…त्यसपछि कड्किए गभर्नर महाप्रसाद अधिकारी

  २०८१ असार १२ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धेरैले एउटा शालिन र डिप्लोमेटिक पात्रका रूपमा चिन्छन् । शब्दका प्रहार गर्नेहरूलाई पनि उनले शालिन र सभ्य रूपमा जवाफ फर्काएको अनुभव विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनेहरूसँग हुनसक्छ । उनले हरेक विषयवस्तुलाई सहज, सरल र सामान्य रूपमा प्रस्तुत गर्छन् । धेरैले उनको यो क्षमता र स्वभावको तारिफ पनि गर्छन् ।

तर, पछिल्ला केही कार्यक्रममा गभर्नर अधिकारीको शैली फेरिएको छ । विभिन्न सार्वजनिक कार्यक्रममा कसैको खुलेरै आलोचना नगर्ने गभर्नर अधिकारी पछिल्ला कार्यक्रमहरूमा केही आक्रामक शैली प्रस्तुत गरिरहेका छन् । त्यसको एउटा उदाहरण मंगलबार काठमाडौंको एक पाँच तारे होटलमा भएको कार्यक्रममा पनि देखियो ।

अहिले राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको तयारीमा छ । विभिन्न सरोकावालहरूले मौद्रिक नीतिमाथि सुझाव दिन विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । ती कार्यक्रममा गभर्नर अधिकारीको पनि सक्रिय सहभागिता देखिएको छ । गभर्नर अधिकारीकै भाषामा भन्ने हो भने उनी मौद्रिक नीतिसँग सम्बन्धित दैनिक दुई वटासम्म कार्यक्रममा सहभागी हुने गरेका छन् ।

उनी पछिल्लो पटक मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा गभर्नर अधिकारी फरक शैलीमा प्रस्तुत भए । शालिन रुपमा जवाफ फर्काउँछन् भनेर बानी परेका दर्शका अगाडि उनले फरक कार्यशैली प्रस्तुत गरे ।

सेजनले आयोजना गरेको कार्यक्रममा करिब एक र्दजन वक्ताले आफ्नो धारणा राखे । गभर्नर अधिकारी नै प्रमुख अतिथि थिए । अधिकांश वक्ताहरुले राष्ट्र बैंक र मौद्रिक नीति माथि धारणा राखे । केहीले राष्ट्र बैंकले लचिलो मौद्रिक नीति सार्वजनिक गर्न लागेको समेत धारणा राखे । गभर्नरको अगाडि नै लचिलो मौद्रिक नीति आउने धारणा राखेपछि गभर्नर अधिकारीको मुहारको रङ्ग फेरियो ।

वक्ताहरूले बोलेपछि कार्यक्रममा प्रश्नोत्तरको सेसन राखियो । जहाँ सहभागीले प्रश्न गर्ने र पेनालिष्टले जवाफ फर्काउने काम एक घण्टाभन्दा बढी समय चल्यो । गभर्नर अधिकारीले गम्भीर भएर सुनिरहे । प्रश्नोत्तर कार्यक्रममा एक्सल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलले गम्भीर सवाल उठाए । उनले प्रश्न गर्दै भने, ‘बैंकभित्र कमिसन लिँदा ब्याजदर महँगो हुने गरेको छ । अहिले पनि ५ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । यदि कसैलाई आवश्यक पर्याे भने प्रमाण दिन सक्छु ।’

अध्यक्ष गोयलको सवाल थियो, ‘बैंकले कर्जा दिँदा कमिसन लिने गरेका छन् ।’ उनको उक्त जवाफ सुनेपछि गभर्नर अधिकारी थप गम्भीर बने । अध्यक्ष गोयललाई नियालिरहे । तिनै गोयलले त्यसअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एउटा कार्यक्रममा पनि केही प्रश्न गरेका थिए ।

कार्यक्रममा एक जना इन्जिनियरले पनि प्रश्न गरेका थिए । उनले पनि गोयलको भनाइलाई थप्दै बैंकले कर्जा दिँदा कमिसन लिने गरेको बताए । उनले बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको र त्यसको प्रमाण दिन आफू तयार रहेको बताए ।

सार्वजनिक कार्यक्रममै बैंकका अध्यक्ष र अन्य व्यक्तिले आरोप लगाएपछि गभर्नर अधिकारी कड्किए । त्यस विषयमा जवाफ दिँदै गभर्नर अधिकारीले बैंकका अध्यक्ष र ती इन्जिनियरलाई कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण दिन मञ्चबाटै आग्रह गरे ।

उनले आक्रोशित हुँदै भने, ‘प्रमाण छ भने दिनुस्, हामी कारवाही गर्छौं । तर, प्रमाण छैन भने यसरी सार्वजनिक कार्यक्रममा जथाभावी बोल्न पाइँदैन ।’

‘बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको गुनासो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन,’ गभर्नर अधिकारीले आक्रोशित हुँदै कार्यक्रममा भनेका थिए ।

गभर्नर अधिकारीले कार्यक्रममा सहभागी भएका राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई मञ्चबाटै निर्देशन दिँदै ती दुई दजनासँग खानतलासी गरेर प्रमाण माग्न निर्देशन दिए । पोडियमबाटै दिएको उनको निर्देशनपछि बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु प्रसाद पौडेल र मुक्ती श्रेष्ठसहितका राष्ट्र बैंकका कर्मचारीहरूले ती दुई जनासँग थप कुराकानी गरे ।

गभर्नर अधिकारीले सार्वजनिक कार्यक्रमा आक्रोशित हुँदै आफू मातहतका कर्मचारीलाई ‘अन दि स्पट’ निर्देशन दिएको सम्भवतः यो पहिलो सार्वजनिक कार्यक्रम हुन सक्छ । उनी पछिल्लो समय केही आक्रोशित भएर धारणा राखिरहेको महसुस उनको कार्यक्रममा सहभागी भइराख्ने अधिकांशलाई भएको हुन सक्छ ।

२०७६ फागुनमा नेपाल राष्ट्र बैंकको गभर्नर बनेका अधिकारीको कार्यकाल सकिन अब ८ महिना मात्रै बाँकी छ । आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा गभर्नर केही आक्रामक र आक्रोशित रुपमा अभिव्यक्ति दिन थालेका छन् । मंगलबारको कार्यक्रममा लचिलो मौद्रिक नीतिको भविष्यवाणी नगर्न पनि उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.