२०८१ असार १० गते १५:२७ प्रताप शाक्य
काठमाडौं । अहिले शिक्षा क्षेत्रमा मुख्यतः तीन विषयमा बहस छ । एक- व्यवहारिक शिक्षा भएन । दुई- विद्यार्थीले पढ्दै काम गर्ने वातावरणको सिर्जना भएन । र, तेस्रो- डर लाग्दो हिसाबले विदेश जाने विद्यार्थीको संख्या रोकिएन । जनमानसमा उठेका यिनै गुनासालाई सम्बोधन गर्न भन्दै विभिन्न संघ सस्ंथाले काम गरिरहेका छन् । कलेजले पनि व्यवहारिक शिक्षालाई जोड दिन थालेका छन् । हामीले पनि यही समस्यालाई समाधान गर्ने भन्दै इम्पेरियल बिजनेस कलेज सञ्चालनमा छ ।
सुरुमा इम्पेरियल कलेजले गरिरहेको गतिविधिको विषयमा प्रकाश पार्न चाहन्छु । यो कलेजमा व्यवस्थापन तर्फका दुइटा कार्यक्रम सञ्चालनमा छन् । जनरल म्यानेजमेन्ट अन्तर्गतको ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) र ब्याचलर इन हेल्थ केयर(बिएचसीएम) कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थीको आकर्षण दुवै कार्यक्रममा राम्रो छ । तर, ब्याचलर इन हेल्थ केयर (बिएचसीएम)प्रति विद्यार्थीको आर्कषण अझ बढी छ । सजिलै जागिर पाइन्छ भनेर कुनै पनि विद्यार्थीलाई पढ्न भन्दैनौँ । कलेजले अवसर सिर्जना गरिदिने हो । विद्यार्थीले स्नातक तहको शिक्षा पढ्दा लर्निङ र अर्निङ अथवा सिक्ने र कमाउने हुनुपर्छ भन्ने मान्यता यो कलेजको पनि हो । नेपालमा यस्तो नहुँदा उनीहरूको रोजाई नै विदेश बन्न थालेको छ ।
इम्पेरियल बिजनेस कलेजले विद्यार्थीलाई पढाइसँगै कामको अवसर पनि सिर्जना गर्ने गरेको छ । हामीले विद्यार्थीलाई पढाइसँगै सेमेस्टर अनुसार नन-एकेडेमिक क्यालेन्डर बनाएका छौं । जस्तै, पहिलो सेमेस्टरमा विद्यार्थीलाई पढाइ बाहेक आधारभूत ज्ञान के चाहिँन्छ भन्ने विषयमा छलफल गर्छौं । हाम्रो कलेजमा कुनै पनि विद्यार्थी स्नातक तहमा आइसकेपछि मुख्यतया दुइटा कुरामा ध्यान दिन्छौँ । एउटा एकेडेमिक पार्ट, अर्को सिकाइमुलक कार्यक्रमको आयोजना । किनकि पढेका कुरा व्यवहारमा लागु कसरी गर्ने भन्ने विषयमा जानकारी दिन यस्ता कार्यक्रम आवश्यक पर्छन् ।
सिक्नको लागि कक्षा कोठाभित्र मात्र होइन त्यो भन्दा बाहिर झन धेरै सिकिन्छ । हामी यात्रा गर्दागर्दै पनि धेरै कुरा सिक्न सक्छौं भने कलेजमा विभिन्न इभेन्ट गरेर पनि धेरै कुरा सिकिन्छ । बिजनेसको विद्यार्थीलाई पढाउँदै गर्दा पढाइ सकिएपछि मात्र बिजनेस गर्न सिक भनेर हामीले भन्दैनौं । हामी स्नातकमा पहिलो सेमेस्टरदेखि नै बिजनेसलाई धेरै तरिकाले सिकाउने गर्छौं । विद्यार्थीलाई सिकाउन र व्यवहारिक ज्ञान दिन हामीले गर्न सक्ने भनेकै इभेन्ट हो । त्यसैले पढाइ सँगसँगै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । प्रिजन्टेशन, लिडरसिप, सेमिनार, वर्कसप लगायतका विषयमा प्रशिक्षण गर्ने गरेका छौं । हामीले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षालाई जोड दिइरहेका छौं । कलेजमा गर्ने यस्ता कार्यक्रमले दिने भनेको नेटवर्क पनि हो ।
