२०८१ जेठ २१ गते १३:३० सीआर भण्डारी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमा नेपाललाई सूचना प्रविधि (आईटी) को हब बनाइने र १० वर्षमा ३० खर्बको आईटी निर्यात गर्ने सरकारको लक्ष्य घोषणा गरे । साथै, मन्त्री पुनले ५ लाखले प्रत्यक्ष तथा १० लाखले अप्रत्यक्ष रोजगारी पाउने गरी आर्थिक वर्ष २०८१/८२ लाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि सारे ।
सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहक क्षेत्रका रूपमा स्थापित र नवीनतम् प्रविधि अवलम्बन गर्न कानुनी आधार निर्माण गर्ने आगामी वर्षको बजेटमा मन्त्री पुनले समावेश गरेका छन् । यसरी सरकारले नेपाललाई सूचना प्रविधिको हब र निर्यात गर्ने भनिरहँदा नेपालमै उत्पान भइरहेको आईटी सेवा स्वदेशी कम्पनीहरूले प्रयोग गर्न आनाकानी गरिरहेको आईटी व्यवसायीहरू बताउँछन् ।
स्वदेशमा आईटी व्यापक उत्पादन भइरहँदा आन्तरिक खपत पनि उच्च होस् भन्ने अपेक्षा व्यवसायीहरूको छ । विशेषगरी बैंकिङ क्षेत्रले स्वदेशमै उत्पादन भएको सफ्टवेयर प्रयोगमा जोड दियो भने अन्य क्षेत्र पनि स्वतः आकर्षित हुने व्यवसायीहरूको विश्वास छ । विगतमा विदेशी लगानी भएका वाणिज्य बैंक बाहेक अन्य सबै बैंकहरूले स्वदेशी सफ्टवेयर प्रयोग गर्थे । तर, पछिल्लो समय स्वदेशी सफ्टवेयरलाई फेजआउट गर्दै ती बैंकहरूले पनि विदेशी सफ्टवेयर प्रयोगमा जोड दिएका छन् ।
हाल राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंक, सबै विकास बैंकले स्वदेशमै उत्पादन भएको पुमोरी सफ्टवेयर प्रयोग गर्छन् भने फाइनान्स कम्पनी, लघुवित्त र सहकारी संस्थाहरूले विभिन्न स्वदेशी सफ्टवेयर प्रयोग गर्छन् । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि ग्लोबल टेण्डर आह्वान गरेर विदेशी सफ्टवेयर प्रयोग गर्न खोजिरहेका छन् । राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनी विदेशी सफ्टवेयर खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको बताउँछन् । अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर प्रयोग गर्ने भनेर विदेशी सफ्टवेयरका लागि टेण्डर आह्वान गरेको उनको भनाइ छ । यससँगै वाणिज्य बैंकहरूमा नेपाली सफ्टवेयर फेजआउट हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का पूर्व अध्यक्ष नवराज कुँवर बताउँछन् ।
आईटी हब बनाउने, १० वर्षमा ३० खर्ब निर्यात गर्ने लक्ष्य राखेपनि स्वदेशमा उत्पादन भइरहेको आईटी आन्तरिक खपत न्यून रहेको उनको भनाइ छ । विगतमा सरकारले घोषणा गरेको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम कार्यान्वयन नहुँदा विश्व बैंकको लगानी सहमति फिर्ता भएको तितो अनुभव उनले सुनाए ।
‘काठमाडौंमा १० वटा घरमध्ये एउटा घरमा सफ्टवेयर कम्पनी छ । विदेशमा जनशक्ति महँगा छन् । नेपालमा उत्पादन गर्दा सस्तो पर्छ । तर, स्वदेशमा उत्पादन भएको सफ्टवेयर तीनै तहका सरकारी कार्यालयमा समेत प्रयोग भएको छैन । अधिकांश कार्यालयमा विदेशी सफ्टवेयर छ,’ उनले भने, ‘पुमोरी सफ्टवेयर प्रयोग गरेवापत वार्षिक एक/डेढ लाख पर्छ । त्यसलाई रिप्लेस गर्दै करोडौं पर्ने विदेशी सफ्टवेयर प्रयोग गर्न थाले । किनभने विदेशबाट खरिद गरेर ल्याउँदा कमिसन खान पाइन्छ । तर, नेपालको सफ्टवेयर प्रयोग गर्दा कमिसन आउँदैन ।’
