२०८० फागुन २४ गते १५:१० विकासन्युज
नेपाल बीमा प्राधिकरणले बीमाको दायरा र पहुँच विस्तार गर्न विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीहरूले लाइसेन्स पाएको एक वर्षभन्दा बढी समय भए पनि बीमा व्यवसाय सुरू गरेको केही समयमात्रै भएको छ । यतिबेला कम्पनीहरू देशभरि शाखासञ्जाल विस्तारमा छन् । बीमा कारोबार गरिरहेका लघुबीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले भने उत्साहजनक व्यवसाय गरिरहेको देखिन्छ । गरिब, विपन्न वर्ग र कम आम्दानी भएका वर्गले बीमा गर्ने भएकाले सचेतनासँगै बीमा व्यवसाय गरिरहेको बीमाकर्मीहरू बताउँछन् । सुरुवाती चरणमा भएकाले लघुबीमा व्यवसाय गर्दा केकस्ता काम गरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालसँग विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीको अंशः
लघुबीमा कम्पनीहरूले कस्तो पर्फमेन्स गरिरहेका छन् ?
सरकारले माइक्रो इन्स्योरेन्स ल्याउने भनेर २०७५ सालमै योजना बनाएको थियो । तर, एक वर्षअघि मात्रै त्यो कार्यान्वयनमा आयो । नेपाल बीमा प्राधिकरणले ४ वटा निर्जीवन बीमा र ३ वटा जीवन बीमा गरी ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीले व्यवसाय सुरु गरेको ७/८ महिना मात्रै भएको छ । ग्रामीण क्षेत्रमा सीमान्तकृत वर्गको बीमा गराउने उद्देश्यले लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको हो । लघुबीमाका ग्राहकहरू सहरभन्दा ग्रामीण क्षेत्रका जनता हुन् । माइक्रो इन्स्योरेन्सका लागि धेरै सम्भावना छन् । ठूला बीमा कम्पनी (१४ वटा निर्जीवन बीमा)ले पनि लघुबीमा गरिरहेका थिए । तर, वृहत रूपमा जान चाहेका कारण लघुबीमा कम्पनीलाई अनुमति दिएको हो । लघुबीमा कम्पनीहरू गाउँगाउँसम्म पुगोस् भन्ने अपेक्षा सरकारको हो । पुराना बीमा कम्पनीहरूले सम्हाल्न वा समेट्न नसकेको क्षेत्रलाई लघुबीमाले समेटोस् भन्ने हो । निर्जीवन बीमा कम्पनीले गर्ने सम्पत्ति बीमा, कृषि बीमा, उद्योग व्यवसाय लगायतलाई लघुबीमा कम्पनीले समेट्छन् । यदि ग्रामीण क्षेत्रमा जान सक्ने हो भने लघुबीमाका लागि प्रशस्त बजार छ ।
लघुबीमालाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न अनुमति दिएको छ । त्यसैले ठूल्ठूला बीमा कम्पनीले समेट्न नसकेको क्षेत्र हामीले समेटिरहेका छौं । लघुबीमा कम्नीले सबै व्यवसाय गरिरहेको छ । कृषि प्रडक्ट बाहेक नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएका सबै प्रडक्ट बजारमा ल्याइसकेका छन् । कृषिको प्रडक्ट आउने तर्खरमा छ । लघुबीमा कम्पनीले सम्पत्ति, घर, फायर (आगलागि), इन्जिनियरिङ, दुर्घटना लगायत सम्पूर्णको बीमा गरिरहेका छन् । साथै, बैंक वित्तीय संस्था, सहकारी, लघुवित्तसँग सहकार्य गरेर व्यवसाय गरिरहेका छौं ।
कृषि बीमा प्रडक्ट ल्याउन किन ढिलाइ भएको हो ?
सरकारले कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिएको छ । निर्जीवन बीमा कम्पनीहरूले बीमा गर्दै आएका छन् । ८० प्रतिशत अनुदानको आधारमा किसानहरू बीमा गरिहरेका छन् । बीमा कम्पनीहरूले कृषि बीमा गरेवापत २ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । यो अन्यौलको स्थिती श्रृजना भएकाले लघुबीमा कम्पनीहरू कृषि बीमा गर्नबाट हिचकिचाएका छन् ।
लघुबीमा कम्पनीलाई लाइसेन्स दिँदा धेरै विरोध भएको थियो । सञ्चालनमा आइसकेपछि लघुबीमा आवश्यक जस्तो लाग्छ कि नभएपनि हुँदो रहेछ भनेर महसुस भएको छ ?
