७२ वटा जिल्लामा फैलियो डेंगी, १२ सय बढी संक्रमित

  २०८१ असार १२ गते १९:०८     विकासन्युज

काठमाडाैं । हिमालमा पनि डेंगीको संक्रमण फैलिनु अब नयाँ कुरा रहेन । कुनै समय तराईमा मात्र सीमित हुने लामखुट्टे अहिले मुस्ताङ, डोल्पा लगायतका हिमाल चढिरहेका छन् । केही वर्षअघि डेंगीको संक्रमणबाट तराई क्षेत्र अथवा गर्मी ठाउँमा बस्ने नागरिक अस्पताल पुग्थे भने अब चिसो ठाउँ डोल्पाका नागरिक पनि संक्रमणको जोखिममा छन् ।

किन लामखुट्टे हिमाल चढ्दैछन् ? विज्ञको जवाफ हुन्छ जलवायु परिवर्तनको असर हो ? विज्ञको अर्को तर्क पनि छ, मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइँ गर्दा अथवा सबै ठाउँमा यतायातको साधन पुग्दा लामखुटटे पनि सँगसँगै गए । अब डेंगी संक्रमणकाे जाेखिम हिमाल, पहाड र तराई जुनसुकै ठाउँमा छ । नेपालमा पहिलो पटक सन २००४ मा डेंगी पुष्टी भएको थियो ।

त्यसपछि विस्तारै अन्य जिल्लामा फैलँदै सन २०१५ सम्म २५ जिल्लामा फैलिएको थियो । त्यसपछिका वर्षमा डेंगी संक्रमण धेरै जिल्लामा फैलँदै गयो । २०२२ देखि भने डेंगी ७७ वटै जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । किट विज्ञहरू विगत केही वर्षदेखि देशभरि डेंगीको संक्रमणदर बढ्दै गएको बताउँछन् ।

यो वर्ष पनि देशका ७२ वटा जिल्लामा डंगीको संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार हुम्ला, डोल्पा, मुगु, जुम्ला र मुस्ताङमा मात्र संक्रमण फैलिएको छैन । ६ महिनाको तथ्यांक हेर्दा १ हजार २ सय ६८ जना बढी व्यक्तिमा संक्रमण पुष्टी भएको छ ।

पछिल्लो डेढ महिनामा मात्र ४ सय बढी व्यक्तिमा संक्रमण भएको छ । गत मे महिनामा १ सय ५१ जनामा संक्रमण देखिएकोमा यो महिनाको अहिले सम्म १ सय ८६ जनामा संक्रमण देखिएको महाशाखाले जनाएकाे छ । सबैभन्दा बढी काठमाडौंमा संक्रमण देखिएको चिकित्सिकहरूले बताएका छन् । झापा, चितवन कैलाली, डोटी, मकवानपुर लगायतका जिल्लामा पनि संक्रमणदर बढ्दै गएको छ ।

तीन वर्ष देखिको तथ्यांक

देशभरि संक्रमण फैलिएसँगै संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ । सन २०२२ को तथ्यांक हेर्दा ५४ हजार ७ सय ८४ जनामा डेंगी संक्रमण भएको थियो । जसमा ८८ जनाको मृत्यु भएको थियो ।

यस्तै गएको वर्ष सन २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण हुँदा २० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । यस्तै सन २०२४ को यो महिनासम्म १ हजार २ सय ६८ जनामा संक्रमण देखिएको छ भने अहिलेसम्म मृत्यु भएको छैन । गर्मी बढेर वर्षा सुरु हुँदा डेंगीको संक्रमण पनि बढ्दै जान्छ ।

यो समयमा डेंगीको संक्रमणले प्रकोपको रूप लिने जोखिम भएकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।

डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । यो लामखुट्टेले रातिको समयमा टोक्दैन । यो लामखुट्टे उज्यालोमा मात्र सक्रिय रहने भएकाले मान्छे काममा व्यस्त रहदा टोक्ने विज्ञहरू बताउँछन् ।

संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दिनमा मान्छे काममा व्यस्त हुँदा टोकेको थाहा नपाउँदा पनि संक्रमणदर बढ्ने बताउँछन् । दिउँसोभन्दा पनि बिहान र साँझ लामखुट्टे सक्रिय हुने भएकाले सचेत रहन उनको आग्रह छ ।

डेंगी के हो ?

