२०८१ जेठ २ गते १२:५० विकासन्युज
नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशनसँगै बीमा क्षेत्रमा मर्जरको ह्वीम चल्यो । अधिकांश बीमा कम्पनीले मर्जपश्चात् साविकका दुईमध्ये एक कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरे । पुँजी वृद्धिका लागि मर्ज भएको कम्पनीहरूमध्ये यूनाइेट अजोड इन्स्योरेन्स पनि हो । साविक यूनाइटेड र अजोड इन्स्योरेन्स मर्जरपश्चात् कम्पनीको सीईओ बने श्रवण रावल । विगत लामो समयदेखि बीमा क्षेत्रमा कार्यरत रावलले कम्पनीको सीईओको जिम्मेवारी पाएपछि व्यावसायीक दायरा बढाउन काम गरिरहेका छन् । यूनाइेट अजोड इन्स्योरेन्स मर्ज भएको एक वर्ष भइसक्यो । यस अवधिमा कम्पनीले गरेका काम कारवाही र व्यावसायिक रणनीतिको विषयमा सीईओ रावलसँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् ।
बीमा कम्पनीहरु बलियो हुँदा उनीहरुको सेवा प्रभावकारी हुन्छ, बीमा बजारको विकासमा मद्दत पुग्छ भन्ने सोचका साथ कम्पनीहरुबीच मर्जर गरी पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्र्फ के के काम गरिरहेको छ ?
बीमा उद्योगमा मर्जरको अनुभव पहिलोपटक हो । मर्जरका माध्यमबाट १४ वटा निर्जीवन बीमा कम्पनी कायम छन् । मर्जरपश्चात् हालसम्म सामना नगरेका समस्याहरू सामना गर्नु पर्याे । दुई फरक कल्चरमा सञ्चालन भएका संस्था एक हुँदा समस्या देखा पर्नु स्वभाविक पनि हो । मर्जरपछि सीईओेले आफ्ना कम्पनीका कर्मचारीलाई मात्रै प्रिय र अर्काे कम्पनीबाट आएका कर्मचारीलाई अप्रिय ठानेको, आन्तरिक संरचना डामाडोल बनाएको भन्ने सन्देश बजारमा सुन्नमा आयो । यूनाईटेड र अजोड इन्स्योरेन्सको मर्जरपछि बाहिरबाट सीईओ नियुक्त गरिएको हुँदा कुनै समस्या आएन । प्रोफेसनल कम्पनीका रूपमा स्थापित हुन पुग्यो । सञ्चालक समितिले पनि सहयोग गर्याे । कम्पनीले दाबी भुक्तानीलाई तिव्रता दिएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । अब कम्पनीले ८०/८५ करोड रुपैयाँ मात्रै दाबी भुक्तानी गर्न बाँकी छ । तथ्याङ्कले पनि यूनाईटेड अजोड दाबी भुक्तानीमा छिटोछरितो छ भनेर स्पष्ट देखाएको छ । आर्थिक वर्षको अन्त्यसम्म सबै दाबी भुक्तानी गर्ने लक्ष्य छ ।
कम्पनीलाई व्यावसायीक तरिकाले सञ्चालन गर्न अण्डरराइटिङ विभागलाई दक्ष र सबल बनाइएको छ । प्राधिकरणले जारी गरेका नीति, निर्देशन सबैभन्दा पहिला कार्यान्वयन गर्ने भनेको अण्डरराईटिङ विभाग हो । अण्डराईटिङ व्यवस्थित रूपमा सञ्चालन भएर सबै नीति निर्देशन पालना गरेर व्यवसाय गरिएको छ भने समस्या नै आउँदैन । त्यसैले कम्पनीको अण्डरराईटिङ विभागलाई पुनरसरंचना गरेर स्वतन्त्र रूपमा काम गर्ने गरी परिणत भइसकेको छ । दाबी भुक्तानी विभाग कम्पनीको ‘ब्याक बोन’ हो । दाबी भुक्तानीलाई छिटोछरितो गरेर ग्राहकलाई सन्तुष्ट पार्न प्राधिकरणको निरन्तर निर्देशन छ । आवेदन दिएपछि तत्काल दाबी भुक्तानी हुने गरि प्रादेशिक कार्यालयबाट दाबी भुक्तानीको तयारी भइरहेको छ । यूनाईटेड अजोडले नयाँ आर्थिक वर्षदेखि ६ वटा प्रादेशिक कार्यालयलाई अख्तियारी दिने तयारी गरिरहेको छ । केन्द्रिय विभागबाट कर्मचारी खटाएर प्रादेशिक कार्यालयका कर्मचारीलाई तालिम दिएर दाबी भुक्तानीलाई तिब्रता दिने र पुर्वाधार निर्माण भइरहेका छन् ।
