२०८१ जेठ १८ गते १०:३४ इन्द्रसरा खड्का
काठमाडौं । नेपालका विश्वविद्यलयको शैक्षिकस्तरको विषयमा लामो समयदेखि बहस तथा पैरवी हुँदै आएको छ । वर्सेनि खस्किदै गएको विद्यार्थी संख्या र विश्वविद्यालयबाट उत्पादित विद्यार्थीहरू बजारमा रोजगारी नपाएर विदेश जानु पर्ने बाध्यता पनि आफैंमा दुःखद छ । अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला एकपछि अर्को विश्वविद्यालय थपिँदै गएका छन् । सञ्चालन भइरहेका विश्वविद्यालयभित्रको नाजुकताका कथाहरू त्यो भित्रका अध्यापक, विद्यार्थी र कर्मचारीलाई मात्रै होइन यस सम्बन्धि सबैले नजिकबाट बुझेका छन् देखेका छन् ।
शैक्षिक पद्धति, प्रणाली र गुणस्तरको विषयमा सधैझैं बहस हुने विश्वविद्यालयको कमाइको विषयमा भने प्राय कमैको चासो हुन्छ । आज हामीले नेपालमा सञ्चालित प्रमुख सात वटा विश्वविद्यालयको कमाइको सामग्री तयार पारेका छौं ।
त्रिभुवन विश्वविद्यालय
देशको सबैभन्दा जेठो विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालय । उच्च शिक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरी नवीनतम् ज्ञान, प्रविधि र सीपको विकास गर्न त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण छ । २०१६ सालमा स्थापना भएको त्रिवि अन्तर्गत ९ वटा अध्ययन संस्थान, चार संकाय, चार अनुसन्धान केन्द्र, ६३ वटा आंगिक क्याम्पस, ४० वटा केन्द्रिय विभाग, चार स्कुल र एक हजार ५४ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।
सात वटा विश्वविद्यालयको तुलना गर्दा अन्य ६ वटाको भन्दा एक्लै त्रिविको आम्दानी बढी देखिन्छ । त्रिभुवन विश्वविद्यालयको आक्दानी नेपालका ६ वटा विश्वविद्यालयको भन्दा चार गुणा बढी छ । महालेखा परीक्षक कार्यालयको ६१ औँ प्रतिवेदनका अनुसार पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयल र खुल्ला विश्व विद्यालयभन्दा त्रिविको आम्दानी चार गुणा छ ।
त्रिभुवन विश्वविद्यालयको सरकारबाट प्राप्त गरेको रकम र आन्तरिक आम्दानी गरी कुल २४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ आम्दानी रहेको छ । अन्य ५ वटा विश्वविद्यालयको आम्दानी कुल ५ अर्ब ३५ मरोड ६३ लाख रुपैयाँ मात्रै रहेको महालेखाको तथ्यांकले देखाउँछ । त्रिविको आम्दानी अन्य विश्वविद्यालयको तुलनामा साढे ३ सय प्रतिशत बढी छ ।
तर, त्रिविको खर्च भने न्यून देखिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपालमा विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र प्रवद्र्धनका लागि विश्वविद्यालयलाई सहयोग गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयले सरकारी अनुदान १३ अर्ब ८७ करोड १० लाख, र आन्तरिक आय ११ अर्ब ४७ लाख गरी जम्मा २४ अर्ब ८७ करोड ५७ लाख प्राप्त गरेको छ । त्रिविले अनुदान तर्फ १० अर्ब ३७ करोड ३७ लाख र आन्तरिक आय तर्फ ८ अर्ब ६७ करोड ५५ लाख गरी जम्मा १९ अर्ब ४ करोड ९२ लाख अर्थात (७६.५८ प्रतिशत) खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वाअञ्चल विश्वविद्यालय
कोशी प्रदेशको विराटनगरमा रहेको यो विश्वद्यिालयले ९० करोड ९५ लाख ४५ हजार आम्दानी गरेको छ । नेपाल सरकारबाट प्राप्त २१ करोड अनुदान गणना गर्दा यस विश्वविद्यालयले कुल ९० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस विश्वविद्यालयले ६४ करोड ९८ लाख २२ हजार खर्च गरेको छ । यस विश्वविद्यालय अन्तर्गत ९ आङ्गिक र ११७ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । ती क्याम्पसहरू मार्फत् यस विश्वविद्यालयले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