पहिलो सेमेस्टरदेखि सुरु गरेको इभेन्टले विद्यार्थी आठौं सेमेस्टर पुग्दासम्म हरेक कुरामा पोख्त भइसकेका हुन्छन् । भोलि आफ्नो भविष्यको लागि अथवा स्नातक तहपछि कुनै पनि संघ संस्थासम्म काम गर्न धेरै सहज हुन्छ । यो हिसाबले पहिलो सेमेस्टरदेखि विद्यार्थीलाई यस्ता कार्यक्रममा केन्द्रित गराउँछौँ । हामीले पोखरा विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन गरेका छौं ।
पढ्दै, कमाउँदै
इम्पेरियल कलेजमा अध्ययन गर्ने धेरैजसो विद्यार्थी पार्टटाइम काम गरिहेका छन् । कतिपय कुनै संघ संस्थामा इन्टर्नसिप गरिरहेका छन् भने कतिपय विद्यार्थीले आफ्नै व्यवसाय सुरु गरेका छन् । हेल्थ केयर म्यानेजमेन्टमा अध्ययनरत धेरैजसो विद्यार्थी काम गर्दै पढ्दै गरिरहेका छन् । स्वास्थ्य क्षेत्र यस्तो हो जुन २४ घण्टा चलिरहेको हुन्छ । यसमा १० बजेदेखि ५ बजेसम्म मात्र काम गर्नुपर्छ भन्ने हुँदैन । सिप्टवेसमा काम गर्न सकिन्छ । बिहान पढ्ने बेलुका अथवा राती काम गर्न पनि सकिन्छ । अहिले हामी कहाँ पढ्ने हेल्थ केयरका विद्यार्थी ५० प्रतिशत काम गरिरहेका छन् । यसमा जो काम नगरेर पढिरहेका छन् उनीहरू पनि ८ सेमेस्टरमा पुग्दा कुनै न कुनै संस्थामा आवद्ध भइसकेका हुन्छन् ।
विस्तारै उनीहरू पनि काममा सिफ्ट हुन्छन् । यसमा हाम्रो मुख्य काम भनेको प्लेटर्फम उपलब्ध गराइदिने मात्र हो । विद्यार्थी आफैं पढाइसँगै आफ्नो कामको खोजि गर्छन । हामीले विद्यार्थीलाई सतप्रतिशत जागिर नै दिन्छु भनेर भर्ना गर्दैनौँ । हामीले दिने प्लेटफर्म र बनाइदिने नेटवर्क जुन छ त्यो विद्यार्थीहरूका लागि फाइदाजनक हुन्छ ।
विद्यार्थीका लागि अनेक अवसर
इम्पेरियल बिजनेस कलेजमा पढ्ने विद्यार्थीको सहजताका लागि कलेजले विभिन्न संघ सस्थासँग साझेदारी गरेको छ । बिसीएचएम कार्यक्रमका लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ संस्थासँग समझदारी गरेका छौं । ग्राण्डी अस्पताल, ह्याम्स अस्पताल, ब्लुक्रस अस्पताल, किष्ट अस्पतालसँग हामीले एमओयू गरेका छौँ । विद्यार्थीले चार वर्षसम्म पढ्दा पढ्दै यस्तो संस्थासँग नेटवर्क बनाएर काम गर्न सक्यौँ भने भोलि पढाइ सक्यो भने पनि विद्यार्थीहरूकै लागि सहज हुन्छ । बिजनेस अर्गनाइजेसनमा एचआर कम्पनी, स्टक ब्रोकरसँग हामीले साझेदारी गरेका छौं ।
विद्यार्थीलाई इन्टर्नसिप चाहियो, पार्टटाइम काम चाहियो, किताबमा पढेको कुरालाई भोलि एक्सपोज गर्ने ठाउँ होस् भनेर हामीले त्यो ठाउँ राखिदिएका छौँ । पहिलेको भन्दा अहिले ट्रेण्ड पनि फरक छ । पहिले पढिसकेपछि तपाईं के मा काम गर्नुहुन्छ भन्दा विद्यार्थीले कि बैंक कि सरकारी जागिर गर्ने भन्थे । तर, अहिले त्यसमा केही परिवर्तन आएको छ । विगतमा हामीले पनि बैंक र सरकारी जागरिभन्दा अर्को ठाउँ अवसर देखेका थिएनौं । त्यो भन्दा बाहिर पनि अवसर छन् भन्ने कुरा बुझेका थिएनौं ।
