२०८१ जेठ १ गते ११:०१ विकासन्युज
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो मनोज कुमार लाल कर्ण । बीमा क्षेत्रमा तीन दशक लामो अनुभव भएका कर्ण अहिले हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिरहेका छन् । जुनिअर असिस्टेन्टबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनले यसअघि तत्कालीन युनियन लाइफ इन्स्योरेसको सीईओका रूपमा पनि काम गरे । । युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात् बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ बन्ने जिम्मेवारी पनि उनै कर्णको काँधमा आइपुग्यो । उनै सीईओ कर्णसँग पछिल्लो बीमा बिजनेस, बीमा कम्पनीहरूले गरिरहेको काम कारवाही, यस क्षेत्रको अवसर र कम्पनीको व्यावसायिक रणनीतिको विषयमा विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले कुराकानी गरेका छन् ।
पछिल्लो समय आर्थिक मन्दीको कुरा चलिरहेको छ । जीवन बीमा व्यवसाय कस्तो भइरहेको छ ?
होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल बजार, माछापसल, सुपरमार्केट, सार्वजनिक सवारी साधन लगायत सबै क्षेत्रमा भीडभाड नै छ । मान्छेमा भ्रम हो कि खराब दिमाग हो, किन मन्दीको कुरा धेरै हुन्छ मैले बुझेको छैन । यदि स्थिति खराब भए बैंकमा पैसा जम्मा हुने थिएन । तर, अहिले बैंकहरूसँग फालाफाल पैसा छ । एक/दुई वर्ष अगाडि बीमा कम्पनीलाई बैंकहरूले पैसा लिन दबाव दिन्थे भने अहिले बीमा कम्पनीहरू दबाव दिइरहेका छन् कि मैरो पैसा राखिदेऊ भनेर । खराब नै खराब छ भनेर मान्छेको मनोबलमा गिरावट आएको छ । तर यथार्थमा अवस्था खराव छैन ।
गाउँमा सबै जना चौतारीमा बसेर तास खेलिरहेका छन् । कामको लागि मान्छे खोज्दा उहाँहरूलाई फुर्सद छैन । खाडी मुलुकबाट घरघरमा १/२ लाख रुपैयाँ रेमिट्यान्स आइरहेको छ । मेरो गाउँका एक हजारभन्दा बढी मान्छे विदेश छन् । प्रत्येक व्यक्तिको घर पक्की छ । छिमेकीहरुले मिठोमसिनो खाना खानु हुन्छ, महँगो जुत्ताचपल, कपडा लगाउनु हुन्छ । जबकी त्यही मान्छे परालमा सुत्थ्यो । परालबाट बनाएको चटाई वा गुन्द्री ओड्थ्यो । तर, आजको दिनमा त्यो मान्छेले सिरक ओडिरहेको छ । देश कहाँ खराब छ ? बजारमा हल्काफुल्का महँगी हुनुपर्छ, तरकारी, अण्डा, माछा, चामल महँगो भएपछि किसानसँग पैसा हुन्छ । किसानहरूको जीवनस्तर बढ्छ । समग्रमा देशको स्थिति राम्रो छ ।
हिमालयन लाइफको व्यवसाय वृद्धिदर कस्तो छ ?
मर्जरपछि माहोल राम्रो भएकाले कम्पनीले सिनर्जी ल्याएको छ । कम्पनीलाई कसरी राम्रो बनाउने भनेर सबै जना कर्मचारीले भित्री मनदेखि काम गरिरहनु भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको व्यवासयमा २५ प्रतिशत वृद्धि हुने अपेक्षा छ । बैशाखदेखि कम्पनी नाफामा जाँदैछ । बाँकी २ महिना जेठ र असारमा २५ प्रतिशत प्राकृतिक वृद्धि हुने विश्वास छ । शतप्रतिशत वृद्धि गर्ने रहर पनि छैन । प्राकृतिक वृद्धिलाई कम्पनीलाई दीगो बनाउँछ ।
मर्जपछि कम्पनीमा के के परिवर्तन भए ?
