२०८० चैत २३ गते १९:१५ विकासन्युज
काठमाडौं । इस्लिङ्टन कलेजले १५७ जना विद्यार्थीलाई साढे चार करोडको एएए छात्रवृत्ति प्रदान गरेको छ । कलेजले एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति दिएको हो ।
प्राज्ञिकता, उपस्थिति तथा हाजिरी र आचरणलाई एकै सुत्रमा बांध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले बताएको छ ।
यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतिपूर्ण सावित भएको कलेजको भनाई छ । अन्त्यमा कलेजले लगभग ४ करोड ५ लाख पुरस्कारराशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेको हो । यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
कलेजका अनुसार यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको जसले गर्दा उनीहरुको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने कलेजको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.