मौद्रिक नीतिमा मोह, कर्जामा कमिसन

  २०८१ असार ११ गते १७:०८     विकासन्युज

काठमाडौं । अहिले अधिकांशले मौद्रिक नीति कस्तो आउँदैछ भनेर चासो दिन थालेका छन् । तर, मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नेपाल राष्ट्र बैंक धेरै बोल्दैन । अधिकांशले मौद्रिक नीतिमा धेरै अपेक्षा गरेको देखिन्छ । कसका के अपेक्षा छन् भनेर राष्ट्र बैंकले सुझावका रूपमा संकलन गरिरहेको छ । सबैले आआफ्नो क्षेत्रबाट सुझाव तथा माग गरिराख्नु भएको छ । तथ्य तथ्याङ्क, वर्तमान अवस्थाका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तयार पार्छ । देशको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति कडा आउँछ भने मूल्यवृद्धि सहज वा भएका बेला केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउनु स्वाभाविक हो । केन्द्रीय बैंक तथ्याङ्कभन्दा बाहिर नगई सन्तुलन भएर मौद्रिक नीति ल्याउँछ । राष्ट्र बैंकका गभर्नरले लचिलो मौद्रिक नीति ल्याउँछु भन्नु भएको छ भनेर यस विषयलाई सहज रूपमा नलिनु होला । वर्तमान अवस्था र तथ्याङ्कलाई अध्ययन गरेर राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भनेर सहज रूपमा अनुमान गर्न सक्नुहुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिसँगै फाइनान्सियल सेक्टर पोलिसी पनि ल्याउँछ । र, अधिकांशको चासो त्यतातिर देखिन्छ । कोभिड महामारीमा धेरै महत्वपूर्ण काम गर्दा अवस्था सहज अवस्था बन्यो । त्यसैले कोभिडकालमा ल्याइएको जस्तो मौद्रिक नीतिको अपेक्षा आफूहरूले नगरेको निजी क्षेत्रले स्पष्ट रूपमा भनिरहेको छ । अर्थात् कोभिडको समयमा जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अहिले नरहेको निजी क्षेत्रले भनिरहेको छ । तर, व्यक्तिगत समस्यालाई सामान्यीकरण गरेको देखिन्छ । आफू अनुकुल गर्न खोजिरहेका छन् । व्यक्तिले आक्रामक रूपमा कर्जा लिएका छन् । त्यसबाट कसरी निस्किने भनेर विभिन्न उपाय खोजिरहेका छन् । त्यो सकसबाट बाहिर निस्किन राज्य, राष्ट्र बैंकले सहयोग गर्छ कि भनेर आशा राखिएको छ । र, ती आशालाई अन्तिममा राष्ट्र बैंकको मौद्रिक नीतिमा ठोक्काउन खोजेको महसुस हामीहरूलाई भइरहेको छ ।

मौद्रिक नीतिका आफ्नै सीमा छन् । त्यसैले धेरै हात फैलाउन वा हाँगा फिजाउन सक्दैन । सीमाभित्र रहेर राष्ट्र बैंकले काम गर्छ । यो विषय सबैले बुझिदिनुपर्छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा दैनिक दुईटा कार्यक्रममा भइरहेका छन् । ती कार्यक्रममा कतिपय साथीभाईहरूले यो–यो वस्तुमा लोन टू भ्यालू रेसियो बढाइदिनुपर्याे भनेर माग गर्नुहुन्छ । अहिलेको लोन टू भ्यालू रेसियो हुँदा त धेरै आत्तिनु भएको छ । अझै योभन्दा बढाउँदा अर्काे वर्ष साँचो बुझाउन आउनुहुन्छ । राष्ट्र बैंकले कसैलाई ऋणमा डुबाउने गरी नीति ल्याउँदैन । व्यक्तिलाई उद्यमी बनाउने हो । व्यवसाय धान्ने वातावरण वा नीति बनाइदिने हो । साथै सुधारका कार्यक्रम पनि ल्याउँछौं । वर्किङ क्यापिटल गाइडलाइन पनि सुधार नीतिका रूपमा अघि सारिएको हो । सुरुवातमा धेरै विरोध भयो । तर, पछिल्लो समय पचाइसक्नु भएको छ । सकारात्मक प्रभाव परेको देखिन्छ ।

वर्किङ क्यापिटल गाइडलाइनले ऋणीलाई ऋण लिन कुनै बाधा–अड्चन हुने छैन भनेर विभिन्न सार्वजनिक फोरमहरूमा भनिरहेको छु । यदि कहीँकतै समस्या देखियो भने सिधैं राष्ट्र बैंकमा गुनासो वा सुझावका रूपमा पेस गर्दा हुन्छ । ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले छुट्टै डिभिजन नै खडा गरेको छ । आगामी आर्थिक वर्षदेखि मार्केट कण्डक्सन (बजार संचालन) को काम पनि गर्ने योजनामा छ । अब संस्थाको नियमन मात्रै नभएर ग्राहक संरक्षणसँग सम्बन्धित विषयमा पनि सुपरीवेक्षण राष्ट्र बैंकले गर्नेछ ।

