२०८० चैत १६ गते १७:१४ इन्द्रसरा खड्का
काठमाडौं । अछामको कमलबजार नगरपालिका ७ सेराका चन्द्र भाट स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्रथम वर्षको नतिजा नआउँदै उनी दोस्रो वर्षको परीक्षाको तयारीमा थिए । किनकि त्रिभुवन विश्वविद्यालयले स्नातक दोस्रो वर्षको परीक्षा चैत २८ गते गर्नु भनेर कलेजहरूलाई निर्देशन दिइसकेको थियो । पहिलो वर्षको परीक्षाफल नआउँदै दोस्रो वर्षको तयारीमा रहेका उनले फेरि पहिलो वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको परीक्षा दिनुपर्ने भयो । किनकि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका गायव भए । उत्तरपुस्तिका नै नपाएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कलेजहरूलाई पुनः परीक्षा दिन निर्देशन दियो ।
चन्द्र अहिले फेरि ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ परिक्षाको लागि तयारी गर्दैछन् । ‘नतिजा आएर विषय लागेको भए परीक्षा दिन पनि खुसी नै लाग्थ्यो तर, एक वर्षसम्म पर्खाइमा बसेका हामीलाई नतिजा नै प्रकाशन नगरी परीक्षा दिन लगाउनु त्रिविको लापरवाही हो,’ उनी भन्छन्, ‘यो त्रिविले हामी विद्यार्थीमाथि गरेको खेलबाड हो, एक समयमै परीक्षाफल प्रकाशन हुँदैन, फेरि त्यही विषयको परीक्षा हामीले पटक पटक कति दिने ?’
परीक्षा नियन्त्रणको लापरवाहीले मानसिक तनाव थपिएको चन्द्र बताउँछन् ।
‘पहिलो वर्ष परीक्षा दिएका विद्यार्थी अहिले सबै घरमा छैनन्, कोही काम विशेषले भारत गएका छन् । अहिलेको छोटो समयमा सबै विद्यार्थीलाई घर फर्केर परीक्षा दिन पनि समस्या रहेको उनको भनाइ छ । अछाम भौगोलिक रुपमा विकट छ । सबै ठाउँमा सञ्चारको राम्रो सुविधा छैन । कतिपय विद्यार्थी कलेजमा भर्ना हुने, भारत गएर कमाउने र परीक्षामा मात्र सहभागी हुने गर्छन् । यो उनीहरूको बाध्यता हो ।’ चिन्तित हुँदै उनी भन्छन्- ‘कतिपयलाई फेरि परिक्षा हुँदैछ भन्ने नै थाहा नै छैन होला, पढेको सबै बिर्सिसकियो अब परीक्षा हुँदा के लेख्ने ?’
अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ ।
अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बिष्ट उत्तरपुस्तिका हराउनु दुःखद भएको बताउँछन् । उनी त्रिविको यस्तो लापरवाहीले विद्यार्थीलाई समेत असर गरेको बताउँछन् । रिजल्टको पर्खाइमा बसेका विद्यार्थीलाई फेरि परीक्षा दिनुपर्दा मानसिक रुपमा समेत समस्या भएको छ,’ उनी भन्छन्, ‘परीक्षा दिएका विद्यार्थी कोही कतै, कोही कतै छन्, पनिकाले चाँडै परीक्षा लेउ भनेको छ, यस्तो हुँदा धेरै विद्यार्थी छुट्छन् की भन्ने पीर छ ।’ पनिकाको सूचना पाए लगत्तै सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियोमा सूचना प्रशारण गरेर परीक्षाको तयारीमा लाग्न भनिएको क्याम्पस प्रमुख बिष्ट बताउँछन् ।
अछामकै कमलबजार बहुमुखी क्याम्पस प्रमुख पूर्ण धमला पनि त्रिविको यो ठूलो लापरबाही भएको बताउँछन् । एक पटक परीक्षा दिइसकेका विद्यार्थीलाई पटक पटक परीक्षा दिन लगाउँदा सबै परीक्षार्थी सहभागी हुन सक्ने अवस्था छैन । उनी भन्छन्, ‘अब हामीसँग परीक्षा लिनुको विकल्प छैन, जे माथिबाट निर्देशन आयो हामीले त्यही पालना गर्नुपर्छ यसो नगरे विद्यार्थीलाई पनि समस्या, तर यो त्रिविको लापरबाही हो ।’ यही कारणले त्रिविप्रतिको विश्वास घट्दै गएको धमला बताउँछन् ।
चितवनको रत्ननगरमा रहेको शहिद स्मृती बहुमुखी क्याम्पसका १७ विद्यार्थीले दिएको उत्तरपुस्तिका पनि हराएको छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी-४२२’ विषयको उत्तर पुस्तिका हराएको भन्दै फेरि परीक्षा गर्न भनेकाले अहिले त्यसैको तयारीमा क्याम्पस लागेको छ ।
क्याम्पस प्रमुख बुद्धिराज सेढाइले पनिकाको लापरवाहीले विद्यार्थीलाई पुनः परीक्षाको तयारी गर्नुपर्ने हैरानी भएको बताउँछन् । उनी भन्छन्- ‘अब निर्देशन आइसकेपछि हामीले परीक्षा गर्नैपर्छ, अहिले विद्यार्थीलाई सूचना दिने, जानकारी गराउने काम गरिरहेका छौं, अब परिक्षाको विकल्प छैन ।’
भावी दिनमा त्रिविले ध्यान दिनुपर्ने सेढाइ बताउँछन् ।