सीमान्तकृत वर्गलाई समेट्न ठूला कम्पनीले सकेनन् । ग्राहो समयमा लघुबीमा आएर पहुँच बढाउन ठूलो भूमिका निर्वाह गरिरहेका छन् । सीमान्तकृत वर्गमा बीमा पुर्याउन लघुबीमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । प्रादेशिकस्तरमा लाइसेन्स पाएका भएपनि सबै लघुबीमा कम्पनीले सबै ठाउँमा काम गरिरहेका छन् । कम्पनी सञ्चालनमा आइसकेपछि सीमान्तकृत वर्ग बीमामा समेटिएका छन् ।
लघुबीमा आइसकेपछि बीमा बजारमा नयाँ के देख्न पायौं ?
बीमा बजारमा बीमा सम्बन्धि जागरण अझै पुगेको छैन । सबै बीमा कम्पनीहरूले बीमा जागरण गर्न जरूरी छ । र, उहाँहरूलाई लघुबीमा हाम्रो लागि आएका हुन् । अन्य बीमा भन्दा सस्तो छ । हाम्रो सम्पत्तिको सुरक्षा गर्न बीमा कम्पनी आएका हुन् भनेर सन्देश दिन जरूरी छ । तुलनात्मक रूपमा ठूला बीमा कम्पनीभन्दा लघुबीमाको प्रिमियम कम छ भनेर जानकारी गराउन जरूरी छ । अझै कृषि बीमा प्रडक्ट आयो भने झनै कम प्रिमियम हुन्छ । लघुबीमा कम्पनीले कृषि बीमाको प्रिमियम अझै घटाउने तयारी गरिरहेका छन् । अधिकांशले लघुवित्त र लघुबीमा एउटै हो भन्ने धारणा बनाएका छन् । हामीले त्यसलाई चिरिरहेका छौं । लघुवित्तले लगानी गर्छ भने लगानीलाई सुरक्षित गर्ने काम लघुबीमाले गर्छ भनेर जानकारी गराइरहेका छौं ।
बीमाको दायरा नपुगेको क्षेत्र दूरदराजसम्म बीमाको पहुँच पुर्याउन लघुबीमालाई लाइसेन्स दिइएको थियो । तर, ठूला बीमा कम्पनी जहाँ थिए, लघुबीमा कम्पनीहरू पनि सोही क्षेत्रमा मात्रै सीमित भएका देखिन्छन् नी ?
कम्पनीको जन्म भइसकेपछि हुर्किन समय लाग्छ । लघुबीमा कम्पनीहरू बामे सर्दै छन् । कम्पनीहरूले आफ्नो प्रारम्भिक लगानी (चुक्ता पुँजी ७५ करोड)लाई सुरक्षित राख्दै व्यवसाय गर्ने र ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत वर्गलाई बीमाको पहुँचमा ल्याउने गरी काम गरिरहेका छन् । हामीले विभिन्न ठाउँहरूमा गएर बीमा सम्बन्धि जागरण कार्यक्रमहरू गरिरहेका छौं । साथै, स्टेकहोल्डरहरूसँग सँगसँगै अघि बढेका छौं । किसान, उद्यमी, बैंकर्स, उद्योग वाणिज्य संघ, स्थानीय निकायहरूलाई सँगै राखेर जागरण अभियान चलाएका छन् । प्रारम्भिक चरणमा अवश्य पनि कठिन हुन्छ । लघुबीमा कम्पनीहरूले विभिन्न जिंगल, मेला महोत्सव, घरदैलोमा गएर बीमा सम्बन्धि सचेतना दिएका छन् ।
पुराना बीमा कम्पनीहरूको व्यवसाय खोसेको आरोप लघबीमा कम्पनीहरूमाथि लागेको छ नी ?
हामीले पुरना बीमा कम्पनीहरूको व्यवसाय खोसेका छैनौं । बीमा कम्पनीहरूले समेट्न नसकेको ठूलो बजार छ । हामीलाई ठूला कम्पनीको व्यवसाय खोस्नै पर्ने स्थिती छैन । किनभने बीमामा नसमेटिएको बजारमा हामीले व्यवसाय गरिरहेका छौं । सहरमा गएर ठूल्ठूला बीमा गर्न लघुबीमालाई लाइसेन्स दिएको होइन । सीमान्तवर्गसम्म जाँदाखेरि विभिन्न माध्यम प्रयोग गरेको मात्रै हो । जनतालाई बीमाप्रति उत्साहित गराएर आफै ंबीमा गराउन लघुबीमाले काम गरिरहेका छन् । ठूला कम्पनीहरूको भन्दा लघुबीमा कम्पनीहरूको प्रिमियम दर पनि सस्तो छ । विभिन्न ठाउँमा गएर सस्तो प्रिमियम दरमा बीमा पोलिसी खरिद गर्नुहोस् भनिरहेका छौं । बीमा गर्दा तपाईहरूको सुरक्षा हुन्छ भनेर जनतालाई भनिरहेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूसँग पनि लघुबीमा कम्पनीहरूले सहकार्य गरेर अगाडि बढेका छन् ।
लघुबीमा कम्पनीहरूको प्राथमिकता पहुँच बढाउने हो की व्यवसाय विस्तार गर्ने हो ?
