२०८० चैत २९ गते १५:१५ डा. विकास श्रेष्ठ
कुनै पनि रोग लाग्नुभन्दा अगाडि समय समयमा गरिने स्वास्थ्य परीक्षणलाई नियमित स्वास्थ्य परीक्षण भनिन्छ । नियमित स्वास्थ्य परीक्षणबाट हामीले रोग लाग्न भन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिमहरू छन् की कुनै रोगको लक्षण नहुँदा पनि हुने संकेतहरु छन् कि भनेर हेरिन्छ । यदि रोग लागेको देखि हाले पनि समयमा नै उपचार गरि त्यसको जटिलताबाट बच्न सकिन्छ । नियमित स्वास्थ्य परीक्षण बालक जन्मनुभन्दा पहिले गरिएको भिडियो एक्सरेबाट सुरु हुन्छ ।
नियमित स्वास्थ्य परीक्षण कस्तो व्यक्तिलाई आवश्यक छ ?
जुन व्यक्तिमा कुनै पनि रोगको जोखिम छ त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । जस्तै, उदाहरणका लागि मोटोपन भएका व्यक्ति जसले सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । यसका अलावा अन्य जुनसुकै उमेर समूहका व्यक्तिले स्वास्थ्य परिक्षण गर्न सकिन्छ ।
कुन समूहले कहिले गर्ने ?
नियमित स्वास्थ्य परीक्षण हरेक वर्ष गरिन्छ । जसअन्तर्गत सुगर जाँच, प्रेसर परीक्षण, चिल्लोपन (कोलेस्टोर), मुटुको जाँच, किड्नीको जाँच, कलेजोको जाँच आदि पर्दछन् । यस्तै, उमेर समूह अनुसार पनि विभिन्न प्रकृतिका जाँचहरू गर्न सकिन्छ । ५० वर्ष उमेर नाघेका व्यक्तिले हरेक वर्ष पेट र आन्द्राको समस्याको लागि दिशाको जाँच गराउनुपर्छ । महिला समूहअन्तर्गत हरेक दुईदेखि तीन वर्षको अन्तरालमा पाठेघर मुखको क्यान्सरको जाँच गर्न सकिन्छ । यसैगरी, ५० वर्ष नाघेका महिलाहरुमा स्तनको क्यान्सरको जाँच अन्तर्गत हरेक दुई वर्षको अन्तरालमा म्यामोग्राम गरिन्छ । ६५ वर्ष नाघेका महिलाहरुमा हडी कत्तिको बलियो छ भनेर वोन मिनिरल डेन्सीटी (बीएमडी) गरिन्छ । बच्चाहरू स्कुल जानुभन्दा अगाडि (३ वर्षदेखि ५) वर्षको उमेरमा कान, दाँत र आँखाको जाँच गर्नु उपयुक्त हुन्छ ।
नेपालमा नियमित स्वास्थ्य परीक्षणको किन महत्व छ ?
नेपालमा विगतदेखि नै सरुवा रोगको विगविगी छ । त्यसमा पनि अहिले आएर जीवनशैली परिवर्तन भएको कारणले गर्दा नेपालमा नसर्ने रोगको भार पनि थपिएको छ । सर्ने रोगभन्दा नसर्ने रोगको जटिलताहरू झन् भयानक हुँदै गएको छ । जसले गर्दा मान्छेको काम गर्ने क्षमतामा कमी आउनका साथसाथै उनीहरूलाई यो जटिलताको उपचार गर्नका लागि आर्थिक भार थपिँदै जाने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ । युवा जनशक्तिमा नसर्ने रोगको प्रकोप बढ्दै गएमा पछि गएर राष्ट्रलाई नै चुनौती थपिने भएकाले सरकारले सुरुवाती चरणमै यससम्बन्धी सोच्नुपर्ने आवश्यक देखिन्छ । नियमित स्वास्थ्य परिक्षणमा देखिएको भ्रमको अन्त्य गर्नुपर्ने देखिन्छ । नियमित स्वास्थ्य परीक्षण एकपटक गरेर वर्षौंसम्म ढुक्क हुने अवस्था छैन । यो नियमित रुपमा गर्नुपर्दछ ।
नियमित स्वास्थ्य परीक्षणका फाइदाहरू
नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाईदा राज्यलाई हुने गरेको छ । कुनै पनि व्यक्ति स्वास्थ्य भयो भने देश स्वस्थ्य रहन्छ । स्वास्थ्य मान्छेले देशमा योगदान गर्न सक्छ । जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्यय भारसमेत कमी हुन्छ ।
(डा श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ फिजिसियन हुन् ।)
Copyright © 2025 Bikash Media Pvt. Ltd.