एक जना ठूलो व्यवसायी म कहाँ आएर वर्किङ क्यापिटलका कारण मेरो व्यवसाय रोकियो, बैंकले पनि विभिन्न कुराहरू गर्न थालेको छ भनेर गुनासो गर्न थाल्नुभयो । त्यसपछि म आफैंले विगत ५ वर्षको फाइनान्सियल विवरण अध्ययन गर्दा पर्मानेन्ट वर्किङ क्यापिटल रिक्वायरमेन्ट धेरै ठूलो देखियो । रेगुलर बस्नुपर्ने स्टक प्रशस्त छ । त्यसका लागि ३ देखि १० वर्षको वर्किङ क्यापिटल लिन सकिने व्यवस्था छ । त्यसैले विरोधका लागि विरोध नगर्न आग्रह छ । व्यवहारिक हिसाबमा समस्या परेको छ भने राष्ट्र बैंकको ढोका खुला छ ।

बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको सार्वजनिक कार्यक्रममा एक जना इन्जिनियर र विकास बैंकका अध्यक्षले गुनासो गर्नुभयो । यो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन । राष्ट्र बैंकले सयौं जनालाई कारबाही गरेको छ । ग्राहकसँग खाता लिंक भएकै संकेतका आधारमा राष्ट्र बैंकले कारवाही गरेको हो । तर, तपाईहरू सार्वजनिक कार्यक्रममा कर्जा लिँदा कमिसन लिएको प्रमाण देखाउँछु भनिराख्नु भएको छ । केन्द्रीय बैंकका लागि यो विषय गम्भीर हो । योभन्दा ठूलो आक्षेप बैंकका लागि अरू केही हुँदैन । कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण केन्द्रीय बैंकलाई दिनुपर्छ । होइन भने सार्वजनिक कार्यक्रममा बोल्न पाए भन्दैमा जे पायो त्यही बोल्न मिल्दैन ।

नेपालको अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्र जरूरी छ । भलै विकसित अर्थतन्त्रमा यस्ता विषयले अर्थ नराख्न सक्छ । प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा १० प्रतिशत कर्जा अनिवार्य नगरेको भए यति धेरै पीपीए हुने थिएनन् । हाल ३३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । आगामी वर्ष ४५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ । अब अरूण तेस्रोबाट पनि बिजुली उत्पादन भएपछि क्षमता अझै व्यापक बन्छ । बैंकहरू जहाँ कम जोखिम छ त्यहाँ बढी कर्जा दिन रुचाउनुहुन्छ । आयात गर्ने, आयातको फाइनान्सिङ गर्ने, सामान बेच्ने र कर्जा तिर्नेलाई कर्जा दिन बैंकहरू सहज मान्नुहुन्छ । तर, राज्यको उद्देश्य आयात गर्ने मात्रै होइन । आन्तरिक उत्पादन बढाउने र रोजगारी श्रृजना गर्नु पनि हो । त्यसका लागि बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ ।

२०८४ सालसम्म कृषिमा १५ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्छ । त्यसपछि कृषिमा ३ खर्ब बराबरको आयात रोकिन्छ । साना उद्यमीलाई पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरू अर्थतन्त्रका खम्बा हुन् । १५ प्रतिशत साना उद्यममा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गतर्फ ३० लाख ग्राहकहरू छन् । जसमध्ये अधिकांश महिला छन् । उहाँहरूले ससानो ऋण विपन्न वर्ग क्षेत्रका माध्यमबाट पाउनु भएको हो । व्यक्तिगत जीवन परिवर्तन गर्न र जीवन निर्वाहका लागि ठूलो योगदान पुर्याएको छ । कहिलेकाहीँ काम गर्ने शिलशिलामा केही समस्या आउँछन् । जसले काम गर्छ उसका बारेमा धेरे कुराहरू आउनु स्वभाविक हुन्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । काम गर्दैगर्दा समस्या आयो भने डराउनु हुँदैन । समस्या र चुनौती व्यवस्थापकका लागि कच्चा पदार्थ जस्तै हुन् । ती समस्या र चुनौतीसँग जुधेर समाधान गर्न अग्रसर हुनुपर्छ । त्यसैले हाम्रो अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा आवश्यक छ । बजार सोही अनुसार परिपक्व हुनुपर्छ ।

बैंकहरू स्वनियमन र अनुशासित हुनुपर्छ । आफ्नो पोर्टफोलियो विविधिकरण, व्यवस्थापन, सन्तुलित र राष्ट्रिय आवश्यकता अनुसार परिचालन गर्नुपर्छ । वित्तीय प्रणालीमा नियमन भएन भने सहकारीको जस्तै स्थिती हुन्छ । त्यसैले नियमन हुँदैमा आत्तिनु पर्दैन । तर, ती नियमन बजारमैत्री, बैंकिङमैत्री छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण हो । नियमन हुँदा नै बैंकिङ प्रणाली जोगिएको छ, रिजनेबल बनाएको छ, विश्वास जगाएको छ । तापनि बैंकहरूमाथि शंका गरिरहेका छन् । त्यसकारण नियमन आवश्यक छ, राष्ट्र बैंकले सोही अनुसार काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.