तर, अहिले ट्रेण्ड फेरिएको छ । अवसर र सम्भावना धेरै छन् । अहिले यहाँ पढ्ने धेरै विद्यार्थी आफैले पनि व्यवसाय सुरु गरेका छन् । पहिले विद्यार्थी जागिर खाने हिसाबमा अध्ययन गर्थे भने अहिलेका विद्यार्थी जागिर उत्पादन गर्नेतर्फ बढी सोच्छन् । अहिले पनि अभिभावकमा आफ्नो छोराछोरीले पढाइ सकेर जागिर नै खाओस् भन्ने छ । जबसम्म यो सोचलाई चिर्न सकिँदैन तबसम्म गाह्रो छ । हामीले पनि विद्यार्थीलाई जागिरको अवसरभन्दा बिजनेस कसरी गर्ने भन्ने बारेमा केन्द्रीत गर्छौं । जागिरका लागि पढ्ने भन्दा पनि जागिर दिनका लागि पढ्नुपर्छ । अहिले अर्को गलत मानसिकता भनेको व्यवसाय सुरु गर्नका लागि धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छ । यो सोचाइलाई हाम्रो कलेजले चिर्न खोजेको छ । यसका लागि हामीले सीपमा आधारित शिक्षामा जोड दिएका छौँ ।
व्यक्तिसँग सीप भयो भने डाक्टर र इन्जिनियर र बैंकरले भन्दा बढी कमाउन सक्छ । अहिले विद्यार्थीको रोजाई ब्रोकर हाउस बनिरहेका छन् । किनकि त्यहाँ धेरै अवसर छ । विद्यार्थी इन्टर्नसिपको लागि पनि ब्रोकर हाउस नै रोज्ने गरेका छन् । त्यसैले विद्यार्थीलाई अवसर देखाउन नसक्नु नै कलेजको कमजोरी हो । कलेजले विद्यार्थीलाई अवसर देखाउन सक्नुपर्छ ।
विद्यार्थीलाई कुन बाटोतर्फ लगाउने भन्ने मुख्य हात कलेज र शिक्षकहरूको हुन्छ । विद्यार्थीलाई रिसर्च गर्न लगाएर हुन्छ कि अन्य कुनै असाइमेन्टमा लगाएर हुन्छ भन्ने विषय कलेजले हेर्छ । हाम्रो कलेजमा बिबीए दोस्रो सेमेस्टरको विद्यार्थीले इन्भेष्टमेन्ट फाइनान्सको पाठ पढ्छन । इन्भेष्टमेन्ट भन्ने बित्तिकै सेयर बजारसँग सम्बन्धित हुन्छ । हामीले किताबमा पढेको कुराले मात्र सेयर बजारमा गएर इन्भेष्ट गर्न गयो भने काम हुँदैन । यसमा हामीले १५ दिनको एक्स्ट्रा क्लास लिन्छौँ । यसका लागि पाठ्यक्रम आफैं डिजाइन गरेर विज्ञहरू आएर सो विषयमा बुझाउँछन् । सेयर बजारसँग सम्बन्धित आधारभूत र प्राविधिक विश्लेषणको कुरा विज्ञहरूले सिकाउनु हुन्छ ।
सेयर बजारको विश्लेषण गर्न जान्यो भन्दैमा सेयर बजारमा धेरै कमाउँछ भन्ने होइन । तर, पढेर गाई पाल्नु र नपढेर गाई पाल्नुमा धेरै फरक हुन्छ । विद्यार्थीले छैठौं सेमेस्टरमा कर्पोरेट फाइनान्स पढ्छन् । त्यसको पनि छुट्टै महत्व छ । हाम्रा धेरै जसो विद्यार्थीले अनलाइन बिजनेस सुरु गरेका छन् । सबैभन्दा ठूलो सीप हो । ई-सेवा, दराज, उपाय, ब्रोकर हाउस लगायत कम्पनीमा हाम्रा विद्यार्थीहरू काम गरिरहेका छन् । हाम्रो काम भनेको विद्यार्थीलाई शिक्षा दिनुका साथसाथै विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउनु पनि हो ।
विद्यार्थी पलायनका दोषी
अहिले नेपालमा सबै भन्दा ठूलो चुनौती भनेको विद्यार्थीको पलायन हो । अहिले अधिकांश युवाहरू पलायन भइरहेका छन् । नेपालमा काम नगरेर हरेक युवाले विदेशमा भविश्य देखिरहेका छन् । विद्यार्थी नेपाल नबस्नुको प्रमुख कारण भनेको सरकार र सरकारी नीति नियम हो । दोस्रो कारण भनेको कलेजलाई नियमन गर्ने नियामक हो । तेस्रो कारण भनेको कलेज र विद्यार्थी हुन् । कलेजमा पढिसकेपछि मात्रै जागिर खानुपर्छ भन्ने मानसिकता छ, जुन गलत हो । पढ्दै काम गर्ने अभ्यास कलेजले पनि सिकाउनुपर्छ र विद्यार्थीले पनि सिक्नुपर्छ ।