दुईटै हो । किनभने व्यवसाय नभई कुनैपनि कम्पनी सञ्चालन हुँदैनन् । प्यारालल्ली लिएर अघि बढ्ने हो । कम्पनीले व्यवसायसँगै सेवा पनि दिने हो । सेवा नभई कम्पनीको व्यवसाय पनि हुँदैन । व्यवसायलाई छाडेर पहुँचलाई मात्रै प्राथमिकता दिने हो भने कम्पनी चलाउन सकिँदैन । त्यसैले हामी सेवासँगै व्यवसाय पनि विस्तार गर्छाैं । कम्पनी बचाउन व्यवसाय चाहिन्छ । बीमाको माध्यमबाट व्यवसाय गर्दै जाने हो ।
तर, लघुबीमा कम्पनीहरूले व्यवसायमा फोकस गरेको भन्ने आरोप लागेको छ नी ?
जरूर होइन । किनभने लघुबीमा कम्पनीहरू प्रारम्भिक चरणमा छन् । आएको व्यवसायलाई हामीले छोड्ने कुरा हुँदैन । कोही हामीकहाँ आउनु हुन्छ भने नाई भनेर फर्काउन मिल्दैन । तर, हामी सहरी क्षेत्रमा मात्रै बसेर व्यवसाय गर्ने र ग्रामीण क्षेत्रलाई बेवास्ता गरेको भने होइन । ग्रामीण क्षेत्रका लागि कार्यक्रम तालिका बनाएर अघि बढिरहेका छौं ।
अभिकर्ताको आवश्यकता छ कि छैन ?
निर्जीवन लघुबीमा कम्पनीहरूलाई जीवन बीमा कम्पनीको जस्तो अभिकर्ता आवश्यकता छैन । प्रत्यक्ष रूपमा हामी अघि बढिरहेका छौं । यदि अभिकर्ताको माध्यमबाट जानु पर्ने स्थिती आयो भने पनि हामी तयार छौं ।
जनतामा बीमाको बुझाई कस्तो पाउनु भएको छ ? स्वस्फूर्तरूपमा बीमा गर्न आउने अभ्यास कस्तो छ ?
सहरिया वर्गमा बीमा सचेतना छ । जहाँ बीमा रकमको आकार पनि अनलिमिटेड, ठूला ठूला व्यवसाय, उद्योगहरू, गाडीहरूको बीमा गर्नु पर्ने हुन्छ । सहरि क्षेत्रमा बीमा गर्न त्यति धेरै गाह्रो छैन । तर, ग्रामीण क्षेत्रमा जाँदा कृषि क्षेत्र गाईपालन, भैसीपालन, बाख्रापालन गर्छन् । बैंकको लगानी भएका व्यवसायमा बीमासम्बन्धि सचेतना छ । जो नयाँ ग्राहक हुनुहुन्छ, उहाँहरूलाई कन्भिन्स गराउन प्रयासरत छौं । भर्जिन लाइनमा जाँदा प्रिमियम दर कम छ भनेर पनि जानकारी दिनु परेको छ । उहाँहरूलाई कन्भिन्स गराउन सकस छ । कतिपय त बीमा भनेर पनि आइरहनु भएको छ ।
लघुबीमा कम्पनीले सीमान्तकृत वर्गको बीमा गराउने हो । तर, उहाँहरूको आर्थिक अवस्था निकै कमजोर हुन्छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू प्रिमियम कसरी तिर्नु हुन्छ ? कसरी बीमा गर्नु हुन्छ ?
