माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

  २०८१ असार ५ गते १६:१३     विकासन्युज

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले बजार पुँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एनभिडिया माइक्रोसफ्टलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी पनि बनेको छ । यसपछि अमेरिकाकै प्रविधि कम्पनीका रूपमा परिचित बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पलको भने स्तर खस्किएको छ। यी तीन कम्पनीबीच विश्वबजारमा कडा प्रतिस्पर्धा छ।

मंगलबार एनभिडिया कर्पको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । उता माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर छ । केहि दिन अघिसम्म शीर्ष स्थानमा माईक्रोसफ्ट नै थियो । यी दुई कम्पनीको बजार पूँजीकरण ०.०२ ट्रिलियन डलर फरक छ ।

रोयटर्सका अनुसार एआई कम्पनीको सेयर ३.२ प्रतिशतले बढेर १३५.२१ डलर पुगेको छ । मंगलबार एनभिडिया कर्पको सेयरमूल्य ३.५१ प्रतिशत बढेर प्रतिकित्ता १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो । यस वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३३ ट्रिलियन डलर पुगेको छ । सोही दिन माइक्रोसफ्टको सेयरमूल्य ०.४५ प्रतिशत घटेर प्रतिकित्ता ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो ।

एनभिडिया कर्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरका लागि आवश्यक पर्ने कम्प्युटर चिपहरू बनाउने गरेको छ । उसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षयता यसको बिक्री र नाफा पनि उकालो लागेको छ ।

त्यस्तै, तेस्रोमा आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर छ । उक्त कम्पनीको सेयर पनि १.१० प्रतिशत घटेर २१४२९ डलर कायम भएको थियो । यसअघि गत जुन ५ मा एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको थियो ।

१० मूल्यवान कम्पनीको शीर्ष स्थानमा ८ वटा अमेरिकी कम्पनीको आधिपत्य छ । जसमा अधिकांश प्रविधिमा आधारित कम्पनी छन् । १० शीर्ष स्थानमा साउदी अराम्को पनि छ । उक्त कम्पनी भने छैटौं स्थानमा १.७८ ट्रिलियन डलरका बजार पुँजीकरणका साथ कायम छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.