पर्यटकीय गन्तव्य बन्दै ठोरी, राज्यको वेवास्ता

  २०८१ असार ९ गते १५:२०     विकासन्युज

पर्सा । २०२५ सालमा सिन्धुपाल्चोकका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आए। तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमणबाट ठोरीलगायत आसपासको जंगल जोगाउनकै लागि भनेर नयाँ बस्ती बसाल्ने योजना सारेपछि श्रेष्ठसहितका व्यक्तिहरू आधा दर्जनभन्दा धेरै पहाडी जिल्लाबाट बसाइँ सरेर आउने लहर चल्यो ।

सोही क्रममा सिन्धुपाल्चोक, चितवन, मकवानपुर, पर्वत, गोरखा, लमजुङ, रामेछाप, दोलखालगायत जिल्लाबाट ठोरी आसपासमा रहेका निर्मलबस्ती, सुवर्णपुरलगायत बस्तीमा आएर बसोबास गर्न थालेका थिए ।

पाँच वर्षको उमेरमा सिन्धुपाल्चोकबाट ठोरी झरेका श्रेष्ठ यहाँ आएको ५४ वर्षपछि नै ठोरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। ‘सिन्धुपाल्चोकको बराम्चीबाट मेरा मामाहरू २०२१ सालमा ठोरीमा झरे । मामाहरूकै जोडबलले २०२५ साल मलाई पनि साथमा लिएर मेरो बुबाआमा पनि ठोरीमा आउनुभएको हो,’ विगत स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘हामीले सानो हुँदा ठोरी आसपासको जंगल जोगाउनकै लागि ल्याइएको भन्ने सुन्दै आइरहेको छु ।’

सुरुआती समयमा त ठोरीबाट सदरमुकाम चितवन पुग्न कठिन थियो। बाटोको असहज सुविधा, अन्कन्टार जंगलजंगलको यात्रा गर्नुपर्ने अर्को बाध्यता पनि थियो। तत्कालीन ठोरीको बस्तीमा बसेका बासिन्दालाई चितवन जिल्ला सदरमुकाम जानभन्दा पर्साको सदरमुकाम वीरगन्ज जान सहज हुने भन्दै सीमा पुनर्गठन समितिले २०३४र३५ सालमा ठोरीलाई पर्सा जिल्लामा गाभेको थियो ।

‘पहिला त ठोरीको दुःखको कुरै नगरौँ । सीमावर्ती क्षेत्रका डाँकुले लुटपाट गरेर हैरानै पार्ने गर्थे,’ अध्यक्ष श्रेष्ठले भने, ‘सडक यातायातको असुविधाका कारणले धेरै नै दुःखको हन्डर खाइयो । हामी आएको ५६ वर्षमा अहिले ठोरीको स्वरूप धेरै फेरिएको छ ।’

ठोरीबाट वीरगन्जसँग कालोपत्रसहितको दुई लेनको चौडा सडक बनेको छ। त्यति मात्रै होइन, चितवन छिचोल्ने कच्ची सडकसमेत तयार भइसकेको छ । उतिबेला राजा महेन्द्रले विभिन्न पहाडी जिल्लाबाट ल्याएर बसालेको बस्ती अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्ने वातावरण बन्दै आइरहेको छ ।

तराईरमधेशमा मधेश पर्ने भए पनि ठोरी गाउँपालिका पहाडैपहाडले घेरिएको मनोरम उपत्यका हो । समृद्धि ठोरी अभियानका संयोजक प्रकाश खनाल चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि रिजर्भ एरियाको संगमस्थलमा पर्ने भएकाले पनि वन्यजन्तु तथा पर्यापर्यटनका लागि उपयुक्त स्थल भएको बताउँछन् ।