लमखुट्टेको माध्यमबाट सर्ने एक प्रकारको भाइरस हो । यसलाई चार वटा सेरोटाइपमा वर्गीकरण गरिएको छ । नेपालमा यो चारवटै सेरोटाइप देखिएको छ । विशेषतः यो फैलाउने माध्यम भनेको एडिज लामखुट्टेको टोकाइ हाे । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ ।

चार वटा प्रकार कस्तो हो ?

जुनबेला हामीले कोभिडका बेला नयाँ नयाँ भेरिएन्टको कुराकानी गथ्यौँ, त्यसमा निरन्तर रूपमा भेरियन्टहरू देखिने क्रम जारी रहेको थियो । यस्तै यो पनि चार प्रकारको एउटै लामखुट्टेबाट सर्ने हो । तर, कन बेलामा, कुन समयमा, कुन सेरोटाइप खालको प्रजाति देखिन्छ भन्ने कुरा परिक्षण अथवा त्यसको विश्लेषण हेर्दा मात्र पत्ता लाग्छ । नेपालमा विगतदेखि फैलदै आउँदा अनुसन्धानले चाहिँ चारवटै शेरोटाईप नेपालमा छ भनेर देखाएको छ ।

के यो लामखुट्टेले रातिमा यसले टोक्दैन ?

रातिमा पनि टोक्छ तर, सम्भावना कम हुन्छ । बिहान जुनबेला हामी काममा सक्रिय हुन्छौ, अझ भनौ जुनबेला सुर्य उदय भएको समयमा यो पनि सक्रिय हुन थाल्छ । जुनबेला हामी काम सकेर घरमा फर्कन्छौ त्योपछि यो पनि त्यति सक्रिय हुँदैन । दिउँसोको समयमा यो बढी सक्रिय हुन्छ र त्यही बेला टोक्यो भने सम्भवतः कसैलाई थाह हुँदैन ।

लामखुटेटे छुट्याउन सकिन्छ ?

यो दिउँसो प्रयाप्त मात्रामा देखिन्छ । तर यो बेलामा हामी व्यस्त हुन्छौँ । खुट्टामा यसले बढी टोक्छ । यसको रंग सेतो कालो हुन्छ । हामीले पहिचान गर्न सक्छौँ, देख्नेबित्तिकै थाहा हुने डा. पुन बताउँछन् । अहिले सबैभन्दा सक्रिय यो लामखुट्टे नै हुने उनकाे भनाइ छ ।

डेंगु लागेर मान्छे कसरी मर्छ ?

यसको जटिलताको कुरा गर्दा मुख्यतया रक्तस्राव हुँदा मृत्यु हुन्छ । दीर्घरोगीदेखि लिएर विभिन्न किसिमको समस्यामा गुज्रेकाहरूलाई पनि यो संक्रमण भएपछि जटिलता हुन्छ । यो उमेर समूहलाई बढी र यो समूहलाई कम हुन्छ भन्ने हुँदैन । यहाँ एउटा जोखिमको अवधि हुन्छ ।

रक्तस्राब आन्तरिक हुन्छ कि बाह्य हुन्छ ?

डा. पुनका अनुसार यो आन्तरिक पनि हुन्छ जुन हामीलाई थाह हुँदैन । रगत जम्ने प्रक्रियामा पनि यसले समस्या ल्याउँछ । अत्यधिक मात्रामा रगत बग्दा मान्छे बेहोस हुन्छ र समयमा  उपचार पाएन भने मृत्यु समेत हुने गर्दछ ।

डेंगी लाग्ने बित्तिकै बिरामीले के गर्नुपर्छ ?

डा. पुन यसका लागि खाेप  प्रभावकारी हुने बताउँछन् । खोपले पनि त्यति सफलता पाएको नदेखिएकाे उनकाे भनाइ छ , यसकाे कारणा यो वर्षैदेखि एउटा समस्याको रूपमा रहिआएको अवस्था हो । यसमा चिकित्सकले वार्मींग साइन अथवा चेतावनी संकेत पनि भन्छन् । अधिकांश बिरामीहरू घरमै आराम गरेर पनि ८ देखि १० दिनको अवधिमा डाक्टरसँग सरसल्लाह लिएर स्वास्थ्यलाभ गर्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.