भारतीय कम्पनीलाई भुक्तानी गर्न अवरोध, इन्टरनेट काटिन सक्ने सेवा प्रदायकको चेतावनी

  २०८१ वैशाख १३ गते २०:०७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान) ले नेपालभरिको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आइस्पानले संवेदनशील विषयमा सरकारले खेलाची गरेकाले  जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने बताएको हो ।

आइस्पानका अध्यक्ष सुधिर पराजुलीले लामो समयदेखि सञ्चार मन्त्रालयले विदेशी मुद्रा सटहीको अनुमति नदिएर अतिआवश्यक सेवामा खेलाची गरेको बताए ।

नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतबाट इन्टरनेट खरिद गरी नेपालमा बिक्री गर्ने गरेकाे बताउँदै अध्यक्ष पराजुलीले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई इन्टरनेट उपलब्ध गराउने भारतीय कम्पनीले सरकार र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल सरकारले गरेको व्यवहारप्रति प्रश्न गरेकाे बताए ।

‘अहिले इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन,’ अध्यक्ष पराजुलीले भने, ‘उताबाट पैसा नपठाएको विषयमा प्रश्नसहितको पत्र आइसकेको छ, तर ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस सरकारले नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ ।’

सेवा प्रदायक कम्पनीले बैंक ग्यारेन्टी पठाएको भए पनि अहिले राष्ट्र बैकले बैंक ग्यारेन्टीमा समेत नियामक निकायको अनुमति चाहिने व्यवस्था गरेपछि समस्या सिर्जना भएको उनको भनाइ छ । इन्टरनेट सेवा खरिदको भुक्तानीका लागि नियामक निकायले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष पराजुलीले बताए । नेपाल दूरसञ्चार प्राधिकरण नेपालमा दूरसञ्चार क्षेत्रको नियामक निकाय हो ।

केही दिनअघि मात्र भारतीय कम्पनीले जुनसुकै बेला इन्टरनेट काटिन सक्छ भनेर पत्र पठाएपछि पत्रकार सम्मेलन नै गरेर सरकारको ध्यानकर्षण गराउन बाध्य भएको पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.