बीमा भनेको जोखिम व्यवस्थापन हो । अण्डरराइटिङबाट आएका जोखिम व्यवस्थापन पुनर्बीमा विभागले गर्छ । रिइन्स्योरेन्स डिपार्टमेन्टलाई पनि बलियो बनाइएको छ । यस विभागमा पनि दक्ष जनशक्ति खटाइएको छ । पुनर्बीमा स्वदेशमा गर्ने की विदेशमा गर्ने भनेर यस विभागले पर्फेक्ट निर्णय गर्छ । त्यसपछि कम्पनीले व्यवसायमा जोड दिएको छ । व्यवसाय वृद्धिमा कम्पनीले शाखा कार्यालयको पुनरसंरचना, कर्मचारीलाई तालिम, कस्तो किसिमको व्यवसाय गर्ने भनेर निर्देशन दिने काम मर्जरपछि भएका छन् । मर्जरअघि सीमित शाखा कार्यालय, न्यून कर्मचारी संख्या र ज्ञानको अभाव थियो । अब दुई कम्पनी एक भएपछि प्रतिफल आउने गरि काम भइरहेको छ । त्यसको प्रतिफल अबको एक/दुई वर्षभित्र आउँछ ।
बीमा कम्पनीहरू कृषि बीमाको प्रारम्भिक चरणमा थिए । धेरै अध्ययन गरेर पोलिसीहरू अपग्रेड भइरहेका छन् । थप नयाँ पोलिसी ल्याउने विषयमा कम्पनीहरूले अध्ययन गरिरहेका छन् । जस्तो कोल्ड स्टोरेज भवनको बीमा गरिएको छ । तर, विद्युत आपूर्तिमा समस्या आउँदा कोल्ड स्टोरमा राखिएका फलफूल तथा तरकारी बिग्रियो भने जोखिम कम गर्ने पोलिसी छैन । यूनाइटेड अजोडले पोलिसी ल्याउन अध्ययन गरिरहेको छ । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूलका रूपमा घोषणा गर्दैछ । यसमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्ययन तथा अनुसन्धान भइरहेको छ । कृषि विज्ञहरूसँग गहन छलफल भएको छ । अन्य क्षेत्रका लागि नयाँ पोलिसीहरू प्राधिकरणसँग स्वीकृति लिएर लञ्च गर्ने तयारी छ । निर्जीवन बीमा क्षेत्रमा धेरै बीमा योजना आउन बाँकी छन् ।
अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ?
अर्थतन्त्रमा परेका असरहरू कम गर्न राज्यले भूमिका खेल्नुपर्छ । देशको अवस्था नाजुक छ । जबसम्म अर्थतन्त्र चलायमान र पुर्वाधार विकासका आयोजना बन्दैनन्, तवसम्म बीमा कम्पनी पनि अगाडि बढ्न सक्दैनन् । जहाँ बैंक जान्छ, त्यहाँ बीमा पनि जान्छ । बीमालाई अनिवार्य गरेको भएकाले अगाडि आएको हो । नेपालमा बीमा जागरण छैन । बीमा सम्बन्धी सचेतनाको अभाव छ । बैंकले बीमा गर्न लगाएका कारण बीमा गर्न बाध्य भएका हुन् । गत वर्ष भूकम्प जाँदा क्षतिपूर्ति पाउने न्यून छन् । जसले घरधितो राखेर बैंकसँग कारोबार गरेका थिए, बैंकले अनिवार्य बीमा गर्न लगाएको ग्राहकहरूले क्षतिपूर्ति पाए । जबकी वि.सं २०७२ सालको भूकम्प जाँदा बीमा शून्य थियो । काठमाडौंमा बसोबास र बैंकसँग आवद्ध भएका व्यक्तिले मात्रै क्षतिपूर्ति पाए । त्यो क्षतिपूर्ति पनि धेरै त्रुटि थियो । त्यसैले सचेतनाको कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । सचेतना बढ्यो भने स्वतः बीमा क्षेत्रलाई फाइदा हुन्छ । अहिले बैंकहरूमा कर्जाको माग छैन । पुर्वाधार योजनाहरू नवीकरण गरेर व्यवसायीहरूले बीमा गर्नु भयो भने बीमा क्षेत्र अगाडि बढ्छ । यदि त्यो हुन सकेन भने अवस्था धेरै गाह्रो छ ।
बैंकले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार पनि घट्यो भन्ने भनाई बीमकहरुबाट पटक पटक सुनिन्छ । किन बीमा कम्पनीहरू आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरुले नयाँ के काम गरेका छन् ?
