२०८० चैत १५ गते ११:५० इन्द्रसरा खड्का
काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले देखाउँछ । पहिले एक दम्पत्तिबाट ५/६ जनासम्म सन्तान जन्माउँदा ३/४ जना छोरी हुन्थे । छोराको संख्या कमै हुन्थ्यो । तर, आजभोलि ठ्याक्कै उल्टो देखिन थालेको छ । अर्थात, छोरीभन्दा अहिले छोराको संख्या बढ्दै गएकाे छ । उदाहरणका लागि चैत १५ गते (आज)देखि सुरु हुने एसईई परिक्षाका विद्यार्थीलाई लिन सकिन्छ । जहाँ छात्राभन्दा छात्रको संख्या बढी छ ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५३ हजार ६ सय २७ छात्र छन् भने छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ छ । यो वर्ष परीक्षा दिने विद्यार्थीमा २ हजार ८ सय ५५ छात्र बढी छन् । र १५ जना अन्य छन् ।
२०७९ को एसईई परीक्षामा पनि छात्रको संख्या नै बढी थियो । २०७९ मा कुल ५ लाख १६ हजार ५ सय ७७ परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५५ हजार ९सय १७ थियो भने छात्रको संख्या २ लाख ६० हजार ६सय ७४ थियो । यो संख्या छात्राको तुलनामा करिब ५ हजार बढी हो ।
२०७८ सालको एसईईमा पनि छात्रभन्दा छात्रा ३८ ले मात्रै बढी थिए । कुल ४ लाख ८५ हजार ३ सय ९६ जम्मा परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र छात्रको संख्या २ लाख ४२ हजार ६सय ७४ रहेको थियो ।
त्योभन्दा पहिलेको दुई वर्षमा भने एसईई परिक्षा नै भएन । कोरोना महामारीका कारण विद्यालय आफैंले विद्यार्थीलाई आन्तरिक मुल्यांकन गरेर अंक प्रदान गर्दा छात्र वा छात्राको संख्या कसको बढी थियो भन्ने एकिन छैन । राष्ट्रिय परिक्षा बोर्डका अनुसार विगतका दुई/तीन वर्षदेखि एसईई दिनेमा छात्रको संख्या बढ्न थालेको छ ।
अहिले १० कक्षाभन्दा मुनिको कक्षामा छात्रको संख्या नै बढी रहेको पाइन्छ । विज्ञहरू भने अबको चार/पाँच वर्ष नेपालमा सन्तान जन्माउने दर र लिंग पहिचान गर्ने काननी छुट भइरहने हो भने आगामी दिनमा अवस्था भयावह हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन विषयका प्रोफेसर महेन्द्रप्रसाद शर्मा १५ वर्ष मुनिका बालबालिकामा बालकको संख्या बढी भएकाले परिक्षार्थीमा पनि बालकको संख्या बढी भएको बताउँछन् ।
बालिकाभन्दा बालक धेरै
नेपालको जनगणना २०७८ अनुसार नेपालमा बालिकाभन्दा बालकको संख्या बढी छ । जसमा चार वर्ष मुनिको बालक १२ लाख ९० हजार ५ सय २५ (४.४) प्रतिशत हुँदा बालिकाको संख्या ११ लाख ४८ हजार ७ सय ५७ (३.९) प्रतिशत छ । यस्तै ५ वर्षदेखि ९ वर्ष उमेर समूहका बालबालिकामा पनि बालकको संख्या बढी छ । जसमा १४ लाख ४३ हजार ४ सय ५ (४.९) प्रतिशत बालक र १३ लाख २३ हजार २२ बालिका (४.५) प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष समूहमा पनि बालकको संख्या बढी छ । १४ लाख ९५ हजार ९ सय ५४ (५.१)बालक र १४ लाख १३ हजार ९ सय ११ (४.८) प्रतिशत बालिका छन् ।
यसरी हेर्दा नेपालमा १५ वर्ष मुनिका बालिकाभन्दा बालकको संख्या बढी छ । नयाँ जनगणनाअनुसार बालकको संख्या बढी भएकाले यसको असर दीर्घकालीनरूपमा पर्ने जनसंख्याविदहरू बताउँछन् । तर, समाजशास्त्री टिकाराम गौतम विगतका वर्षमा केटीहरूको संख्या बढी रहेको बताउँदै अहिले केटाहरूको संख्या बढीलाई समान्यरूपमा लिन्छन् ।