तीन वटा कम्पनी मर्ज भएर एउटा ठूलो कम्पनी बन्यो । तीन वटा कम्पनीका प्रडक्ट पनि थुप्रै थिए । ४३/४४ वटा प्रडक्टलाई २५/२६ वटा प्रडक्टमा झार्यौं । अहिले सबै प्रडक्टहरू राम्रो बिक्री भइरहेका छन् । ४ सय शाखा कार्यालयलाई २१७ वटामा झारेका छौं । १५० वटा शाखा कार्यालय मात्रै सञ्चालन गर्ने सोच थियो । तर, कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले विस्तारै कम गरिरहेका छौं ।
मर्जरपछि कम्पनी ठूलो हुन्छ । बीमाको पहुँच वृद्धि हुन्छ । शाखा सञ्जाल विस्तार हुन्छ । सहरबाट गाउँसम्म बीमाको दायरा पुग्छ भन्ने विश्वास थियो । तर, किन यति धेरै संख्यामा शाखा कार्यालय बन्द गर्नुभयो ?
तीन वटा कम्पनी मर्जरपछि एउटै ठाउँमा ३ वटा शाखा भए । त्यसलाई मर्ज गरेर एउटा शाखा बनाउनु परेको हो । जस्तो राजविराज, बिर्तामोड, फिकल, इलाम, गैंडाकोट, परासी, बर्दीवास र जलेश्वर लगायत थुप्रै ठाउँमा ३/३ वटा शाखा थिए । ती शाखा मर्ज गरेर एउटा मात्रै सञ्चालन गर्यौं । चितवनमा १० वटा शाखा थिए । मर्ज गराएर अहिले पनि ५ वटा शाखा सञ्चालनमा छन् । आपसी तालमेल मिलेर सिनर्जी ल्याउन शाखा मर्ज गर्नु परेको हो । युनियन, गुराँस र प्राइम मर्जर हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो । मर्जर अघि एउटै ठाउँमा तीनै कम्पनीका शाखा थिए । ती कार्यालय मर्ज गराएका हौं । मर्जरपछि एक जना कर्मचारी पनि निकाल्नु परेन । स्वेच्छिक अवकास सुविधा (भीआरएस) लिएर १५५ जना मात्रै कर्मचारी बाहिरिए ।
होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल बजार, माछापसल, सुपरमार्केट, सार्वजनिक सवारी साधन लगायत सबै क्षेत्रमा भीडभाड नै छ । मान्छेमा भ्रम हो कि खराब दिमाग हो, किन मन्दीको कुरा धेरै हुन्छ मैले बुझेको छैन । यदि स्थिति खराब भए बैंकमा पैसा जम्मा हुने थिएन । तर, अहिले बैंकहरूसँग फालाफाल पैसा छ ।
बैंकिङ क्षेत्रमा मर्जरपछि शाखा बन्द नगरी स्थानान्तरण (रिप्लेस) गर्नु पर्ने प्रावधान छ । शाखा कार्यालय बन्द नगरी स्थानान्तरण गरेको भए राम्रो हुन्थ्यो कि ?
जतिबेला हामीसँग शाखा कार्यालय थिएन, त्योबेला बन्द नगरी स्थानान्तरण गर्न सकिन्थ्यो । अहिले हिमालयन लाइफले ७६ जिल्लामा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । मनाङमा पनि छिट्टै शाखा (एक्सटेन्सन काउन्टर) विस्तार गर्ने तयारी छ । शाखा रिप्लेस गर्ने ठाउँ नहुँदा बन्द गर्नु परेको हो । त्यसैले वैज्ञानिक तरिकाले शाखा व्यवस्थापन भएका छन् । जुन ठाउँमा आवश्यकता हो, त्यो ठाउँमा कायम छन् । पोखरामा अहिले पनि ४ वटा शाखा कार्यालय छन् । चितवनमा अहिले पनि ५ वटा शाखा छन् ।
बीमा कम्पनीहरू बलिया हुँदा उनीहरुले खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउने छन्, त्यसले बीमा क्षेत्रमा धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ मर्ज गरियो, पुँजी वृद्धि गरियो । ठूलो भएपछि कम्पनीले यसतर्फ के-के काम गरिरहेको छ ?
