२०८१ असार ६ गते १७:४७ विकासन्युज
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका छन् ।
बिहीबार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि इन्टर्नसिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीन वटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा अघि बढाइएको नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले बताए ।
उनले व्यवस्था परिवर्तन भएपनि विद्यालय र विश्वविद्यलयलाई परिवर्तन गर्न नसकिएको अवस्थामा नेविसंघको पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसलाई पाइलट प्रोजेक्टको रुपमा इन्टर्नसिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरिएको बताए । इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक दिनेकुरालाई बिस्तारै देशव्यापी रुमा अघि बढाउने योजना रहेको जानकारी दिए ।
‘व्यवस्था परिवर्तन त भइसक्यो । अब हाम्रो विद्यालय र विश्वविद्यलयलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यहाँ पनि सुधार ल्याउनुपर्छ भनेर नेपाल विद्यार्थी संघले अर्जुनदृष्टिका साथ इन्टर्नसिप र आन्टर्नपिनरसिपमा फोकस भएका छौँ । हामीले तीन वटा कलेजलाई पाइलट प्रोजेक्टको रुपमा त्यहाँका विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसलाई पाइलट प्रोजेक्टको रुपमा लिएका छौँ ’, उनले भने ।
यता, पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख डा.इन्द्रप्रसाद आचार्यले त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीहरुका लागि इन्टर्न गर्नुपर्ने अनिवार्य प्रावधान रहेको र इन्टर्नसिपका लागि न्यूनतम पारिश्रमिक दिनुले विद्यार्थीहरुलाई राम्रो हुने बताए । इन्टर्नसिपका लागि विभिन्न कम्पनीहरुले चासो देखाइरहेको पनि बताए । बिना पैसामा इन्टर्नसिप गर्ने भन्दा न्यूनतम पारिश्रमिक दिने कुराले विद्यार्थीहरुका लागि राम्रो हुने जानकारी दिए ।
‘आज जुन एमओयु भएको छ, यसमा त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीहरुका लागि इन्टर्न गर्नुपर्ने कम्पलसरी कुरा छ । त्यत्तिकै काम गराउने नभइ मिनिमम स्यालरी दिन सहमत भएर आउनुभएको छ’, उनले भने ।
उनले विद्यार्थीहरुलाई इन्टर्नमा पारिश्रमीक दिँदा धेरै सुविधा हुने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.