२०८१ जेठ ३० गते ११:५२ विकासन्युज
काठमाडौं । पछिल्ला केही दिनमा काठमाडौं उपत्यकासहित देशभरि गर्मी बढेको छ ।
काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता बढेको काठमाडौंको उखरमाउलो गर्मीबाट सर्वसाधारणले सकस महसुस गरिरहेका छन् ।
घरबाट काममा निस्किनेहरू चर्को घाममा हिँड्नुपर्दा पसिनाले निथ्रक्क भिजिरहेका हुन्छन् ।
काठमाडौंको उखरमाउलो गर्मीबाट सबैभन्दा बढी सकस भोगिरहेकामा खुला आकासमुनि काम गर्ने श्रमजीवी वर्ग रहेका छन् । खेतबारीमा काम गर्ने किसानदेखि, इँटाभट्टामा काम गर्ने, दैनिक ज्यालादारीमा बाहिर काम गर्ने मजदुरले बाध्य भएर गर्मी सहिरहेका छन् ।
त्यसपछि सार्वजनिक यातायात प्रयोग गर्ने आमसर्वसाधारणले सबैभन्दा बढी गर्मी सहनुपरिरहेको छ । त्यसबाहेक आफ्नै दुई पाङ्ग्रे सवारीसाधन हुने पनि अहिलेको गर्मीमा बढी सकसमा देखिन्छन् ।
तर, आफ्नै चार पाङ्ग्रे गाडी हुनेहरू भने घरबाट बाहिर निस्किँदा पनि गाडीभित्र ‘एयर कन्डिसन’ (एसी) हुने भएका कारण राहत महसुस गरिरहेका छन् ।
अत्यधिक गर्मी भएकै कारण आर्थिक पक्ष केही सबल भएकाहरू घरमा एसी जडान गर्नतिर लागेका भेटिन्छन् भने त्यसभन्दा कम आय भएकाहरू पंखा किन्न बजार पुगिरहेका भेटिन्छन् ।
बाटोमा हिँड्दा हिँड्दै गर्मी सहन नसकेपछि कोल्ड स्टोर, खुद्रा पसल वा डेरी पसल छिरेर चिसो पेय, बरफ, आइसक्रिम लगायत खानेको भीड पनि ठाउँ–ठाउँमा देख्न सकिन्छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आज बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसबीच रहने बताए ।
सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । जबकि हिजो मंगलबार विराटनगरमा भने अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा मापन गरिएको तापक्रम विराटनगरको भन्दा बढी हो ।
मंगलबार सबैभन्दा बढी धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । यस दिन नेपालगञ्जको तापक्रम ४३.६ डिग्री रहेको थियो । ४० डिग्रीभन्दा माथि तापक्रम भएको अर्को स्थान वीरेन्द्रनगर थियो, जहाँ ४०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
गर्मीका कारण मानिसको जनजीवन प्रभावित भएको छ । वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता भने यहाँको तापक्रम लगातार बढ्दै गइरहेको छ ।
तस्बिरहरू : सौगात पुडासैनी
Copyright © 2024 Bikash Media Pvt. Ltd.