२०८१ जेठ ३१ गते १८:२७ विकासन्युज
भक्तपुर । भाषा आयोग र ‘काठमाडौं स्कुल अफ ल’ बीच नेपालको लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन अनुसन्धान र संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता भएको छ ।
‘काठमाडौं स्कुल अफ ल’ मा आज आयोजित एक कार्यक्रमबीच भाषा आयोगका पदाधिकारी, प्राध्यापक तथा विद्यार्थीसहितको उपस्थितिमा द्विपक्षीय सम्झौता भएको हो ।
लोपोन्मुख भाषाको अनुसन्धान, संरक्षण र विकासका पक्षमा सहकार्य गर्ने उद्देश्यले आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चन र कलेजका कार्यकारी निर्देशक प्राडा युवराज सङ्ग्रौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
शैक्षिक स्रोत, अनुसन्धानका निष्कर्ष, विज्ञता, पूर्वाधारमा साझेदारी तथा शैक्षिक अनुसन्धान प्रयोजनका लागि आवश्यक सुविधा आदानप्रदान गर्ने, एकअर्काबीचको सीप, ज्ञान प्राज्ञिक तथा व्यावसायिक अनुभव साझेदारी गरेर भाषा संरक्षणमा सहकार्य गर्ने द्विपक्षीय सम्झौता उल्लेख गरिएको छ ।
मातृभाषाका साथै विशेषगरी लोप हुन लागेका भाषाको विकास र संरक्षणमा संयुक्त प्रयास गर्नेस भाषाविज्ञान, भाषा नीति र कानुनसम्बन्धी अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने, परस्पररूपमा पहिचान गरिएका आपसी चासोका क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण, कार्यशाला र सम्मेलन संयुक्तरूपमा गर्ने तयारी गरिएको काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक प्राडा सङ्ग्रौलाले बताए ।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले सबै मातृभाषाको समान विकास गर्न अवरोध पु(याउने ऐन कानुन संशोधन गरी सबै भाषालाई समानताको अधिकार प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे । ‘काठमाडौँ स्कुल अफ ल’का कार्यकारी अध्यक्ष डा. गोविन्दप्रसाद कुसुमले नेपाली भाषा संस्कृतिमाथि विभिन्न कोणबाट भइरहेको अतिक्रमण र हस्तक्षेप नियन्त्रणका लागि सरोकार भएका पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
भाषा आयोगका कामु सचिव डा. लोप्चनले भाषाको संरक्षणका लागि मातृभाषा, नेपाली भाषा र अन्य भाषाको स्तरीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसका लागि प्राज्ञिक अनुसन्धानमार्फत भाषा समृद्विको राष्ट्रिय संरचना बनाउन आवश्यक रहेको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.