‘ठोरीमा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावका कारण पर्यटकीय गतिविधि चाहेजति बढाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘सुविधासम्पन्न होटल तथा अन्य पूर्वाधार नहुँदा पर्यटकलाई यही क्षेत्रमा अड्याउन सकिरहेका छैनौँ ।’ उनले वन्यजन्तु पर्यटन र ऐतिहासिक गन्तव्य भएकाले पनि पर्यटनको प्रचुर सम्भावना रहेर पनि संघीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा अपेक्षाकृत् सहयोग नगरेको गुनासो गरे ।

नाकाबन्दीको समयमा ठोरी नै मुलुकभर पेट्रोलियम पदार्थ उपलब्ध गराउने अनौपचारिक नाकाजस्तै भयो । त्यसैमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राम भगवान् ठोरीमा जन्मिएको अभिव्यक्ति दिएपछि यसको चर्चा–परिचर्चा धेरै हुन थाल्यो ।

यहाँ राईधारा वनभोजस्थलका रुपमा निकै चर्चित छ। सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, स्टोनपार्क, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत चार दर्जनभन्दा धेरै पर्यटकीयस्स्थल रहेका छन् ।

ठोरी गाउँपालिका–२ मा रहेको भ्यूटावरबाट पनि सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको छ । पर्यटकीय गतिविधि फस्टाउन थालेसँगै बिस्तारै यहाँ होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम पनि बढ्दै गइरहेको छ। ठोरी गाउँपालिकामा दुई वर्षदेखि सुविधासम्पन्न ठोरी जंगल रिसोर्ट पनि सञ्चालनमा आइरहेको छ ।

ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापा ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन पछिल्ला वर्षमा धेरै बढेको बताउँछन् । ‘हामीले दुई वर्षअघि ठूलो जोखिम मोलेर करिब सात करोड लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका थियौँ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमनले पर्यटनको ‘अफ सिजन’मा पनि पर्यटकको कुनै अभाव छैन,’ सञ्चालक थापाले भने, ‘वन्यजन्तु पर्यटनका लागि प्रचुर सम्भावनाको क्षेत्र भए पनि सरकारले आधारभूत पर्यटकीय पूर्वाधार निर्माण नगर्दा भने अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन सकिरहेको छैन ।’

ठोरीमा कति पर्यटन आउँछन् भन्ने यकिन तथ्यांक छैन । यद्यपि, ठोरी जंगल रिसोर्टले भने गत आर्थिक वर्षमा ६२ हजार पर्यटकले रिसोर्ट घुमेको दाबी गर्छ । रिसोर्टका सञ्चालक थापाले रिसोर्टमा गत वर्ष मात्रै ४८ हजारभन्दा धेरै ग्राहक आएको बताए । सञ्चालक थापा ठोरीमा भारतीयको सीमावर्ती सहर जमुनिया, नरकटियागन्ज, रामनगर, रक्सौल, सुगौली र मुजफ्फरपुर र पटनालगायत भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘प्रायः शनिबार र आइतबार बिदा मनाउन आउने पर्यटकलाई आकर्षित गर्न सकिएमा पनि धेरै राहत पुग्नेछ ।’

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा कागजमै सीमित

मधेश प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा केवल कागजमा मात्रै सीमित भएको छ । तत्कालीन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७८ साल चैत ११ गते ठोरीमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नका लागि रु १० करोड विनियोजन गर्ने घोषणा पनि गरेको थियो तर अहिलेसम्म प्रदेश सरकारले ठोरीको पर्यटन विकासका लागि पूर्वघोषणा गरेअनुरूपको बजेट विनियोजन भने गरेन ।

