लचिलो मौद्रिक नीति आउँछ भनेर भविष्यवाणी नगर्दा हुन्छ : गभर्नर अधिकारी

  २०८१ असार ११ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति आउँछ भनेर भविष्यवाणी नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति सार्वजनिक गर्दैछ भनेर हल्ला भइरहेको बताउँदै त्यस्तो भविष्यवाणी नगर्न आग्रह गरेका हुन् ।

‘मौद्रिक नीति तथ्यांकमा आधारित भएर आउँछ, लचिलो मौद्रिक नीति आउँछ भनेर कसैले पनि भविष्यवाणी नगरौं, तथ्यांक र तथ्यमा आधारित भएर मौद्रिक नीति आउँछ,’ उनले भने ।

उनले मौद्रिक नीतिको आफनै सीमा हुने भएकोले सोही सीमा भित्र रहेर सार्वजनिक हुने धारणा राखे ।

यस्तै लोन टू भ्यालू रेसियो बढाउन/घटाउन भनेर माग भइरहेको बताउँदै आफ्नो व्यक्तिगत स्वार्थका लागि सुझाव नदिने पनि आग्रह गरे । उनले मौद्रिक नीति कसैको स्वार्थमा भन्दा पनि अर्थतन्त्रको आवश्यकताको आधारमा मौद्रिक नीति आउने बताए ।

उनले बैंकिङ क्षेत्रका विषयमा कुनै गुनासो र समस्या भएमा प्रत्यक्ष राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरे । उनले चालु पुँजी कर्जा मार्गदर्शनलाई देखाएर विरोध नगर्न पनि आग्रह गरे ।

यस्तै, उनले कुनै बैंकले गैरकानुनी रुपमा कर्जामा कमिसन लिएको छ भने पनि राष्ट्र बैंकमा सूचना दिन आग्रह गरे । ‘बैंकमा कर्जा लिदाँ कमिसन लिने गरेको गुनासो सुनियो, त्यो गुनासोलाई राष्ट्र बैंकले तत्काल सम्बोधन गर्छ, यो विषय बैंकिङ क्षेत्रका लागि ठूलो विषयय हो, प्रमाण लिएर राष्ट्र बैंक आउनुहोस् त्यस्ता बैंकलाई तत्काल कारवाही गर्छु,’ उनले भने ।

उनले समस्या र चुनौतीसँग बैंकरले जुध्न सक्नु पर्ने धारणा पनि रादे । उनले राष्ट्र बैंकको सही नियमन गरेकै कारण पनि बैंकिङ प्रणाली जोगिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.