मर्जरपछि ३ वटा फरक फरक कम्पनीबाट राम्रो अभ्यासलाई अँगाल्यौं । मर्जरपछि राम्रो प्रडक्टलाई मर्ज गराएर अरू बन्द गर्यौं । सूचना प्रविधिमा कम्पनीमा दक्ष जनशक्ति छन् । अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सकिन्छ । अभिकर्ताले मोबाइलबाटै आफ्नो व्यवसाय कति छ भनेर सबै विवरण हेर्न सक्नुहुन्छ । जुम्लाको मान्छेले शाखा कार्यालय नगई तुरून्तै बीमा पोलिसी खरिद गर्न सक्नुहुन्छ ।
मर्जरपछि आईटी, पोलिसी प्रडक्ट, जनशक्ति लगायत हरेकमा सफल भएका छौं । मर्जरअघि एउटै विभागीय प्रमुखले ४/५ वटा विभाग हेर्नुपर्ने बाध्यता थियो । तर, अहिले कम्पनीमा २२ वटा छुट्टाछुट्टै विभाग छन् । अण्डरराईटिङ, क्लेम, रिइन्स्योरेन्स, कम्पलायन्स, तालिम, कर्पोरेट लगायत सबै विभागले आआफ्नो मात्रै काम गर्छन् । मेरो टेबलमा एउटा पनि काम हुँदैन । बैठकमा मात्रै मैले समय दिइरहेको छु । सबै कर्मचारीसँग अपडेट लिन्छु । सेवा छिटोछरितो र गुणस्तरीय बनाउन सबैलाई निर्देशन दिएको छु । विभागीय प्रमुखहरु म कहाँ आउनु पर्दैन । म भन्दा तल तीन वटा रिपोर्टिङ प्वाइन्ट छन् । २२ वटा विभागले के-के काम गर्छन् भनेर तीन वटा रिपोर्टिङ प्वाइन्टलाई सबै विभागीय प्रमुखले रिपोर्टिङ गर्छन् । यदि कुनै मुख्य समस्या आयो भने मात्रै म कहाँ आउनुपर्छ । नयाँ व्यवसाय खोज्न मैले समय व्यतित गरिरहेको छु ।
मर्जरपछि कम्पनी माइनसमा थियो । तर, आजको दिनमा धनात्मक छ । अबको २ महिनामा २५ प्रतिशत वृद्धि गर्ने लक्ष्य छ । जीवन बीमा कोष ६५ अर्ब पुगिसकेको छ । पोलिसी संख्या तेब्बरले वृद्धि भएको छ । मर्जरपछि आफूलाई भाग्यमानी ठानेको छु । किनभने तीन वटै कम्पनीका कर्मचारीहरू सिनर्जी र इनर्जेटिभ तरिकाले काम गर्नु हुन्छ । आफ्नो आत्माबाट काम गरिरहनु भएको छ । रिसर्च एण्ड डेभलपमेन्ट विभागले नयाँ इनोभेसनमा काम गरिरहेको छ । बजार अनुकुल प्रडक्ट ल्याउन यस विभागले काम गरिरहेको छ ।
१० वर्षअघि र आजको मनोज कणर्मा पनि धेरै परिवर्तन छन् । सबै कर्मचारीमा परिवर्तन पाएको छु । पहिला धेरै कुराहरू भन्नु पथ्र्यो भने अहिले कर्मचारीहरूले भन्नुहुन्छ ।
१० वर्षअघि र अहिले बीमा क्षेत्रमा भएका परिवर्तन के के हुन् ?
