एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुभारम्भ, १ अर्ब ७ करोड पुग्यो चुक्ता पुँजी

  २०८१ जेठ २१ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितीमा नेपाल क्लियरिङ्ग हाउसले नेप्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुभारम्भ गरेको हो ।

एनसीएचएलले नेप्सलाई २८ रुपैयाँमा खरिद गरेको हो । सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) अनुसार नेप्सको १ सय कित्ता बराबर एनसीएचएलको २८ कित्ता हुनेछ ।

एकीकृत कारोबारपश्चात् कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कायम रहनेछ । साथै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साविक एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान बनेका छन् ।

नेप्सलाई प्राप्तिपश्चात् एनसीएचएलको हालको सञ्चालक समिति र व्यवस्थापन टिम नै यथावत रहनेछ ।

दुई कम्पनीबीच गत चैत २२ गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो भने वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाले एकीकृत कारोबारको मिति तय गरेको थियो ।

नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीमा कर्मचारीको संख्या १३२ जना, प्रडक्ट ९ वटा, सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १ सय बढी पुगेका छन् ।

साथै, कम्पनीको ट्रान्जिक्सन भ्यालू ११.३० ट्रिलियन र ट्रान्जिक्सन भोलुम १३१ मिलियन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.