लिंग पहिचान गर्नेको संख्या बढ्यो
प्राकृतिक नियमअनुसार छोराभन्दा बढी छोरी जन्मन्छन् । विश्वका कयौं देशमा हेर्दा यस्तै देखिन्छ । नेपालमा पनि १ सय ७ जना छोरी जन्मदा छोराको संख्या १ सय हुन्छ । तर, पछिल्लो समय प्राकृतिक नियम तोड्दै दम्पत्तिहरू छोरा जन्माउन थालेका छन् । विभिन्न प्रविधिको विकाससंँगै छोरा जन्मने संख्या बढ्न थालेको जनसंख्याविद्हरू बताउँछन् । जनसंख्याविद् शर्मा नेपालमा गर्भको बच्चा छनोट गरेर जन्माउने चलन बढेकाले छोराको संख्या बढ्दै गएको बताउँछन् ।
नेपालमा अहिले बढीमा दोस्रो नभए एकल सन्तान जन्माउने प्रचलन बढेको छ । ‘पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानका लागि धेरैले दुःख गर्दैनन्, तर पहिलो सन्तान छोरी हुँदा अधिकांशले छोराका लागि अर्को सन्तान खोज्छन्,’ उनी भन्छन्,‘अहिले मान्छेलाई लिंग पहिचान गरी जन्माउने अधिकार छ यसैको परिणाम स्वरुप यस्तो देखिएको हो ।’
समाजशास्त्री टिकराम गौतम पनि बलियो कानुन नहुनु र गर्भको बच्चा पहिचान गरी छोरा राख्ने प्रवृत्तिले छोराको संख्या बढेको बताउँछन् ।
नेपालको कानुनले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको बच्चालाई पतन गर्न पाउने अधिकार दिएको छ । यदि जबरजस्ती करणी, हाडानाता करणीको गर्भ छ वा गर्भपात नगराएमा ज्यानै जानेसम्मको अवस्था भए २७ हप्तासम्म पनि पतन गराउन सक्ने भनेको छ । योभन्दा बाहेक अन्य अवस्थामा गर्भवती महिलाको स्वीकृती विना करकाप, धाक धम्की गराइ बच्चा फाल्न लगाए अथवा गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी गर्भपात गराएको खण्डमा भने दण्डको व्यवस्था गरेको छ ।
मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८ (ग) मा गर्भमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीन महिनादेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ ।
यस्तै मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
पुरुषको संख्या बढी हुँदा कस्तो पर्छ प्रभाव ?
जनसंख्याका जानकार नेपालका दम्पत्ति एउटा त्यसमा पनि छोरामात्र जन्माउन थालेको १० वर्ष भएको बताउँछन् । समाजशास्त्री गौतम अहिले बढीमा दुई सन्तान जन्माउने त्यसमा पनि छोरा बढी हुने समाजको स्वरूप फेरिएको बताउँछन् । उनी अबको ८/१० वर्षमा पनि यही रेसियोमा दम्पत्तिले सन्तान जन्माउने हो भन् अबको १०/१५ वर्षमा छात्रा नहुने, भए पनि कम मात्र हुने बताउँछन् ।
अहिलेको मात्र संख्याले भोलि समाज कता जान्छ भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँदै उनी अबको केही वर्षको रेसियोलाई हेरेर समाजमा कस्तो असर पर्छ भन्न सकिने बताउँछन् । प्राध्यापक एवं जनसंख्याका जानकार नीर कुमार राई यस्तै अवस्था लगातार रहने हो भने समाजमा हिंसाका घट्ना बढ्दै जाने बताउँछन् । उनी भन्छिन्,‘केटाको संख्या बढ्यो भने उसलाई आफ्नो जोडी भेटाउन गाह्रो हुन्छ जसको परिणाम समाज हिंसाजनक गतिविधि बढी हुन्छन् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.