अध्यक्षको घरबाट सीईओ पदमुक्त, प्राधिकरण पुगे विजय

  २०८१ असार १३ गते १९:४६     सीआर भण्डारी

काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनी पनि असारे चटारोमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ सकिन करिब दुई साता बाँकी रहँदा वित्तीय संस्थाका कर्मचारी तथा व्यवस्थापन तहका कर्मचारीहरूलाई भ्याइनभ्याई छ । कम्पनीको व्यवस्थापकीय प्रमुखलाई एकातर्फ वार्षिक हिसाब किताब मिलाउन दबाब छ भने अर्कोतर्फ आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण गर्न तनाब छ ।

यो रस्साकस्सी र प्रतिस्पर्धा विभिन्न कम्पनीका व्यवस्थापकीय नेतृत्वमा छ । तर, यो असारे चटारोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहलाई पदमुक्त गरेर आफ्नो साहसीपन देखाएको छ । सीईओ शाहको कार्यकाल बाँकी रहँदै कम्पनीको सञ्चालक समितिले उनलाई पदमुक्त गरेको हो । असारे चटारो र कार्यकाल बाँकी रहँदै सीईओ शाहलाई पदमुक्त गरेपछि बीमा बजार, सञ्चार माध्यम र सरोकारवालाहरुले पनि यो विषयलाई गम्भीरताका साथ चासो दिएका छन् ।

बीमासँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुन सीईओ शाह केही दिनअघि अमेरिका पुगेका थिए । सञ्चालक समितिले निर्णय गरेर बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले समेत उनलाई अमेरिका जान अनुमति दिएको थियो । यो अवधिसम्म सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र अन्य सञ्चालकसँग सीईओ शाहको सम्बन्ध राम्रै थियो ।

तर, सीईओ शाह अमेरिका पुगेपछि माहोल परिवर्तन भयो । कम्पनी स्रोतका अनुसार अध्यक्ष श्रेष्ठसामू केही कर्मचारी र सञ्चालक समितिकै सदस्यले सीईओ शाहमाथि गम्भीर आरोप लगाएका छन् । सो कुरा सुनेपछि अध्यक्ष श्रेष्ठले तत्काल आफ्नै घरमा सञ्चालक समितिको बैठक बोलाएर उनलाई सीईओबाट पदमुक्त गर्ने निर्णय गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ र सीईओ शाह साथीजस्तै थिए । उनीहरू उमेरले पनि एउटै समूहका हुन् । बीमासँग सम्बन्धित कुनै ठूलो निर्णय वा डिल गर्नु पर्यो भने सीईओ शाह अध्यक्षको घरमै पुग्ने गरेका थिए । तर, एकाएक फेरिएको माहोलले हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीमा पनि तरङ्ग मच्चिएको छ ।

अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ ।

‘अध्यक्ष र सीईओबीच राम्रो सम्बन्ध थियो, धेरै विषयमा सरसल्लाह गर्न घरमै बोलाउनुहुन्थ्यो, ठूल्ठूला डिल गर्न सीईओ शाह कहिले घरमा जानुहुन्थ्यो भने कहिले अध्यक्षज्यू नै कार्यालयमा आउनु हुन्थ्यो,’ कम्पनी स्रोतले भन्यो, ‘तर, सीईओ अमेरिका हुँदा उहाँका बारेमा नकारात्मक कुराहरू अध्यक्षलाई सुनाएपछि अचानक अध्यक्षज्यूले सञ्चालक समिति बैठक आफ्नै घरमा बोलाएर पदमुक्त गर्ने निर्णय गर्नुभएछ ।’

नेपाल बीमा प्राधिकरणमा परेको उजुरीका आधारमा सीईओ शाहलाई हटाइएको जवाफ सञ्चालक समितिले दिने गरेको कम्पनी स्रोतको भनाइ छ ।

‘यो समय धेरै काम हुने हो, किन यस्तो भयो भन्ने प्रश्नमा प्राधिकरणमा उजुरी धेरै परेपछि सीईओलाई हटाइएको भन्ने घुमाउरो उत्तर दिइएको छ । तर, ठूलो स्क्याण्डल उजुरी प्राधिकरणमा परेको छैन,’ स्रोतले भन्यो, ‘दैनिक काम गर्दा चित्त नबुझेपछि कम्पनीका विरूद्द उजुरी परेका छन्, प्राधिकरणले सामान्य रूपमा मौखिक निर्देशन दिएर गल्ति नदोहोर्याउनु भनिरहेको हुन्छ, जबकी अन्य कम्पनीका सीईओलाई प्राधिकरणले पत्र नै काट्ने गरेको छ ।’

प्राधिकरण पुगे शाह

सीईओ शाह पदमुक्त भएपछि नियामक नेपाल बीमा प्राधिकणमा पुगेका छन् । प्राधिकरण स्रोतका अनुसार सीईओ शाहले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावल र कर्मचारीहरूलाई भेटेर आफूलाई सञ्चालक समितिले गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै मौखिक जानकारी गराएका छन् ।

बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा सञ्चालक समितिले सीईओको कार्यसम्पदान सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने प्रावधान छ ।

कम्पनी सञ्चालक समितिले सीईओ शाहको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटाइएको बताएको छ । तर, सञ्चालक समितिले सफाइको मौका नदिई आफूलाई पदबाट अचानक हटाइएको गुनासो सीईओ शाहले प्राधिकरण समक्ष गरेका छन् ।

सीईओ विजय बहादुर शाह ।

‘कुनै पनि सफाइको मौका दिइएको छैन, एकाएक हातमा चिठ्ठी थमाएर पदमुक्त गरियो, लिखित रूपमा निवेदन नदिएपनि मौखिक जानकारी गराउनु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘सञ्चालक समितिले सीईओलाई गरेको नियुक्तिलाई प्राधिकरणले अनुमोदन गर्छ, सीईओलाई बीमा ऐनले चिन्छ, हटाउनुअघि सफाइको मौका दिनुपर्ने भएपनि उहाँले आफूलाई मौका नदिएको गुनासो गर्नु भएको छ ।’

सीईओ शाहले कानुनी लडाईं लड्ने र प्राधिकरणमा पनि लिखित निवेदन दिने विषय अध्यक्ष सिलवाल समक्ष राखेका छन् । स्रोतका अनुसार हालसम्म सीईओ शाह विरुद्ध प्राधिकरणमा उजुरी परेको छैन । दैनिक काम गर्दा त्रुटी भएपछि कम्पनीका विरुद्ध उजुरी पर्नु स्वाभाविक रहेको प्राधिकरण स्रोतको भनाइ छ ।

‘सीईओ शाहले निवेदन दिनुभयो भने प्राधिकरणले सञ्चालक समितिलाई के कति कारणले पदमुक्त गरेको हो भनेर जवाफ माग्छ, जवाफका आधारमा हामीले निर्णय लिन्छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘कार्यसम्पादनप्रति असन्तुष्टि रहेको खण्डमा निकाल्न पाइने भनिए पनि सो व्यक्तिलाई सफाइको अवसर दिनुपर्छ, जे मनमा लाग्यो त्यही गरेर निकाल्न पाइँदैन भनेर ऐनले नै भनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.