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरे पनि बजेट भने विनियोजन नगरेको बताउँछन् । ‘मधेश प्रदेशको मन्त्रिपरिषद्कै बैठक बसेर पर्यटकीय गन्तव्य निर्माणका लागि रु १० करोड बजेट विनियोजन गर्ने निर्णय हुँदा यस क्षेत्रमा पर्यटनको विकास हुने ठूलो आशा गरेका थियौँ तर मधेश सरकारको घोषणा केवल कागजमा मात्रै सीमित हुँदा हामी निराश भएका छौँ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले मधेश प्रदेशको एक मात्रै पहाडी गाउँपालिका भए पनि बेवास्ता गरेको आरोप लगाए। गाउँपालिकाले ठोरीको पर्यटनलाई व्यवस्थित गराउन रु नौ करोडको लागतमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर यही वर्ष रु एक करोड लागतको काम सुरु हुन गरिरहेको जनाएको छ । पालिकाले आफ्नै बजेटले ज्येष्ठ नागरिकलाई आराम गर्ने बगैँचा, युवालाई सेल्फी खिच्ने ठाउँ, पौडी पोखरी र बालबालिकालाई खेल्ने ठाउँ बनाउँदैछ। ठोरी गाउँपालिका १२८ दशमलव ६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

भन्सारमै सटही सुविधाको माग

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारतको विहार र उत्तर प्रदेश राज्यको जनसंख्याको थोरै हिस्सा पर्यटक मात्रै भित्र्याउन सकेको खण्डमा पनि नेपालको पर्यटन क्षेत्रलाई गुल्जार बनाउन सकिने बताउँछन् । ‘पर्सा जिल्लाबाट नजिकै भारतको विहार राज्यमा कम्तीमा रु १३ करोड र उत्तरप्रदेश राज्यमा १९ करोड जनसंख्या रहेका छन् । ती राज्यहरूबाट कूल जनसंख्याको एक प्रतिशत मात्रै पर्यटक ल्याउन सके पनि यस क्षेत्रको पर्यटनले मुहार फेर्न सक्ने थियो ।

अहिले भारतीय पर्यटक बोकेर आएका भारतीय नम्बर प्लेटका सवारीसाधनले दैनिक रु सात सय ६५ तिरेर यात्रा गर्ने गर्छन् । अध्यक्ष अग्रवालले पर्सा जिल्लामा रहेका भन्सार कार्यालयसँग मुद्रा सटहीको काउन्टर राख्नुपर्ने बताउनुभयो। ‘भारतीय पर्यटकले भारु पैसा बोकेर आउने गर्छन्। भन्सार क्षेत्रमा मुद्रा सटही नहुँदा पनि पर्यटकले विभिन्न खालका सास्ती भोग्नुपरेको छ,’ उनले भने, ‘यस्ता खालका समस्या समाधान गर्ने हो भने पर्यटकको आकर्षण अझै बढाउन सकिने थियो ।’

ठोरी हुँदै भरतपुर

छोटी भन्सार कार्यालय ठोरीले आफ्नो सेवा स्तरोन्नति गरेसँगै अहिले भारतीय पर्यटकहरूले सवारीसाधनसहितको अस्थायी अनुमति प्राप्त गर्न सहज भएसँगै ठूलो संख्यामा ठोरी नाका हुँदै भित्रिरहेका छन्। भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसर पारेर ठोरी नाका हुँदै आउने पर्यटकलाई भित्र्याउन ठूलै कसरत गर्दै आइरहेको छ तर ठोरी हुँदै भरतपुरसम्मको सडक राम्रो नहुँदा पनि समस्या भइरहेको छ ।

भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले सङ्घीय–प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर ठोरी–भरतपुर सडक खण्डलाई व्यवस्थित गरेर पर्यटकीय गतिविधिलाई अझै बढाउने कोसिस गर्दै आइरहेको बताइन् । वीरगन्ज बजारदेखि ठोरी ५० किलोमिटरको दूरीमा रहेको छ । ठोरीदेखि भरतपुर ७० किलोमिटरको हाराहारीमा छ । यो सडक खण्ड हुलाकी राजमार्गले जोडिएको छ तर चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा पर्ने भएकाले केही खण्डको सडक भने कालोपत्र नहुँदा पर्यटकीय आवागमनलाई सहज हुन सकिरहेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.