसिमले काम गरिरहेका छौं । यो समस्यालाई सुधार गर्नुपर्छ भनेर लागिरहेका छौं । संकल्प प्रस्ताव लिएर जान्छौं । त्यसमा १३ वटा बचत संघ र केन्द्रिय संघका अध्यक्षज्यूहरूले हस्ताक्षर गर्नुहुन्छ । हरेक विषयमा सामुहिकता खोज्ने प्रयास गरिरहेका छौं । मलाई विश्वास छ, यो सम्मेलनले एउटा राम्रो सन्देश प्रवाह गर्नेछ ।
सहकारी संघ संस्थाहरूले विभिन्न समयमा विभिन्न किसिमका सभा सम्मेलनहरू आयोजना गरिरहेका छन् । तर, ती कार्यक्रमहरू वार्षिक प्रतिवेदनमा यो गर्यौं भनेर मात्रै सीमित देखिन्छन्, बागमती साकोस समिट त्यसको एउटा फेहरिस्थ हो भन्ने बुझाइ धेरैको छ नी ?
हाम्रो अपेक्षा भनेको अहिलेसम्म भइरहेका कार्यक्रमको निरन्तरता होइन, क्रमभंगता हो । र, नयाँ किसिमको इनोभेसन हो । त्यसको एउटा मार्गचित्र यो सम्मेलन हो । हाम्रो आधारपत्रले अब सहकारीमा जे हिजो गरेका थियौं, त्यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ, अब संघहरू प्रतिस्पर्धी होइन सहकारी सदस्यको हित चाहने विषयमा केन्द्रित हुनुपर्छ । सबैको काम किटान हुनु पर्यो । त्यसमा आफूलाई परिचालन गरेर आफ्ना छाताभित्र आएका कामको दीगोपना दिने हो । त्यो काम गर्ने प्रतिवद्धताका लागि यो सम्मेलन हो ।
अहिलेको समान धारणा र बुझाइ भनेको सहकारीमा संकट सिर्जना भयो भन्ने नै छ । तर, यो संकटको समाधान कसरी गर्न सकिन्छ, कसले के काम गर्न सक्छ भन्ने विषयमा बहस, छलफल तथा सल्लाह सुझाव दिएको/लिएको देखिँदैन । तपाईंको बुझाइमा सहकारीको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ ?
बागमती साकोस समिटको मुख्य ‘थिम’ नै सहकारी अभियानको सुदृढिकरण, सहकार्य, एकता र विश्वास हो । यो तीन वटा विषयलाई लिएर अगाडि बढ्न सक्यौं भने अहिले समस्या समाधान गर्न सक्छौं । हामीले सहकार्य नगरेर एक्लाएक्लै हिड्यौं भने हामी हाम्रो गन्तब्यमा पुग्न सक्दैनौं । यो समिटपछि सहकारीले सहकार्य गर्नु पर्ने रहेछ भन्ने जागरुकता ल्याउँछौं । एउटा प्रारम्भिक संस्थामा सदस्य बनेको मान्छे र महासंघको अध्यक्षबीच कुनै फरक हुनु हुँदैन । तिनको भूमिका र जिम्मेवारी फरक होला । तर, उत्तरदायी समान हो । यी दुवैले आ–आफ्नो भूमिका निर्वाह नगरेको कारण आजको समस्या सिर्जना भएको हो । यो समस्याको निराकरण नै सहकार्य, एकता र विश्वास हो । एउटा वित्तीय संस्थामा एकैदिन सबै बचतकर्ताहरु बचत फिर्ता लिन आयो भने कुनै पनि संस्थाको क्षमता पुग्दैन । त्यसैले सहकारीमा विश्वासको आवश्यकता छ । केहीले बदमासी गरेर नै समस्या आएको हो । तर, धेरैलाई छिमेकीको सहकारी बिग्रियो, अब यसको पनि बिग्रन्छ भनेर अविश्वास गरेर बचत झिक्दा समस्या देखिएको हो । त्यसैले अब विश्वासको पनि आवश्यकता छ । सदस्यको विश्वास जागृत गर्नका लागि सबैको सहकार्य चाहिन्छ । त्यसपछि मात्रै हामी सहकारी बचाउन सक्छौं । यो समिटको मुल मर्म नै यही हो ।
सहकारी संकटमा पर्नुको कारण सञ्चालकको बदमासीले हो भन्ने बुझाइ अधिकांशको छ । यसमा सहकारीका व्यवस्थापकको भूमिका कत्तिको देख्नुहुन्छ ?
