सामाजिक सञ्जालको सिकार बन्दै बालबालिका, आर्थिक प्रलोभनदेखि हिंसाका घटना बढ्दै

  २०८१ जेठ १८ गते १५:३७     विकासन्युज

काठमाडौं । घटना-१, एउटी १४ वर्षकी बालिका काठमाडौंको एक घरमा घरेलु काम गर्दै आएकी थिइन् । काम गरे बापत उनले बस्न खानसहित पारिश्रमिक पनि पाइरहेकी थिइन् । बालिकाले पैसा माग्ने बित्तिकै साहुले पनि पैसा दिइरहन्थे । एउटा गाउँबाट आएकी ती बालिका काठमाडौंमा घरेलु कामदारकाे रूपमा काम गरेर गुजारा चलाउँथिन् ।

हातमा पैसा दिए खर्च गरिसक्ने भन्दै साहुले बालिकाको मासिक पैसा बैंकमा बचत गर्थे । केही समयपछि ती बालिकाले साहुसँग काम गरेको सबै पैसा मागिन् । साहुले एक पटक ३० हजार रुपैयाँ दिए । त्यसको एक महिनापछि फेरि बालिकाले साहुसँग पैसा मागिन् । साहुले पैसा केमा खर्च गरेको, किन चाहियो, अहिले जम्मा गरिराख भनेपछि ती बालिका साहुसँग रिसाइन् ।

उनले कामै नगर्ने धम्की दिइन् । केहि दिनपछि साहुको मोबाइलमा फोन आयो । थाहा नभएको नम्बरबाट फोन आउँदा उनले कसको रहेछ भनेर फोन उठाए । यताबाट हेलो भन्न नपाउँदै उताबाट धम्की आयो, काम गरेको पैसा नदिने ? आवाज केटाको थियो । काम गर्न लगाउने, पैसा माग्दा नदिने भन्दै फोनबाट धम्की आएपछि ती घरधनी बालिकालाई साथमा लिएर प्रहरी वृत्त महाराजगञ्जमा पुगे ।

पछि थाहा भयो । ती बालिकालाई एक जना भारतीय नागरिकले ह्वाट्सएपबाट प्रलोभनमा पारेको रहेछ । माया गर्छु, तिमीलाई मन पराउँछु भन्दै ह्वाट्सएपमा कुराकानी गर्ने र पैसा माग्ने गरेको अनुसन्धानबाट खुल्यो । ती बालिकाले तिनै केटालाई दिन साहुसँग पैसा मागेकी रहेछिन् । पैसा नदिँदा तिनै भारतीय नागरिकले फोनबाट साहुलाई धम्की दिएको रहेछ । प्रहरीले ती बालकालाई सोधपुछ गर्दा केटासँग भेट नभएको तर फोनबाटै कुराकानी गरेर प्रलोभनमा पारेको जानकारी भयो । अहिले ती बालिकाले भारतीय युवकविरुद्ध मुद्धा दर्ता गराएकी छन् ।

घटना-२, एउटा १४ वर्षकी बालिका हरेक दिन अर्धनग्न भएर सामाजिक सञ्जालमा लाइभमा बस्थिन् । उनलाई यसो गरे बापत दुइटा कोठा र ४० हजार रुपैयाँ दिने गरेको थियो । पैसा र कोठा लिदिने अर्की केटी १८/१९ वर्ष की युवति नै थिइन् । फ्रिमा काठमाडौंमा कोठा र ४० हजार पैसा पाउँदा उनलाई काम गर्न कुनै समस्या भएन । तर, सामाजिक सञ्जालमा गरिरहेको यस्तो हर्कतबारे अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी पर्यो । ती बालिकालाई पक्राउ गरियो । तर, उनलाई काम लगाउने व्यक्ति को हो भन्ने उनैलाई थाहा थिएन । अहिले ती व्यक्तिको खोजी भइरहेको टेकु प्रहरीले जनाएको छ ।

घटना-३, एउटा २४ वर्षीया किशोरी भक्तपुर प्रहरीमा आइन् । उनले सामाजिक सञ्जालमै चिनजान व्यक्तिबाट आफु हिंसामा परेको बताइन् । फेसबुकबाट चिनेको व्यक्तिसँग केही समय कुराकानी गर्दा उनको भेटघाट भयो । दिनहुँको भेटघाटपछि उनीहरू झन नजिक हुन थाले । बिहे गर्ने बचन गरेका उनी घरमा बाआमालाई थाहा नदिइ लुकेर केटासँग बस्न थालिन् । जब ती किशोरीको पेटमा बच्चा बस्यो ति केटा फरार भए । किशोरीलाई केटा कहाँको हो, के गर्छ, उसको परिवार को हो भन्ने समेत थाहा थिएन । उनले घरमा आमालाई भन्न नसकेर प्रहरी कहाँ आएपछि अहिले यो घटना पनि प्रहरीकहाँ दर्ता भएर अगाडि बढिरहेको छ ।

उल्लेखित घटना काठमाडौंमा शुक्रबार भएको एउटा कार्यक्रममा प्रहरीले बताएका हुन् । बालबालिका सम्बन्धी काम गर्दे आएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)ले ‘प्रहरीसँग पीडित केन्द्रित अनुसन्धान सम्बन्धी छलफल’मा सहभागी प्रहरी अधिकृतहरूले अहिले समाजमा यस्ता घटना निकै बढेका बताएका छन् ।

सामाजिक सञ्जाल, फेसबुक, ह्वाट्सएप, टिकटक लगाएतका विभिन्न प्लेटफर्मबाट पीडित हुने बालबालिकाको संख्या धेरै छ । बालबालिका बढी सामाजिक सञ्जालमा केन्द्रित हुनु र अभिभावकले ध्यान नदिँदा पनि यस्ता घटना बढ्दै गएको उनीहरूको भनाइ थियो ।

नेपालमा ठगी, प्रलोभन लगायत विभिन्न अपराधका मुद्दामा बालबालिका पर्ने गरेको साइबर ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालबाट बालबालिकाहरू कसरी पीडित भइरहेका छन् र कसरी जोगाउने भन्ने विषयमा ठूलो सचेतना फैलाउनु आवश्यक रहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले बताए । उनले अहिले हरेक जिल्लामा यस्ता घटनाको उजुरी दिन सकिने व्यवस्था रहेको बताउँदै अनलाईनबाट पनि उजुरी दिन मिल्ने बताए ।

यसरी विभिन्न कारण समस्या परेका बालबालिकालाई सहयोग गर्न प्रहरी दिनरात तयार रहेको प्रहरी अधिकृतहरूले बताएका छन् । उपत्यकाका हरेक जिल्लामा महिलासेल स्थापना गरी महिला र बालबालिकाका समस्यालाई प्राथमिकताका साथ हेरिरहेको उनीहरूकाे भनाइ छ ।

ठगी, हिंसा, प्रलोभनमा परेका बालबालिकाका उजुरी दिनहुँ सयौँको संख्यामा आइरहेको उनीहरूको भनाइ । महिला र बालिबालिकालाई खुल्न सहज होस् भन्दै प्रत्येक महिला बालबालिका सेलमा महिला नै कर्मचारी राख्ने गरिएको छ । बालबालिका विभिन्न कारण हिंसामा परिरहेको बताउँदै उनीहरूले समाजमा सचेतना आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.