एनसेल र नेपाल युवा परिषद्को पहलमा ७७ जिल्लामा ७७ सय रुख रोपिने

  २०८१ जेठ २४ गते ९:४९     विकासन्युज

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एकैसाथ सातहजार ७०० बिरुवा रोप्न सहकार्य गरेको छ । ‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बिरुवा रोपिने जनाइएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरूप ुएक युवा, एक बिरुवाु अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक बिरुवा रोप्ने जनाएको छ । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ ।

रोपिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारीसहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को छ ।

सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

‘आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरूको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणासँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौँ । यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपालका युवाहरूको बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरूसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ ।

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेर वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए ।

एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान सञ्चानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.