सरकारले स्वदेशी सफ्टवेयरको गुणस्तर नियमन र प्रयोगमा जोड दिनु पर्ने उनको भनाइ छ । नेपाली सफ्टवेयर गुणस्तरीय भएपनि कम्पनीहरूले विश्वास नगरेको उनले बताए । ‘नजिकको तिर्थ हेला’ भने जस्तै नेपालका कम्पनीहरूले स्वदेशी सफ्टवेयरलाई विश्वास नगरेको उनी बताउँछन् । जबकी नेपालकै सफ्टवेयर विदेशी कम्पनीलाई भरपर्दाे र राम्रो छ ।
क्यान महासंघका कोषाध्यक्ष नबिन जोशीका अनुसार सबैभन्दा परिपक्व र अधिकतम प्रयोग भएको स्वदेशी सफ्टवेयर पुमोरी हो । धेरै शाखा कार्यालय भएका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम बैंकले पुमोरी सफ्टवेयर चलाइरहेका छन् । बैंकिङ क्षेत्रलाई चाहिने मोडुल सबै परिपूर्ति गर्न सकेपनि अन्तर्राष्ट्रिस्तरको सफ्टवेयर प्रयोग भइरहेको उनको भनाइ छ ।
‘अधिकांश बैंकले फिनाकल, टेमेनोस सफ्टवेयर प्रयोग गर्छन् । यी सफ्टवेयरले दिन सक्ने सुविधा पुमोरीले दिन सक्छ । पुमोरी सफ्टवेयर अन्तर्राष्ट्रिय स्तरको छ । किनभने म्यानमारको बैंकमा पुमोरी सफ्टवेयर राम्रोसँग प्रयोग भइरहेको छ,’ उनले भने, ‘अब निश्चित प्यारामिटर र सर्टिफिकेसन गर्न सक्यो भने नेपाली सफ्टवेयरले बाहिरको सफ्टवेयरसँग प्रतिस्पर्धा गर्न सक्छन् । नेपालकै इण्डष्ट्रिलाई मात्र गर्ने हो भने आउटपुट आउँदैन ।’
हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक, प्राइम बैंक, सबै विकास बैंकले पुमोरी सफ्टवेयर प्रयोग गर्छन् । साथै, फाइनान्स कम्पनी, लघुवित्त र सहकारी संस्थाहरूले स्वदेशी सफ्टवेयर प्रयोग गरिरहेका छन् । स्वदेशी सफ्टवेयरमा सरकारले प्यारामिटर तोक्नु पर्ने जोशीको भनाइ छ ।
‘सफ्टवेयरमा यो–यो हुनुपर्छ भनेर मापदण्ड सरकारले तोक्नुपर्छ । सरकारले तोकेका मापदण्ड सबै पुरा गरेका सफ्टवेयरलाई पहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘यदि नेपाली सफ्टवेयरमा क्राइटेरियो पुग्दैन भने त्यो क्राइटेरिया पुर्याउँछन् । किनकी नेपाली जनशक्ति अब्बल भइसकेका छन् ।’
क्यानका महासचिव चिरञ्जीवी अधिकारी बैंक तथा वित्तीय संस्थाले नेपालमा उत्पादन भएको सफ्टवेयर प्रयोग गर्न छाडेको बताउँछन् । आईटीबाट समृद्धि होस् भन्ने आफूहरूको चाहना भएपनि स्वदेशमा खपत नहुँदा समस्या भइरहेको उनको भनाइ छ । अधिकांश वाणिज्य बैंकले स्वदेशको सफ्टवेयर इग्नोर गरेर विदेशी प्रयोग गरिरहेको उनले गुनासो गरे ।
‘२० वटा वाणिज्य बैंक छन् । अधिकांश बैंकले विदेशी सफ्टवेयर प्रयोग गर्छन् । पहिला अधिकांश बैंकले नेपाली सफ्टवेयर प्रयोग गर्थे भने अहिले ठ्याक्कै उल्टो भयो । सूचना प्रविधिबाट समृद्धि ल्याउँछु भन्दा सफ्टवेयर उद्योगलाई कसरी सुल्टो दिशामा ल्याउने हो ?,’ उनले भने, ‘हालै सस्तो डिल बन्द भयो । नेपाली आईटी कलेजमा २० जना विद्यार्थी छन् भने विदेशीमा २ सय जना अध्ययन गर्छन् । यहाँ टुटल बन्द हुन्छ भने पठाओ राइज (उदाउँछ) । नेपाली सफ्टवेयर कम्पनी घट्दो अवस्थामा छन् भने विदेशी सफ्टवेयर बढिरहेका छन् ।’