पटक पटक लापरवाही
त्रिभुवन विश्वविद्यालयले गएको बैशाखमा लिएको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ र ‘पपुलेशन एण्ड हेल्थ ४२२’ को उत्तरपुस्तिका हराएका छन् । परीक्षा लिएको एक वर्षसम्म पनि परीक्षाफल सार्वजनिक नभएपछि उत्तरपुस्तिका नै हराएको रहस्य बाहिर आएको हो । उत्तरपुस्तिका हराउनु परीक्षा नियन्त्रण कार्यालयको यो पटकको मात्रै लापरवाही हैन । गएका वर्षहरूमा पनि धेरै पटक उत्तरपुस्तिका हराएका उदाहरण छन् । गएको वर्ष बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा फेरि परीक्षा सञ्चालन गरिएको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराउँदा एक वर्षपछि करिब साढे २ सय विद्यार्थीले फेरि परीक्षा दिएका थिए । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो ।
२०७४ सालमा पनि यस्तै भएको थियो । तत्कालिन समयमा बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्ने बेलामा सिन्धुली बहुमुखी क्याम्पसका ६९ जना विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । ती विद्यार्थीले पनि फेरि परीक्षा दिनुपरेको थियो । यस्ता थुप्रै गल्तीहरु परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गर्दै आएको छ । एउटै गल्ती पटक पटक दोहोरिँदा पनि त्रिविले पनिकालाई कारबाही गरेको रेकर्ड भने खासै भेटिन्न ।
प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धांकपत्र वितरणको जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई हुन्छ । यति काम गर्दा वर्षेनी केही न केही त्रुटी गरिरहेकै हुन्छ । परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रक पवन बराल उत्तरपुस्तिका हराएको स्वीकार्दै यो विषयमा छानविन भइरहेको बताउँछन् । कसरी हरायो, के भयो भन्ने विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिरहेको उनले बताए । उनले भने– ‘हामीले हराएका विषयको फेरि परीक्षा लिने तयारी गरिरहेका छौं, सूचना निकालेर सम्बन्धित कलेजलाई परीक्षा गर्न भनिसकेका छौं अब चैत्र २१ गते पुनः परिक्षा हुन्छ ।’ यसमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा बरालले भने- ‘हामी यसको लागि आन्तरिक छलफल गरिरहेका छौं बाँकी सबै पछि प्रतिवेदनमा आउँछ ।’
विद्यार्थीको समय बर्वाद र मानसिक तनाव
त्रिभुवन विश्वविद्यालय नेपालका विश्वविद्यालय भन्दा सबैभन्दा जेठो हो । मुलुकको उच्च शिक्षामा करिब ८० प्रतिशत हिस्सा ओगटेको त्रिविको शाख भने गुम्दै गएको छ । त्रिविले पटक पटक गर्ने यस्ता लापरवाहीले विश्वास गुम्दै गएको शिक्षाका जानकारहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक कपिल श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गैर जिम्मेवार काम गर्दै आएको बताए । उनी यस्तो लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । विद्यार्थीलाई पटक पकट एकै विषयमा जाँच दिन लगाउनु भनेको यातना दिनुजस्तै हो,’ उनी भन्छन्- ‘यातना दिनुलाई अपराधिक कार्य मानिन्छ, उत्तरपुस्तिका हराएर विद्यार्थीलाई यातना दिनेमाथि कारवाही हुनै पर्छ । विद्यार्थीको समय बर्वाद गरी मानसिक तनाव दिएको भन्दै श्रेष्ठ पहिले यो कार्यमा संलग्नलाई कारवाही गरेर मात्र त्यसपछि छलफल गर्नुपर्ने बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. विदुर फुयाल यो पनिकाको गम्भीर लापरवाही र त्रुटी भएको बताउँछन् । उनले यस्तो लापरवाहीले त्रिविको विश्वास र शाखमै आँच पुगेको बताए । ‘पटक पटक यस्तै अवस्था दोहोरियो, यसको मतलब अब बल्खुले मात्र सबै धान्न सक्ने अवस्था रहेन,’ उनी भन्छन्- ‘अब बल्खुले अधिकार अरूलाई पनि दिन सक्नुपर्यो, ६० वटा आंगिक र १ हजार बढी क्याम्पसको जिम्मा अब एक्लै बल्खुले लिन सक्दैन उसले आफ्नो अधिकार दिन सक्नुपर्छ ।’
साथै, लाखौं विद्यार्थीको भविष्यको जिम्मा लिएको त्रिविले यस्तो गैर जिम्मेवारीपन देखाउनु विद्यार्थीको भविष्यमाथि खेलबाड भएको विज्ञहरू बताउँछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.