२०६९ सालतिर पत्रपत्रिमा लेखहरू लेख्थे । मैले १२ वर्षअघिको फोटो र अहिलेको फोटो हेर्दा धेरै परिवर्तन पाएको छु । प्रणालीमा पनि त्यही परिवर्तन देखिरहेको छु । बजारमा कामको वातावरण, अनुभवमा धेरै परिवर्तन आएको छ । पहिला बजारमा खोज्दा पनि जनशक्ति थिएनन् । तर, अहिले प्रयाप्त जनशक्ति छन् । म बीमामा प्रवेश गर्दा धेरै कमी रहेको महसुस हुन्थ्यो । अहिले सबै कमीहरू पूणर् भइसकेका छन् । पहिला बीमा गर्नुहोस् भन्दा मान्नु हुँदैनथ्यो । तर, अहिले पोलिसी सरेण्डर नगर्ने ग्राहकहरू पनि हुनुहुन्छ । ग्राहकहरूको मोबाइल नम्बरमा सन्देश (म्यासेज) पठाउँदा पनि नवीकरणका लागि किन जानकारी नगराएको भनेर गुनासो गर्नु हुन्छ । जबकी कम्पनीले भ्वाइस म्यासेज पठाउने गरेको छ ।
सर्वसाधारणमा पनि बीमाबारे धेरै सचेतना फैलिएको छ । १० वर्ष अगाडि मुस्किलले १ करोडको बीमा हुन्थ्यो । जबकी अहिले ५ करोडको बीमा गर्दा आम्दानीको स्रोत लगायत विभिन्न कागजात माग्छौं । पहिला १ करोडको बीमा मुस्किलले एकदुई वटा मात्रै हुन्थे । अचेल १ करोडको बीमा त धेरै हुन्छन् । एक दशकमा धेरै परिवर्तन भएका छन् । १० वर्षअघि र आजको मनोज कणर्मा पनि धेरै परिवर्तन छन् । सबै कर्मचारीमा परिवर्तन पाएको छु । पहिला धेरै कुराहरू भन्नु पथ्र्यो भने अहिले कर्मचारीहरूले भन्नुहुन्छ ।
पहिला २/४ लाखको अथोरिटी अरुलाई दिन पनि डर लाग्थ्यो भने अहिले ५० लाख रुपैयाँसम्मको अथोरिटी प्रादेशिक कार्यालयलाई दिइएको छ । ३५ लाखको अण्डरराईटिङको अधिकार प्रदेश कार्यालयलाई छ । पहिला ५ लाखको अधिकार दिँदा पनि डर लाग्थ्यो । १ करोड रुपैयाँसम्म अण्डरराईटिङ अरू कर्मचारीलाई नै दिईएको छ । १ करोडभन्दा माथिका मात्रै मैले हेर्ने गरेको छु । प्रगति र कन्फिडेनस भएर अधिकार दिइएको हो ।
वर्तमान समयमा बीमा कम्पनीहरुको अगाडि नयाँ अवसर के के छन् ?
अवसर हामीले श्रृजना गर्ने हो । र, हामीले गरिरहेका छौं । त्यसका लागि हामीले गाउँगाउँमा तालिम दिइरहेका छौं । बीमा जनचेतना अभियान सुरु गर्दा २ वटा जिल्लामा म आफैं पुगेको छु । कार्यक्रममा स्थानीय तहका प्रमुख, सांसद, गरिब तथा विपन्न परिवारका व्यक्तिलाई पनि बोलाउने गरेका छौं । अबका कार्यक्रममा ठेला व्यवसाय, साना साना व्यवसायीलाई पनि सहभागी गराउँछौं । रिक्सावालालाई किन बीमा नगरेको भनेर सोध्दा पैसा छैन भन्नु हुन्छ । अहिले पैसा छैन भने १५ वषपछि तपाई रिक्सा चलाउन सक्नु हुन्न, स्वास्थले काम गर्दैन, त्यति बेला जीवन निर्वाह गर्न सकस हुन्छ । अहिले पैसा छैन भने त्यो बेला झन् पैसा हुँदैन । त्यसैले ३० दिन रिक्सा चलाउँदा एक दिनको रिक्साको पैसा बीमामा लगानी गर्नुहोस् भन्छौं । ग्रामीण क्षेत्रका हरेक ठाउँमा राम्रोसँग बीमा बारे बुझाउन सकियो भने सबैले बीमा गर्नु हुन्छ ।
सम्बन्धित सामाग्री
Copyright © 2024 Bikash Media Pvt. Ltd.