बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग

  २०८१ असार १३ गते १२:२४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्ति दिन माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य इश्वरीदेवी न्यौपानेले चट्याङ लागेर कैलालीमा २ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइन् ।

त्यस्तै, अर्का सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्‍याएको भन्दै ध्यानाकर्षण गराए । उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

यसैगरी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र आवतजावत प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।

सांसद रामहरि खतिवडाले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै ओखलढुंगामा गएको पहिरोबाट देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको जानकारी दिए ।

सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए ।

त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् । उनले जिल्लामा बाढी पहिरो र चट्याङबाट ६ जनाले ज्यान गएको जानकारी समेत गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.