सेबोन अध्यक्षको छनाेट प्रक्रियामा चलखेलको आशंका !

  २०८१ जेठ ३२ गते १८:०४     विकासन्युज

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको नियुक्ति प्रक्रियामा चलखेल भएको आशंका गरिएको छ । सेबोनको अध्यक्षको नियुक्ति प्रक्रियामा ढिलाई हुँदा आर्थिक चलखेल भएको आशंका गर्दै एक जना अभियान्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी  दर्ता गराएका छन् । उजुरीकर्ताले आयोगमा निवेदन दर्ता गर्दै तत्काल छानबिन अगाडि बढाउन माग गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डमा पछिल्लाे केही समयदेखि भ्रष्टाचार र अनियमितताका ठूला श्रृंखलाहरु जारी रहेका सूचनाहरु छरपष्ट आइरहेकाे उल्लेख गर्दै उजुरीकर्ताले तत्काल नियुक्ति प्रक्रिया रोकेर छानबिन गर्न आयोगलाई आग्रह गरेका हुन् ।

बोर्डको अध्यक्ष छनोट समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ । जसमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, मुक्ति श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, सन्तोष नारायण श्रेष्ठ र कृष्णबहादुर कार्कीलाई छनोट गरिएको छ । आयोगमा उजुरी दर्ता गरेका अभियान्ताले ती पाँचै जना अध्यक्षका लागि अयोग्य रहेको विषय पनि निवेदनका साथ पेस गरेका छन् ।

निवेदकले उजुरीमा भनेका छन्, ‘५ अर्बको भ्रष्टाचार काण्डबाट देशलाई जोगाउन, ६३ लाख लगानीकर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि पनि सम्मानित अख्तियारले तत्कालै अग्रसरता लिएर अहिलेका सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’

आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले सेबोनको विषयमा उजुरी परेको वा नपरेको विषयमा जानकारी दिन नमिल्ने बताए । ‘हामी उजुरी परेको छ वा छैन भनेर मिडियामार्फत् जानकारी गराउँदैनौं, अनुसन्धान सकेपछि मात्रै सार्वजनिक गर्छौं, अहिले नै उजुरी परेको वा नपरको, अनुसन्धान भइरहेको वा नभएको विषयमा सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।

उजुरीकर्ताले आयोगमा दिएको निवेदन दर्ता भएको प्रमाण विकासन्युजलाई प्राप्त भएको छ । सरकारले बोर्डको अध्यक्षको नियुक्ति प्रक्रियालाई अन्तिम रुप दिँदै गर्दा अख्तियारमा उजुरी परेको हो । स्रोतका अनुसार सरकारले आगामी साताभित्र बोर्डको अध्यक्षमा एक जनालाई नियुक्त गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.