२०८० चैत २१ गते १९:२६ नारायण अर्याल
काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी ठूला लगानकर्ताको सहभागिता नहुने संकेत देखिएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । यसले पनि विदेशी ठूला उद्योगी व्यवसायीहरू सहभागी नहुने संकेत देखिएको हो ।
लगानी सम्मेलनमा बढी भन्दा बढी विदेशी लगानीकर्ताहरुलाई ल्याउने उद्देश्यले औपचारिक आमन्त्रण गर्ने काम पनि भइरहेको लगानी बोर्डले बताएको छ । लगानी सम्मेलनको लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले बताए ।
उनका अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका ६० वटा संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिता जनाउने निश्चित भएको छ ।
प्रवक्ता उपाध्यायकाअनुसार विश्वको ठूलो देश मध्येको चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसनले पनि लगानी सम्मेलनमा सहभागिता जनाउन नसकिने सन्देश पठाइसकेको छ ।
यस्तै, भारतका ठूला लगानीकर्ता गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व पनि नहुने बुझिएको उपाध्यायले बताए । लगानी सम्मेलनमा एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागी हुने वा नहुने विषयको सन्देश लगानी बोर्डलाई प्राप्त भएको छैन ।
‘चिनियाँ लगानीकर्ता ज्याकमा फाउन्डेसनले सहभागी हुन असमर्थ हुने जानकारी गराएको छ, मिडियामा गौतम अडानी, मुकेश अम्बानी, एलन मस्क लगायत सम्मेलनमा सहभागी हुने भन्ने विषय आइरहेको थियो । तर, हामीलाई कुनै औपचारिक जानकारी आएको छैन,’ उपाध्यायले भने, ‘हामीले ढिलो निमन्त्रणा गरेर पनि हुन सक्छ ।’
१३२ आयोजना प्रदर्शन गरिने
तेस्रो लगानी सम्मेलनमा सरकारको तर्फबाट १३२ वटा विभिन्न आयोजना प्रदर्शन गरिने भएको छ । जसमध्ये तीन वटा आयोजना प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) गर्ने स्तरमा तयार भएको बोर्डका प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ती प्रोजेक्टमा दमक औद्योगिक पार्क, राइजिङ सोलार र मस्र्याङ्दी–२ जलविद्युत आयोजनालाई सम्मेलनमा पीडीए स्तरमा प्रस्तुत गरिनेछ ।
त्यस्तै, सम्मेलनमा डाबर नेपालको क्षमता विस्तार र विविधिकरणका लागि पीआईए हुनेछ । त्यसबाहेक १५ वटा आयोजना एक्प्रेसन अफ इन्ट्रेस्ट (इओआई)का लागि तयार गरिएको उपाध्यायले बताए । त्यसैगरी मार्केट साउन्डिङ प्रोजेक्ट ११ वटा, आइडिया स्तरका ३७ वटा आयोजना, २६ वटा प्रोजेक्ट लगानीको खोजीमा रहेका र २६ वटा विभिन्न आयोजनाहरु निजी क्षेत्रका रहेका छन् । स्थानीय स्तरका ४ वटा र अन्य विभिन्न ९ वटा आयोजनाहरू सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको छ ।
प्रवक्ता उपाध्यायकाअनुसार अहिलेसम्म निजी क्षेत्रबाट ७ आयोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने तयारी भएको छ भने १२ वटा आयोजना खनिज क्षेत्रका रहेका छन् । ‘सात वटा परियोजनाहरू निजी क्षेत्रबाट आएका छन्, १२ वटा परियोजना खनिज क्षेत्रका छन्,’ उनले भने, ‘ती क्षेत्रमा यति मात्रामा खनिज छ भन्ने अध्ययन भइसकेको छ, प्रतिस्पर्धाबाट छनौट गर्नेगरी प्रस्तुत गर्ने तयारी छ ।’
तर, सम्मेलनको अवधिसम्म आयोजनाहरूको संख्या बढ्न सक्ने प्रवक्ता उपाध्यायले बताएका छन् ।
अमेजिङले व्यवस्थापन गर्ने
पाँच तारे सोल्टी होटेलमा हुने तेस्रो लगानी सम्मेलनमा स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले गने भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरिन कमनवेल्थ डेभलपमेन्ट अफिसको फन्डिङमा हुने सो सम्मेलनमा सोही दाताले नै व्यवस्थापन पक्ष छनोट गरेको हो ।
‘सम्मेलनमा प्राविधिक व्यवस्थापनको कामको लागि फन्डिङ गर्ने निकाय एफसीडीओले नै छनौट गरेको हो । तर, त्यसको सञ्चालन भने हामीले नै गर्ने हो, अमेजिङले यस भन्दा अगाडिका सम्मेलनको पनि व्यवस्थापन गर्दै आएको थियो,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.