जस्तै, बिजनेस अध्ययन गरिरहेको एउटा विद्यार्थीले पहिले पढ्ने त्यसपछि मात्र काम गर्ने भन्ने सोच राख्नु हुँदैन । उसले पढ्दै गर्दा कसरी बिजनेस गर्ने ? यसका लागि के-के आवश्यक पर्छ ? भन्ने बारे सिक्दै काम गर्दै जानुपर्छ । अर्को, हाम्रो विश्वविद्यालयले बनाउने एजुकेसन फर्म्याटको पनि दोष छ । हामी अहिले पनि परम्परागत ढाँचामा छौं । हप्ताभरि कलेज लाग्नुपर्छ, बिहानैदेखि कलेज आउनुपर्छ भन्ने बुझाइ छ । यति गर्दा पनि कोर्स सकिँदैन । विदेशी फर्म्यार्ट हेर्नुहुन्छ भने हप्तामा तीन दिन कलेज गएपनि कोर्स सकिन्छ । यसमा कलेजहरूको पनि दोष छ । यहाँ कलेजलाई व्यवसायका रुपमा धेरै हेरिन्छ ।
अर्को महत्वपूर्ण विषय विदेश नै सोलुसन हो भन्ने बुझाइ अधिकांशको छ । नेपालमा बस्ने मान्छेलाई हेर्ने आम मानिसको नजर पनि फरक छ । कहीँ जान नसकेर नेपालमा बसेको अथवा आर्थिक अवस्था कम भएर विदेश नगएको भनेर हेर्ने दृष्टिकोण छ । अझ शिक्षण पेशामा लागेका व्यक्तिलाई केही नजान्ने भन्ने छ । यो गलत मूल्यांकन र बुझाइ हो । अब झन पछिको अवस्था के होला भन्ने लाग्छ । किनभने यो विषयलाई सम्बोधन गर्ने गरी सरकारको तवरबाट कुनै पनि पहल भएको छैन । हामीले यसका लागि गर्न सक्ने भनेको कलेजबाट शिक्षाको पाटो हो । हामीले शिक्षाको विषयमा विद्यार्थीलाई लर्निङ र अर्निङको रुपमा सिकाइरहेका छौ । इन्टर्नसिपदेखि पार्ट टाइम जागिरको लागि सक्दो सहयोग गरिरहेका छौं । पार्ट टाइम बिजनेस गर्न के–के गर्नुपर्छ भन्ने विषयमा सक्दो प्रोत्साहन गरिरहेका छौं । तर, यसका लागि विद्यार्थी पनि तयार हुनुपर्छ ।
समयको व्यवस्थापन कसरी गर्ने ?
अहिले अधिकांश विद्यार्थीको समस्या भनेको समयको व्यवस्थापन पनि हो । समयको व्यवस्थापन गर्न नसकेर धेरै विद्यार्थी अलमलिएका हुन्छन् । विद्यार्थीले पढ्नु पनि पर्यो । शिक्षकले दिएको काम पनि गर्नु पर्यो । कहिले काहीँ प्रिजेन्टेशन पनि गर्नुपर्यो । ट्रेनिङ पनि लिनु पर्यो । त्यसमा पनि सहभागी हुनै पर्यो । परीक्षाको तयारी पनि गर्नै पर्यो । यी विभिन्न कुराहरूमा विद्यार्थीहरू अल्झिएका हुन्छन् ।
यी सबै कुरालाई थोरै समयमा गर्न सक्ने मान्छे नै क्षमतावान हुने हो । विद्यार्थीले जागिरका लागि पढ्नुभन्दा आफ्नो रुचि भएको विषय पढ्दा राम्रो हुन्छ । म हाम्रो कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई सबैभन्दा पहिले यही भन्छु कि तपाईं यो विषय किन पढ्ने ? जुनसुकै विषय पढे पनि सीप भएपछि अवसर अथाहा छ । अहिले यो कलेजमा करिब ५ सय विद्यार्थी छन् । हरेक कार्यक्रममा विद्यार्थीको संख्या पुरा छ । अब लगत्तै स्नातकोत्तरका कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी छ ।