७०/८० प्रतिशत बीमा व्यवसाय बैंकमा निर्भर छ । नेपालको अर्थतन्त्र र विकसित देशको अर्थतन्त्र धेरै फरक छ । नेपालको कुल प्रिमियम बराबर भारतको एउटा सानो कम्पनीले संकलन गर्छ । त्यसैले बैंकसँग बीमा सम्बन्धित नै छौं । बीमा कम्पनीहरूको कुल लगानी बैंकको मुद्दती निक्षेपमा छ । पछिल्लो समय बीमा प्राधिकरणले जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न खुला गरेको छ । तैपनि बीमा कम्पनीहरूले अधिकांश लगानी बैंकमा गरेका छन् । कुनै समय बैंकमा लगानी गर्दा १२ प्रतिशतसम्म ब्याज पाएका थिए । तर, आजका दिनमा बैंकको ब्याजदर ५ प्रतिशतमा झरेको छ । यसको प्रत्यक्ष मार बीमा कम्पनीको लगानी आम्दानीमा परेको छ । बैंकमा प्रयाप्त तरलता छ । तर, कर्जा प्रवाह भएको छैन । कर्जा प्रवाह नहुँदा इन्स्योरेन्स पोलिसी बिक्री हुन सकिरहेका छैनन् । छैन । अहिले बीमा कम्पनीहरू दोहोरो मारमा परेका छन् ।
मुख्य सहरको १०/१५ किलोमिटरको दायरामा मात्रै कारोबार छ । १०/१५ किलोमिटर टाढा जाने हो अवस्था नाजुक छ । दैनिक खान लगाउन समस्या छ । केही मान्छेहरूले बीमामा अवसर र स्कोप धेरै छ भन्छन् । तर, देश विकास नभई त्यो हुन सक्दैन । व्यक्तिले आम्दानी गरेर केही रकम बचत गर्ने हो । र, सम्पत्ति आर्जन जोड्छन् । सम्पत्तिको सुरक्षाका लागि बीमा गर्ने हो । समग्रमा अर्थतन्त्र वृद्धि भयो मात्रै सहज अवस्था हुन्छ ।
वर्तमान समयमा बीमा कम्पनीहरुको अगाडि नयाँ अवसर के के छन् ?
केही इनोभेटि पोलिसी लञ्च गर्नुपर्छ । छिटोछरितोका लागि डिजिटलाइजेशन हुनुपर्छ । अबको समय डिजिटलको हो । जनशक्ति राखेर व्यवसाय गर्ने परम्परा तोड्नुपर्छ । प्रविधिमा विश्व धेरै अगाडि बढिसकेको छ । अब प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने हुन्छ । कतिपय जनसंख्या बीमाको दायरमा छन् भने कतिपय छैनन् । भएका क्षेत्रलाई पनि समेट्न सकिएको छैन । कृषि बीमा गर्न ग्रामीण क्षेत्र जान निर्देशन दिइयो । सोही बमोजिम दूर्गम क्षेत्रमा पनि शाखा सञ्चालन गर्याै । कम्पनीहरूले २० प्रतिशत बीमा शुल्क लिएर बीमा पोलिसी बेचेका छन् । त्यो २० प्रतिशतबाट एजेन्ट कमिसन, प्रावधिक शुल्क र दाबी भुक्तानी गर्नुपर्छ । तर, सरकारले दिनुपर्ने ८० प्रतिशत अनुदान वापतको रकम समयमा आउँदैन । त्यसैले कृषिमा किसानलाई संरक्षण गर्नुपर्छ भन्ने सरकारको नीति अधुरो छ । एउटै कम्पनीले कृषि बीमा वापतको सरकारबाट २०/२२ करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी छ । साढे २ अर्ब पुँजी भएको कम्पनीले दुई/अढाई सय करोडको प्रिमियम संकलन गर्छन् । जबकी २०/२५ करोड रुपैयाँ नै होल्ड भयो भने कम्पनीको क्यासफ्लोमा प्रत्यक्ष हिट गर्छ । बीमा कम्पनीले काम गर्न चाहेपनि अवरोध छन् । बीमा प्राधिकरणले भूमिका खेलेपनि अस्थिर सरकार हुँदा समस्या छ । यूनाइटेड अजोडले ट्राभल, मेडिकल पोलिसी अनलाइनबाट बेचिरहेको छ । साथै, अनलाइनबाट खरिद गर्न मिल्नेगरी थप पोलिसी लञ्च गर्ने तयारी छ ।
अहिलेको परिस्थितिमा बीमा व्यवसायमा समस्या के छन् ? जोखिम के छन् ? अवरोध के छन् ?
बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । आन्तरिक तथा बाह्य तालिमको आयोजना गरेर कर्मचारीलाई दक्ष बनाउनु पर्नेछ । यूनाइटेड अजोडमा विभागीय प्रमुखले हेड अफिसदेखि शाखा कार्यालयसम्म साप्ताहिक रूपमा तालिम दिइरहेको हुन्छ । सबै विभागीय प्रमुखले १५/३० दिनमा शाखाका कर्मचारीलाई तालिम दिइरहेका हुन्छन् । समयसमयमा अन्तर विभाग छलफल गरेर व्यवासय वृद्धिमा जोड दिएका छौं । विगतमा २० वटा कम्पनी हुँदा मार्केटिङमा धेरै कर्मचारी चाहिन्थ्यो । जस्तो व्यक्ति आएपनि काममा लगाउनु पर्ने अवस्था थियो । ४० लाखको टार्गेट दिएपछि गर्छु भन्यो भने कम्पनीले पनि सहर्ष स्वीकार गर्नु पर्ने अवस्था थियो । जबकी बीमा सम्बन्धी तालिम केही पनि दिइएको छैन । बैंकिङ क्षेत्रमा नवप्रवेश भएका कर्मचारीलाई एक÷दुई महिना तालिम दिएर काममा लगाइन्छ । तर, बीमा कम्पनीमा त्यो संस्कारको विकास हुन सकेको छैन । पारिवारिक सम्बन्धका आधारमा मार्केटिङ गर्न सक्छ भन्यो भने कर्मचारी राख्ने परम्परा थियो ।
ग्रामीण क्षेत्रलाई फोकस गरेर केही बीमा पोलिसी ल्याउनु भएको छ ?
अहिले बीमा क्षेत्रको दायरा बढेको छ । मर्जरपश्चात् यूनाइटेड अजोड इन्स्योरेन्सको १०२ वटा शाखा पुगेका छन् । जबकी यस कम्पनीले हुम्लामा समेत शाखा सञ्चालनमा ल्याएको छ । घुम्ती बीमा, मोबाइलबाटै बीमा सचेतना गराउने गरि अन द स्पट पोलिसी पोलिसी बिक्री भइरहेका छन् । त्यसबाट बीमा सम्बन्धी ज्ञानदेखि सबै काम हुन्छन् । कम्पनीले घुम्ती बीमा सञ्चानल गरेर सचेतना दिने र बीमा व्यवसायको काम भइरहेको छ । सहरी क्षेत्रमा बीमा विस्तारको समस्या छैन । आजको दिनमा प्रतिस्पर्धा व्यापक बनेको छ । कुनै कम्पनीको पोलिसी एक्सपायर हुँदैछ भने १४ वटै कम्पनी पुग्छन् । व्यवसाय सम्झौतामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । पहिला उधारो बीमा गर्ने परमपरा थियो । बीमा प्राधिकरणले कडाइ गरेपछि उधारो बीमा बन्द भयो । तर, अस्वस्थ प्रतिस्पर्धाले प्राथमकिता पाएको छ । स्थानीय तहसँग सम्झौता गरेर बीमा गर्ने काम भइरहेको छ । जस्तो घर बनाउँदा नक्सा पास गर्दा बीमा अनिवार्य गर्नुपर्ने नीति ल्याउने तयारी छ । साथै, स्थानीय तहबाट कुनै सेवा लिँदा बीमा गरेको पत्र अनिवार्य हुनुपर्ने व्यवस्था गर्नु पर्छ । यसले बीमाको दायरा बढाउन मद्दत गर्छ । जसको लागि प्राधिकरणले स्थानीय तहहरूसँग गरिरहेको छ । बीमा प्राधिकरण पनि धेरै विकास भइसकेको छ । बीमा कम्पनीमा अकाउन्टिङ, एनएफआरएस लागु गरेको छ ।
