२०८० फागुन २६ गते १७:०५ विकासन्युज
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए ।
प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे ।
नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ ।
गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए ।
त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो ।
सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारणसभाको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश सुनाइएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.