त्यसैले विद्यार्थीले सबै काम गरेर समय व्यवस्थापन गर्न सक्नुपर्छ । जसले समयको व्यवस्थापन गर्न सक्छ उ नै अगाडि बढ्ने हो । सबैका लागि समय उति नै हुन्छ । जसले समयको महत्व बुझ्दै अगाडि बढ्छ, त्यसले नै उपलब्धि हाँसिल गर्न सक्ने हो ।
मनोबल बढाऔं, विकल्प नखोजौं
कलेज सञ्चालन गर्नु पनि एउटा व्यवसाय हो । अहिले विद्यार्थी नपाएर धेरै कलेजहरू बन्द भएका छन् । बिजनेस गर्ने वित्तिकै सबै सफल हुँदैनन् । यो एउटा साइकल हो । कहिले बढ्ने र कहिले घट्ने हुन्छ नै । घटेको बेलामा पनि मेरो कलेजमा १ सय २० जना विद्यार्थी चाहिएको छ भने नेपालमा दुई सयमात्र विद्यार्थी छन् भने २ सय जनामा पनि १ सय २० जना विद्यार्थी मेरै कलेजमा ल्याउन सक्छु भन्ने आत्मबिश्वास हुनु प¥यो ।
क्यानडा, अस्ट्रेलिया सरकारले भिसामा कडाइ गरेको छ । अब चाहिँ मैले विद्यार्थी पाउँछु भनेर खुसी हुनु भएन । विद्यार्थी भएन भनेपनि म मेरो कलेज चालाउँछु भन्ने कन्फिडेन्स (मनोबल) जबसम्म हुँदैन तबसम्म कलेजलाई गाह्रो हुन्छ । हरेक कुरामा मनोबल उच्च हुनुपर्छ । आफ्नो काममा विश्वास हुनुपर्छ । नाफा हुँदा खुसी हुने र नोक्सान हुँदा विकल्प खोज्ने काम गर्नु हुँदैन । त्यो विकल्प हामीले सोचेका पनि छैनौं ।
लर्निङसँगै अर्निङ र हामीले दिएको एक्सपोजरले हामी अवस्थामा छौँ । विद्यार्थी काठमाडौंमा आएर पढ्न थालेपछि पढाइको शुल्क परिवारले दिएपनि बस्न खान अन्य खार्च विद्यार्थी आफंैले पढ्दै कमाउन सक्यो भनेपनि धेरै विद्यार्थी विदेश जानबाट रोकिन्छ । त्यो किसिमको वातावरण कलेजले पनि सिर्जना गर्न सक्नुपर्छ ।
म यो कलेजको प्रिन्सिपल भएको दुई वर्ष भयो । १८ वर्षदेखि यो क्षेत्रमा लागेको छु । मैले हालसम्म १७/१८ कलेजमा पढाएँ । १७ ठाउँ पढाउँदा १७ थरिका विद्यार्थी देखेँ । हरेक व्यक्तिमा धैर्यतार इच्छा चाहिन्छ । मेरो इच्छा र रुची भनेको पढाउनु हो । विगत दुई वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु । पढाउनु र व्यवस्थापनको जिम्मा लिनु आकाश पातालको फरक हो । म धनकुटामा जन्मे हुर्कें । कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढेँ । त्यसपछि भोजपुर गएर आइकम गरेँ । २०५७ सालमा स्नातक पढ्न काठमाडौं आएँ । नेपाल कमर्श क्याम्पसबाट स्नातकोत्तर गरेँ । मैले टिउसन पढाउँदै आफ्नो खर्च चलाएँ । त्यसपछि फर्केर कहिल्यै कसैलाई माग्नु परेन । शिक्षण पेशामा लागेको १८ वर्षको अवधिमा कसैलाई माग्नु परेको छैन ।
एउटा शिक्षकबाट अहिले व्यवस्थापकको भूमिकामा छु । एउटा राम्रो ब्यवस्थापक हुन नेतृत्व क्षमता चाहिन्छ । उसको कुरा गर्ने तरिकासँगै व्यवस्थापन गर्न जान्ने खुबी हुनुपर्छ । त्योसँगै नेतृत्वमा धैर्यता पनि चाहिन्छ । हाम्रो जोड भनेको विद्यार्थीलाई किताबी कुरा पढाउनुभन्दा पढेको कुरालाई कसरी व्यवहारमा लागु गराउने नै हो । त्यो प्रतिवद्धता विद्यार्थी र शिक्षक दुवैमा आवश्यक हुन्छ ।
(शाक्य इम्पेरियल बिजनेस कलेजका प्राचार्य हुन् । उनीसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.