कसको कुन भूमिकाको कारणले सहकारी डुब्यो भनेर अनुमान गर्नु हुँदैन । विभिन्न सहकारी डुब्नुका फरक-फरक कारण छन् । सञ्चालकका कारण समस्या आएका पनि धेरै छन्, व्यवस्थापकको कमजोरीले खराब भएका पनि धेरै छन् । कर्मचारीकै कारण खराब भएका सहकारी पनि धेरै छन् । यो नैतिकताको प्रश्न हो । आन्तरिक शुसासन सबैभन्दा ठूलो विषय हो । सहकारी ऐन मान्ने किन नमान्ने भन्ने विषय पनि वैयक्तिक स्वतन्त्रतामा पर्दो रहेछ । कानुन आफैं परिचालन त हुँदैन । सहकारी ऐनले यो अवस्थामा सञ्चालक बन्न पाउँदैन भनेको छ । तर, सञ्चालक बन्छु भनेर बन्यो भने त्यहाँ पक्कै पनि केही न केही गडबढी छ भनेर बुझ्नु पर्छ । जब व्यक्ति सहकारीमा स्वार्थ र गलत नियतका साथ आउँछ त्यहाँ समस्या सिर्जना हुन्छ । निस्वार्थ सहकारीमा लागेकाहरूमा समस्या छैन ।
सहकारीका सञ्चालकहरूले मनलाग्दी किसिमले सहकारीको पैसा परिचालन गर्दा त्यो सहकारीमा काम गर्ने व्यवस्थापक र कर्मचारीहरू किन निरिह बनेको ?
सञ्चालक समिति निर्वाचित अंग हो । सञ्चालकले नै व्यवस्थापक तथा कर्मचारीहरूलाई नियुक्त गर्ने हो । हामीले जति जिम्मेवारी दियो त्योभन्दा बढी भूमिका यसले लिन पाउँदैन भन्ने बुझाइ सञ्चालकमा पनि पर्यो । व्यवस्थापकलाई धेरै शक्तिशाली बनायो भने हामीले भनेको टेर्दैन भन्ने गलत बुझाइका कारण खुम्च्याइएर राखिएको छ । कतिपय व्यक्तिहरूकोे काम व्यवस्थापक । तर भूमिका ‘एसम्यान’ बनेको देखिन्छ । जसले विवेक पुर्याउन सक्छ र आफ्नो स्वाभिमान अरूको स्वार्थका लागि बन्धक बनाउँदैन ती सहकारीहरुमा व्यवस्थापक राम्रो छन् । सहकारी संस्थाहरू पनि राम्रै छन् । तर, जहाँ व्यवस्थापक कमजोर छन् र सञ्चालक समितिले गरेको हरेक निर्णयमा ल्याप्चे लगाउने बानी परेको छ भने त्यस्तो सहकारीहरूमा समस्या देखिएको छ ।
सहकारीमा संकट सिर्जना हुँदा कतिपयले यो क्षेत्रको अस्तित्वमाथि नै प्रश्न उठाएका छन्, सहकारीमा देखिएको समस्या सुधार हुने संकेत कत्तिको देख्नुहुन्छ ?
भेन्टिलेटरमा पुगेर पनि धेरै बिरामीहरू फिर्ता भएका छन् । अहिले सहकारी अभियान भेन्टिलेटरमा पुगेको छैन । आईसीयूमा पुगेको छैन । यो जर्नल वार्डमा छ । तर, कठिन खालको रोगको सामना गरिरहेको छ । हामीले निश्चय पनि यसलाई सुधार गरेर अगाडि बढन् सक्छौं । हामीले अहिलेको अवस्थालाई सुद्धिकरणको रूपमा पनि बुझ्नुपर्छ । गलत मानसिकता भएकाहरू बाहिरिएर असल नियत भएकाहरू यही क्षेत्रमा रहन्छन् । र, पुनः पनि सहकारी अभियान सहज ढंगले अगाडि बढ्छ । तर, केही समय लाग्छ नै ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समस्यामा परेका सहकारीका सञ्चालक र कर्मचारीको सम्पत्ति छानविन गर्नु पर्ने राय सरकारसमक्ष राखेको छ, यसमा तपाईंको कुनै टिप्पणी छ ?
जहाँ समस्या परेको छ, त्यहाँ कुनै पनि कसर बाँकी राख्नु हुँदैन । सहकारी क्षेत्र सामान्य नागरिकको एक-एक पैसाले बनेको संयन्त्र भएकोले समस्यामा परेका सहकारीको उत्थानका लागि जे गर्न पनि तयार हुनुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.