विवादबीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

  २०८१ असार १२ गते ६:४३     विकासन्युज

इटहरी । इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ ।

सोमबार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो ।

सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ ।

वडाध्यक्ष पोखरेलले पेस गरेको बजेटमा चालुतर्फ एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ दुई अर्ब १५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ बजेट व्यवस्थापन गरेको छ ।

पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगरस्तरका योजनामा ४५ करोड रुपैयाँ समावेश गरिएको छ ।

प्रस्तुत बजेटको स्रोत व्यवस्थामा संघीय समानीकरण अनुदान २९ करोड ५६ लाख, संघीय शसर्त अनुदान चालु खर्चतर्फ ४९ करोड ४३ लाख १५ हजार, संघीय ससर्त अनुदान पुँजीगत खर्चतर्फ ८१ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड, प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख ४५ हजार र प्रदेश शसर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

प्रदेश ससर्त अनुदान पुँजीगत खर्चतर्फ २ करोड ४४ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) २ करोड ३३ लाख ४१ हजार र प्रदेश राजस्व बाँडफाँड (मालपोत रजिष्ट्रेशन)  ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । इटहरी उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट ९६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.