उनका अनुसार लगानी सम्मेलनमा डाटा सेन्टर सञ्चालन गर्ने विषयमा सम्झौता भयो । ३ अर्ब लगानी गर्दा छुट दिने सरकारले आईटीमा ८ अर्ब लगानी भित्र्याउने कम्पनीलाई कर नै कर लगाएको महासचिव अधिकारीको भनाइ छ । ‘नेपाली उद्यमीले डाटा सेन्टर बनाउन ८ अर्ब बढी लगानी गर्दा अत्यधिक कर लगाइएको छ । तर, तीन अर्ब लगानी भएको कम्पनीलाई छुट हुँदा सूचना प्रविधि व्यवसायीलाई ठूलो असर परेको छ,’ उनले भने ।
क्यान महासंघका कोषाध्यक्ष जोशीका अनुसार स्वदेशमै बिक्री वितरण भइरँदा खासै प्रभाव नपरेको बताउँछन् । परिपक्व भएको प्रडक्ट मात्रै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले आन्तरिक प्रयोगमा व्यापक जोड दिनुपर्ने उनको भनाइ छ । आवश्यकताका आधारमा सफ्टवेयर निर्माण भइरहेकाले धेरै अगाडि बढ्न नसकिएको उनले बताए ।
‘नेपालमा उत्पादन आईटी सामाग्री स्वदेशमै बिक्री वितरण गर्दा त्यो लेभलको भयावल अहिलेसम्म भइसकेको छैन । किनभने नेपालको उद्योगले मात्रै सम्भव छैन । नेपाली कम्पनीले अन्तर्राष्ट्रियस्तरको खोज्छ, त्यो लेभलको स्ट्याण्डर्ड गर्न अझै बाँकी छ । नेपालमा अहिले आवश्यकता अनुसारका सफ्टवेयर मात्रै बनेका छन्,’ उनले भने, ‘जतिपनि डिजिटाइजेशनको काम भएको छ, नेपालमै बनेका सफ्टवेयरको देन हो । तर, सफ्टवेयरको स्तरीयकरण, अन्तर्राष्ट्रियस्तरको बन्न सकेका छैन्न ।’
जोशीका अनुसार नेपालमा सबैभन्दा परिपक्व र अधिकतम प्रयोग भएको सफ्टवेयर पुमोरी हो । बैंकिङ क्षेत्रलाई आवश्यक पर्ने सबै मोडुल यस सफ्टवेयरमा भएपनि बैंकहरू अन्तर्राष्ट्रिस्तरको सफ्टवेयर प्रयोगमा जोड दिइरहेको उनको भनाइ छ ।
‘अधिकांश बैंकले फिनाकल, टेमेनोस प्रयोग गरिरहेका छन् । ती सफ्टवेयरले दिन सक्ने सुविधा पुमोरी दिन सक्छ । तर, सरकारले निश्चित प्यारामिटर, सुरक्षा, सीएमएमआई, लेभल फोर, फाइभ सर्टिफिकेसन तोक्नुपर्छ । त्यसपछि नेपाली सफ्टवेयरले बाहिरको सफ्टवेयरसँग प्रतिस्पर्धा गर्न सक्छ । म्यानमार, बङ्गलादेश, खाडी मुलुकमा जान सकियो भने राम्रो गर्न सकिन्छ,’ उनले भने, ‘पुमोरी सफ्टवेयर अन्तर्राष्ट्रिय स्तरको छ । किनभने म्यानमारको बैंकमा पुमोरी सफ्टवेयर राम्रोसँग चलिरहेको छ । अन्य देशमा जान मार्केटिङ गर्न सकिएको छैन ।’
नेपालमा उत्पादन हुने सफ्टवेयरमा विश्वव्यापीकरण अनुसार के के हुनुपर्छ भनेर मापदण्ड बनाउनुपर्ने र सो अनुसारको मापदण्ड पुरा गर्न कम्पनीहरू तयार रहेको उनको भनाइ छ । त्यसपछि नेपाली कम्पनीहरूमा पहिलो प्राथमिकता नेपाली सफ्टवेयरलाई दिनुपर्ने उनको माग छ ।
बजेटमा सूचना प्रविधि व्यापक समेटिँदा उत्साहित भएका व्यवसायीहरू स्वदेशी कम्पनीहरूले इग्नोर गर्दा निराश बन्न बाध्य छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने स्वदेशका विभिन्न सफ्टवेयर प्रयोग गरिरहेको बताउँछन् । अडिट सिस्टम, रिस्क म्यानेजमेन्ट, फिक्स्ड एसेट म्यानेजमेन्ट, कर्जा, मोबाइल बैंकिङका सफ्टवेयर स्वदेशकै प्रयोग गरिरहेको बैंकरहरूको दावी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.