२०८१ वैशाख ८ गते १२:५७ विकासन्युज
काठमाडौं । अमेरीकाको सामाजिक सञ्जाल कम्पनी मेटाद्वारा सञ्चालित ह्वाट्सएप र थ्रेड्सले चीनमा प्रतिबन्धको सामना गरिरहेको छ ।
एप्पलले पनि मेटाका दुई सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप र थ्रेड्सलाई आफ्नो एप स्टोरबाट हटाएको छ । यसको मतलब यो हो कि विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा आईफोन प्रयोगकर्ताहरूले मेटाको सोसल मिडिया एप्स ह्वाट्सएप र थ्रेड्स प्रयोग गर्न पाउनेछैनन् ।
चीनको इन्टरनेट नियमन निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) ले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यी दुवै एप हटाउन आदेश दिएको प्रतिवेदनले दाबी गरेको छ ।
उक्त एप हटाउने चीनको निर्णयलाई अमेरिकासँगको द्वन्द्वका रूपमा हेरिएको छ । चीनको स्वामित्वमा रहेको सर्ट भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा अमेरिकी कंग्रेसमा मतदान हुन लागेको छ । अमेरिकीले राष्ट्रिय सुरक्षा चिन्ताको कारण टिकटकमा प्रतिबन्ध लगाउन निर्देशन पनि दिएको छ ।
एप्पलले यो निर्णय चीनको भएको र कम्पनीको हैसियतले आफूले सञ्चालन गरेको देशको स्थानीय नियम कानुन पालना गर्न बाध्य भएको बताएको छ । एप्पलले भनेको छ, ‘हामी त्यो नियमसँग असहमत भए पनि ती नियमहरू पालन गर्नुपर्छ ।’
यसअघि अप्रिल १ मा चीनमा काम गर्ने एपहरूलाई सरकारमा दर्ता गर्न निर्देशन दिइएको थियो । ह्वाट्सएपको विश्वभरि मासिक २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । यो विश्वव्यापी रूपमा सबैभन्दा डाउनलोड गरिएको एप बनेको छ । एजेन्सी
Copyright © 2024 Bikash Media Pvt. Ltd.