२०८० फागुन २५ गते १७:१६ विकासन्युज
काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी ।
एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा रमाउँथिन् भने छोरा विद्यालयमा रमाउँथे ।
विरहका गीतहरू गायर छोरीहरूका दन बित्थे । तर, अहिले समय बदलिएको छ । छोरीहरू चुलो–चौकामा मात्र सीमित होइन, देशको विभिन्न क्षेत्रको नेतृत्व गर्ने पदमा पुगिसकेका छन् । सामाजिक, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा महिलाको सहभागिता छ ।
शिक्षा क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दै गएको छ । छोरीलाई पढाउनुपर्छ भन्ने चेत अभिभावमा छ । हेरक क्षेत्रमा कतिपय यस्ता नारीहरूछन् जसले त्यो क्षेत्रको नेतृत्व गरिरहेका छन् । इन्जिनयर, पाइलट र चिकित्सा क्षेत्रमा मात्र होइन राजनीतिकरूपमा पनि महिला अगाडि देखिन्छन् ।
परिवार, समाज र देशमा यस्तो परिवर्तन आउनुको कारण शिक्षा हो । शिक्षाले सही, गलत सबै छुट्याउँछ । नेपाली शिक्षा क्षेत्रमा पनि महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न निजी क्षेत्रबाट सञ्चालित कलेजमा पनि महिलाले नेतृत्व गरिरहेका छन् ।
काठमाडौँ बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् प्रदिप्ता कादम्बरी । २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् ।
प्रदिप्ताको घर ललितपुर हो । उनी काठमाडौंमै हुर्किन्, पढिन् । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् ।
उनी यो पेसामा लागेको २४ वर्ष भयो । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेको थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरू गरिन् । तब उनलाई युवाहरूसँग इंगेज हुन रमाइलो लाग्यो ।
त्यसपछि उनी सन् २०१३ उनी सामाजिक कार्यतर्फ लागिन् । उनले सुत्र नामक एउटा संस्थामा काम गरिन् । ४ जना अस्ट्रेलियाली सोसलवर्करसँग ५ वर्ष नेपालमा काम गरिन् ।
प्रदिप्ताले सोसलसाइन्सबाट स्नातकोत्तर गरिन् । उनले इन्टरनेश्नल फ्याम्ली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् । उनले सन् २०१५ बाट कादम्बरी मेमोरियल कलेजको प्रमुखको जिम्मेवारी सम्हालिएकी हुन् । उनलाई शिक्षण पेसा सबैभन्दा राम्रो लाग्छ् । ‘शिक्षाले कहिले पनि कमजोर गराउँदैन, मलाई यो पेसा सबैभन्दा राम्रो लाग्छ,’ उनले भनिन् ।
डनबस्को सम्हालिरहेकी रश्मि
काठमाडौंको लाजिम्पाटमा रहेको काठमाडौं डनबस्को कलेजको नेतृत्वदायी भूमिकामा छिन रश्मि शर्मा मैनाली । उनले लामो समय देखि कलेजको प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
उनको पहाड घर पर्वत भएपनि उनी काठमाडौंमा जन्मिन्, हुर्किन् । उनले स्नातक तहसम्मको पढाइ भने भारतको सिलाङबाट गरिन् । भारतमा पढेर फेर्केर नेपाल आइन् । नेपाल आएर शिक्षण पेसामा लागेकी उनी पनि अहिले यही क्षेत्रमा रमाइरहेकी छिन् ।
२३ वर्षदेखि एपेक्सको नेतृत्वमा दुर्गा
काठमाडौंको मध्ये बानेश्वरमा रहेको एपेक्स कलेजको जिम्मेवारी २३ वर्षदेखि दुर्गा रिजालले सम्हाल्दै आएकी छन् । विद्यार्थीकालमा राजनीतिमा लागेकी उनी त्यसपछिका समयमा भने नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरिन् ।
पञ्चायती प्रतिबन्धकाबिच विद्यार्थी राजनीतिमा संलग्न रीजाल त्यसपछि निरन्तर शिक्षा सेवामा समर्पित भइन् । अमेरिकाबाट उच्च शिक्षा हाँसिल गरेकी उनी नेपालमै रहेर शिक्षण पेशामा आवद्ध रहेर एपेक्स कलेज हाँकिरहेकी छन् ।
सगरमाथामा छिन् दक्षिणा
ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजले स्थापनाकालदेखि नै इन्जिनियर उत्पादनमा विशेष योगदान पुर्याउँदै आएको छ ।
इन्जिनियरिङ शिक्षासँगै विद्यार्थीको भविष्यका लागि समेत मार्ग निर्देशन केन्द्रित रहेको कलेजको दाबी छ । त्यही कलेजको नेतृत्वमा छिन् ई.दक्षिणा श्रेष्ठ । पहिले सह-प्रचार्यको भूमिका रहेकी उनि अहिले कलेजको प्रधानाध्यापकको रूपमा काम गरिरहेकी छिन् ।
काठमाडौँको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजको नेतृत्व तहमा छिन् सम्झना बस्न्यात । २० वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी विगत १२ वर्षदेखि कलेजको प्राचार्यको रूपमा काम गरिरहेकी छन् ।
उनलाई शिक्षक भएर अध्यापन पेशामा रम्छु भन्ने लागेको थिएन तर, जब उनी यो पेशामा आइन् तब उनलाई अन्त सोच्नु परेन ।
‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ उनी भन्छिन्, ‘आफूमा भएको ज्ञान, शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो हो, अहिले मलाई शिक्षण पेसा नै रमाइलो लागिरहेको छ ।’
अनामिकाको कमाण्डमा क्याम्पियन कलेज
नेपालमा विवाह गरेर आएकी अनामिका श्रीवास्तव २५ वर्षदेखि शिक्षण पेशामा आवद्ध छिन् । उपत्यकाका विभिन्न स्कुल र कलेजमा अध्यापन गराउँदै आएकी उनी अहिले ललितुरको सानेपामा रहेको क्याम्पिन कलेजको प्राचार्यकारूपमा काम गरिरहेकी छन् ।
भारतको बिहार घर भएकी उनी रौतहटको गौरमा बिहे गरेर आएपछि शिक्षण पेशामा आवद्ध भएकी हुन् । फरक देश, फरक भाषा, चालचलन सबै फरक समाजबाट आएकी उनलाई नेपाल आएर शिक्षण पेशामा लाग्न भने उत्तिकै चुनौती थियो ।
तर, उनले हार मानिनन् । भाषामात्र होइन नेपालको रहनसहन तथा परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । काठमाडौंको नोबेल एकेडेमीबाट अध्यापन यात्रा सुरु गरेकी उनले सेन्टजेभियर कलेज, भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा समेत अध्ययापन गराएकी थिइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.