अहिले आर्थिक संकट छ । देशमा मन्दी आएको बेला सबैमा क्षेत्रमा समस्या देखिन्छ । व्यवसाय, कलकारखाना राम्रो चल्यो भने बीमाको व्यवसाय पनि राम्रो हुने हो । अहिले मन्दीबाट माथि उठ्ने गरी विभिन्न प्रयासहरू भइरहेका छन् । पक्कै पनि यस्तो अवस्थामा हामी जुन ठाउँमा पुग्नु पर्ने त्यो ठाउँ पुग्न गाह्रो छ । जुन गतिले अगाडि बढ्नु पर्ने त्यो गतिमा गाह्रो छ । भूकम्पबाट पीडित, स्वास्थबाट पीडित भएका वर्गलाई विभिन्न निकायको सहयोगमा बीमा गरिहेका छन् । राउटे, चेपाङ जातिको स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको छ । साथै, अन्य पिछडीएको क्षेत्रका जनताको पनि बीमा गर्ने तयारी भइरहेको छ । जसले प्रिमियम तिर्न सक्दैनन् उनीहरूलाई सरकार आफैले बीमा गर्नुपर्छ । हामीले प्रपोजल तयार बनाएका छौं ।
जस्तो कर्णाली प्रदेश सरकारले आफ्ना सबै नागरिकको बीमा गरेको छ । जाजरकोटमा भूकम्प जाँदा त्यहाँका नागरिकले दाबी भुक्तानी पाए । लघुबीमा कम्पनीहरू पनि त्यसैगरी अघि बढ्न खोजिरहेका छन् । एकैपटक मुलुकभरि नै बीमा गर्न सकिँदैन भने स्थानीय सरकारले आफ्नो पालिकाको कभर गर्न सकिन्छ । स्वास्थ्य, भूकम्प, कृषि लगायतको बीमा गराएर आफ्ना जनताको सुरक्षा सरकारले गर्न सक्छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले के गरिरहेको छ ? आगामी तीन वर्षमा कम्पनी कस्तो हुन्छ ?
नेपाल माइक्रोइन्स्योरेन्सले हालसम्म ९ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । पूर्वमा इटहरीदेखि पश्चिममा नेपालगन्जसम्म शाखा कार्यालय खोलिसकेको छ । निकट भविष्यमा महेन्द्रनगर र बिर्तामोडमा शाखा खोल्ने तयारी छ । लघुबीमा भएकाले थोरै मान्छेले धेरै सेवा दिने लक्ष्य हो । हाईफाई गरेर धेरै अफिस खोलेर धान्नै नसक्ने गरी हामी अघि बढ्दैनौं । सानो अफिसले नै चारैतिर धान्नेगरि काम गरिरहेका छौं । एकातिर जाँगरण अभियान चलाएका छौं भने अर्काेतिर व्यवसाय विस्तारमा जोड दिएका छौं । जहाँ आवश्यक छ त्यहाँ काउन्नटर विस्तार गर्ने योजना छ ।
एउटा बाटोमा हिडेपछि कम्पनीलाई दीर्घकालिन बनाउने गरी काम गरिरहेका छौं । हामी आफ्नै गतिमा हिडिरहेका छौं । व्यवसाय गर्दा सकारात्मक प्रतिक्रिया आएका छन् । जसले गर्दा हामी उत्साहित भएका छौं । कम्पनीका लगानीकर्तालाई पनि उच्च प्रतिफल दिने गरि व्यवसाय गरिरहेका छौं । र, सरकारको उद्देश्य पनि परिपूर्ति गर्न लघुबीमा कम्पनी लागिरहेका छन् । अहिले हामी बजार विस्तारमा छौं । ग्राहक बनाउने मात्रै नभई जोगाइराख्ने हाम्रो उद्देश्य हो । अहिलसम्मको तथ्याङ्क हेर्दा नेपाल माइक्रो इन्स्योरेन्सको अग्रस्थानमा छ ।
ठूला कम्पनीले पनि लघुबीमा गर्दै आएका छन् । अब लघुबीमा आईसकेपछि ठूला कम्पनीलाई लघुबीमा गर्न रोक लगाउनु आवश्यक छ ?
जुन उद्देश्यले नियामकले लघुबीमालाई लाइसेन्स दिएको हो, सोही प्रयोजनामा जानुपर्छ । लघुबीमालाई ५० लाखसम्मको मात्रै बीमा गर्न दिइएको छ । तर, ठूला बीमा कम्पनलाई साना र ठूला दुइटै बीमा गर्न दिइएको छ । त्यसैले नियामकले हामीलाई जन्माइसकेपछि हुर्काउने दायित्व पनि हो । ठूलासँग प्रतिस्पर्धा गरेर हामी अघि बढ्न सक्दैनौं । जनतालाई सुविधा दिन हामीलाई जोगाउन नियामकले सोच्नुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.