२०८१ जेठ ३१ गते १९:०९ विकासन्युज
काठमाडौं । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार पुष्टि नभएको भन्दै तत्कालीन महाप्रबन्धकसहित सबैलाई सफाइ दिएको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनालाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मुद्दामा उद्योगलाई २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित १० माघ २०८० मा मुद्दा दायर गरेको थियो ।
अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्ण, उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनाल उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका हुन् ।
उद्योगका लागि १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्ने क्रममा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.