प्राधिकरणले आगामी बजेटमा बीमालाई अनिवार्य गराउने गरी सुझाव दिएको छ । सरकारका ठूल्ठूला पुर्वाधार छन् । तर, बीमारहित छन् । सरकारले आफ्नो सम्पत्तिको बीमा गरेको छैन भने सर्वसाधारणलाई बीमा गर भनेर कसरी भन्ने ? त्यसैले बीमा प्राधिकरण अहिले सक्रिय भएर सरकारी सम्पत्तिको बीमा गर्ने तयारी भइरहेको छ । बाढीपहिरो, दैविक प्रकोपबाट हुने क्षति कम गर्न र भविष्यमा आइपर्ने संकटबाट जोगाउन स्थानीय तहले सबै नागरिकलाई बीमाको दायरामा ल्याउनुपर्छ । भविष्यमा कुनै घटना घट्यो भने सरकारमाथि निर्भर हुनु पर्दैन । बीमा कम्पनीले दाबी भुक्तानी दिएपछि सरकारको दायित्व पनि कम हुन्छ । नियामक निकाय र बीमा कम्पनीहरूले यसतर्फ काम गरिरहेको भएपनि नतिजा हेर्न बाँकी छ ।
बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ?
बीमा प्राधिकरणको इतिहासमा नियमन नै थिएन । बागदरवारको एउटा सानो कोठामा साविक बीमा समिति थियो । त्यसपछि प्रदर्शनीमार्गमा सरेपछि २०/२२ जना कर्मचारीले काम गर्थे । बीमा प्राधिकरण धेरै विकसित भएर सबै क्षेत्रको विभाग नै खडा गरेको छ । नेपाल राष्ट्र बैंक जस्तो नियामक बन्नु पर्छ भन्ने अपे्रक्षा हो । अध्ययन, अनुसन्धानमा प्रोफेसनल ढंगले प्राधिकरणले काम गर्नुपर्छ । प्राधिकरणले बीमितिको सुरक्षा पहिला हेर्नुपर्छ । १०/१५ वर्ष अगाडिको तुलनामा अहिले दाबी भुक्तानी, बीमा सचेतना धेरै नै बढेको छ । जहाज दुर्घटना हुँद सगरमाथा इन्स्योरेन्सले ४०/५० करोड रुपैयाँ दाबी भुक्तानी गर्याे । बाढी पहिरोबाट जलविद्युत कम्पनीमा ती पुर्याएपछि बीमा कम्पनीहरूले १८ करोड रुपैयाँ एडभान्स तिरिसकेका छन् । तर, बीमाले दाबी दिँदैन, ठग्छ भनेर नकारात्मक सन्देश फैलाइएको छ । जसले बदमासी गरेको छ, नियत खराब छ, उनीहरू कराउँछन् । दाबी भुक्तानी पाएका ग्राहकले त बीमा क्षेत्र धेरै राम्रो छ भन्नु भएको छ । अहिलेको स्थितिमा कुनै पनि कम्पनीले दाबी भुक्तानी रोकेको छैन ।
बीमा ऐन २०७९ कार्यान्वयनको चरणमा छ । साथै संस्थागत सुशासन ऐन २०८० पनि लागु गरेको छ । बीमा नियमावली हालसम्म बनेको (प्रक्रियामा) छैन । बीमा क्षेत्रमा अनुसन्धानको खाँचो भएकाले प्राधिकरणले बीमा कम्पनीलाई अनुसन्धानमा जोड दिन लगाउनु पर्छ । जबकी विश्वमा सबैभन्दा धेरै खर्च अनुसन्धानमा हुने गरेको छ । नयाँ इनोभेसन ल्याउन नियामक निकायले अनुसन्धानमा जोड दिने गरी नीति नियम बनाउनुपर्छ ।
नेपालभित्रै दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीले पुनर्बीमा कम्पनीबाट कस्तो सेवा लिइरहेका छन् ?
