रास्वपाबाट राजदूत बन्न दुई दिनमा १०० जनाले दिए आवेदन

  २०८१ असार १२ गते १६:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजदूत पदका लागि बुधबारसम्म करिब १ सय जनाको आवेदन परेको छ ।

सत्ता गठबन्धन दलमा रहेको रास्वपाले दलहरूबीच भागबन्डाका क्रममा आफ्नो भागमा परेको २ जना राजदूत पदका लागि सोमबारदेखि ‘राजदूत सिफारिस मापदण्ड २०८१’ बनाई अनलाइनबाट आवेदन माग गरेको थियो ।

सोमबार बिहानबाट खुला गरिएको अनलाइन आवेदनमा बुधबारसम्म करिब १ सय जनाले राजदूत पदका लागि आवेदन दिएको कार्यदलका संयोजक शिशिर खनालले जानकारी दिएका छन् । उक्त अनलाइन आवेदन दिने समय शुक्रबारसम्म रहेको छ ।

आवेदनमा परेका नाममा प्रक्रियागत छलफल गरेपछि मात्र पार्टीका तर्फबाट राजदूतमा नाम सिफारिस गरिने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबीच गत असार ६ गते राजदूतमा भागबन्डा भएको थियो ।

उक्त भागबन्डा अनुसार एमालेबाट ५ जना, अशोक राई नेतृत्वको जसपाबाट २ जना, रास्वपाबाट २ जना र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.