घाटामा सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी भन्दा बढी खर्च गरेको महालेखाको प्रतिवेदनबाट देखिन्छ । सरकारबाट प्राप्त गरेको ४३ करोड ८२ लाख ७९ हजार रुपैयाँ र आन्तरिक आय गरेर कुल ८६ करोड ९३ लाख ५ हजार रुपैयाँ सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी गरेको छ । गत वर्षको मौज्दात समेतबाट कुल १ अर्ब १ करोड २८ लाख ९ हजार रुपैयाँ यस विश्वविद्यालयले खर्च गरेको छ ।
कला, विज्ञान, चिकित्साशास्त्र लगायत विभिन्न विधाका विषयमा अध्ययन, अध्यापन र अनुसन्धानद्वारा दुर्गमलगायत सबै क्षेत्रका जनतालाई सुलभ रूपमा गुणस्तरयुक्त उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालयको स्थापना ३०६७ सालमा भएको हो ।
यस विश्वविद्यालय अन्तर्गत ६ संकाय, १५ आङ्गिक क्याम्पस, २ कार्यालय र ६ विभाग रहेका छन् ।
पोखरा विश्वविद्यालय
उच्च शिक्षामा निजी क्षत्रको सहभागिता वृद्धी गरी प्राविधिक तथा अन्य व्यावसायिक विषयमा गुणात्मक विकास गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना १९९६ मा भएको हो ।
चार आंगिक र देशभर ५० भन्दा बढी सम्बन्धन प्राप्त महाविद्यालयहरू रहेको यस विश्वविद्यालयको आम्दानी न्यून छ । पोखरा विश्वविद्यालयले सरकारबाट प्राप्त गरेको २२ करोड ७ लाख ६५ हजार र आन्तरिक आम्दानी १ अर्ब ६१ करोड ३८ लाख ८१ हजार रुपैयाँमध्येबाट ६४ करोड ४७ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ ।
नेपाल खुला विश्वविद्यालय
नेपाल खुला शिक्षा प्रणाली द्धारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यले यो विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो । वि.सं. २०७३ सालमा स्थापना गरिएको यस विश्वविद्यालयले औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्ने काम गर्छ ।
यो विश्वविद्यालयले सरकारबाट प्राप्त १० करोड २८ लाख रुपैयाँ र आन्तरिक तर्फ गरी कुल आय ७४ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । तयसमध्ये यस विश्वविद्यालयले ८ करोड ३८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
यो विश्वविद्यालय नेपाल सरकारद्धारा प्रस्तावित नयाँ विश्वविद्यालय हो । देशको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा नयाँ ज्ञान र प्रविधिको सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ ।
यो विश्विद्यालयले नेपाल सरकारबाट प्राप्त ३ करोड ५० लाख रुपैयाँ र आन्तरिक ६४ करोड ५७ लाख १२ हजारमध्ये २७ करोड ३१ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय
यो विश्वविद्यालयले कर्णाली प्रदेशको सुर्खेतमा छ । अध्यापन र अनुसन्धानद्वारा सबै क्षेत्रका जनतालाई गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर सुलभ रूपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बहुविश्वविद्यालयको अवधारणाअनुरूप प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउन नेपाल सरकारको लगानीमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना गरिएको थियो ।
सरकारबाट प्राप्त ४२ करोड ५१ लाख १७ हजार रुपैयाँ, गत वर्षको बचत १३ करोड ८३ लाख ९६ हजार र आन्तरिक आय १ करोड ९ लाख ३ हजार गरी कुल आय ५७ करोड ४४ लाख १६ हजार रुपैयाँ यस विद्यालयले आम्दानीका रुपमा देखाएको छ । यस विश्वविद्यालयले कुल ५७ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च गरको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.