नेपालको बीमा क्षेत्रबाट धेरै पैसा विदेशीन थाल्यो । पुनर्बीमा कम्पनी खोलेर सबै पैसा रोक्ने उद्देश्यले नेपाल पुनर्बीमा कम्पनी स्थापना गरियो । आन्दोलनबाट क्षति भएका सम्पत्ति व्यवस्थापन गर्ने गरि सरकारले ५ करोड रुपैयाँ र बीमा कम्पनीहरूले ५ करोड रुपैयाँ गरी १० करोड रुपैयाँ पुँजीको बीमा पुल स्थापना गरियो । अहिले त्यो पुँजी ठूलो रकममा परिणत भइसकेको छ । सरकारले उद्देश्य अनुसार पुनर्बीमा कम्पनी सञ्चालन गरियो ।
त्यसपछि अर्काे हिमालयन पुनर्बीमा कम्पनीलाई पनि अनुमति दिइयो । दुईवटा पुनर्बीमा कम्पनी हुँदा नेपाली कम्पनीलाई सहज हुनु पर्ने हो । बीमा कम्पनीले १० प्रतिशत दिन थाल्यो । बाँकीको जोखिम पनि ट्रिटीबाट यी दुईटै कम्पनीलाई दिने हो । यदि स्वदेशी कम्पनीले लिन मानेन् भने मात्रै विदेशी कम्पनीमा गएर पुनर्बीमा गर्नुपर्छ । तर, दुर्भाग्य ! बाढीबाट जलविद्युत कम्पनीमा ८५० करोड रुपैयाँ बराबरको क्षति भएको इस्टिमेट छ । तत्पश्चात् नेपाली पुनर्बीमा कम्पनी तर्सिन थाले । पुनर्बीमा कम्पनीको क्षमता बढाउनुपर्छ ।
१० वर्ष अगाडि बीमाङ्कीय रकम र हालको बीमाङ्कीय रकम तुलना गर्दा आकाश पताल फरक छ । आजका दिनमा एउटा गाडीको मूल्य नै ४/५ करोड रुपैयाँ पर्छ । जबकी १० वर्ष अगाडि ५० लाख रुपैयाँ भनेपछि धेरै ठूलो रकम मानिन्थ्यो । अहिले रकम बढेपछि जोखिम वहन गर्ने क्षमता पनि बढाउनुपर्छ । त्यसैले पुनर्बीमा कम्पनीको क्षमता वृद्धि हुन नसक्दा बीमा कम्पनीको व्यवसाय रिजेक्ट (अस्विकार) गर्छन् । त्यसपछि बीमा कम्पनीहरू विदेशमा जान बाध्य छन् । विदेशमा पुनर्बीमा गर्दा ‘ए’ रेटेड कम्पनी हुनुपर्ने, प्राधिकरणमा सूचीकृत हुनपर्ने, सम्पर्क कार्यालय पनि हुनुपर्ने व्यवस्था छ । तर, अण्डरराइटिङ लेभल, ट्यारिफ, पोलिसीका कण्डिसन अन्तर्राष्ट्रिय स्तरका ‘ए’ रेटेड कम्पनीको आवश्यकताभन्दा तल्लो तहमा छन् । जस्तो जलविद्युत बीमामा २ रुपैयाँ दर तोकिएको छ । जस्तो १५ करोड रुपैयाँको आयोजना हुँदा ५ लााख रुपैयाँ डिडेक्टबल (स्वयम बेहोर्ने रकम) हुन्छ भने बाँकी सबै बीमा कम्पनीले बेहोर्नुपर्छ । यी कण्डिसन राम्रा कम्पनीलाई मान्य हुँदैनन् । त्यसैले बीमा कम्पनीहरूलाई गाह्रो अवस्था श्रृजना भएको छ । किनभने जलविद्युत कम्पनीको पुनर्बीमा गर्न नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सले मानिरहेका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा जाँदा ‘ए’ रेटेड कम्पनी हुनुपर्छ ।
विकल्प खोज्नुपर्ने बेला आएको हो ?
नीतिगत व्यवस्थाहरू सुधार गर्नुपर्छ । जलविद्युत क्षेत्र धेरै जोखिमपूर्ण हो । त्यसैले २ रुपैयाँ दरलाई बढाउनुपर्छ । किनभने बीमा कम्पनीले सेवा मात्रै नभई व्यवसाय पनि गर्नुपर्छ ।
सम्बन्धित सामाग्री
Copyright © 2024 Bikash Media Pvt. Ltd.