सुशासनमा उत्कृष्ट सूर्योदय, पर्यटकको मुख्य रोजाइमा

  २०८१ असार १४ गते १०:४१     राधिका आचार्य

काठमाडौं । पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला पर्यटकीय हिसाबले प्रख्यात मानिन्छ । इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा रहेको चियाबारीसँगैको मनोरम दृश्य, अन्तुबाट देखिने सूर्योदय, बौद्धधाममा रहेको बुद्ध पार्क लगायतका पर्यटकीय स्थानहरूले आन्तरित तथा बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ ।

पर्यटकीय क्षेत्रले मात्रै होइन अन्य थुप्रै कारणहरूले पनि इलामको सूर्योदय नगरपालिका अगाडि रहेको छ । पर्यटकीय नगरी सूर्योदय नगरपालिका नेपाल नगरपालिका संघबाट सम्मानित भएकाे उत्कृष्ट नगरपालिका पनि हो ।

स्थानीय तहहरूले स्रोत, साधन र अधिकार आफूसँग छ भन्दैमा कतिपयले त्यसको दुरुपयोग गरिरहेका उदाहरणहरू प्रसस्तै सुन्ने गरिन्छ । तर, केही यस्ता स्थानीय तहहरू पनि छन् जसले कुनै पनि काम गर्नुपूर्व नै त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि तयार गर्छन् । यसको एक गतिलो उदाहरण हो सूर्योदय नगरपालिका ।

पालिकाले जुनसुकै योजना सञ्चालन गर्नुपूर्व त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउँछ र मात्रै काम सुरु गर्छ । यद्यपि ऐन बनाउन समय लाग्यो भयो भने पनि तत्कालै कार्यविधि बनाइहाल्छ । यसरी काम गर्दा आम जनताप्रति नगरपालिका जवाफदेही हुने र सुशासनमा पनि पारदर्शी हुने नगर उपप्रमुख दुर्गा कुमार बराल बताउँछन् ।

‘हामी नियम कानुन भन्दा माथि हुनै सक्दैनौं । त्यसैले कुनै पनि काम गर्दा वा निर्णय गर्दा त्यससँग सम्बन्धित ऐन वा नियमावलि बनाइ हाल्छौं,’ उनी भन्छन्, ‘यसरी काम गरैकै कारण हामी शून्य बेरुजुमा छौं । यो हामी सम्पूर्ण नगरवासिको लागि गर्भको कुरा पनि हो ।’

उनका अनुसार कुनै पनि काम गर्नुपूर्व नै सम्बन्धित व्यक्तिहरूसँग बसेर छलफल गरेर त्यहीअनुसारको कार्यविधि तयार गरेर अनि मात्रै काम अघि बढाउने गरिएको छ । उनी भन्छन्, ‘यसले नागरिकप्रतिको जवाफदेहिता र सुशासनमा विशेष टेवा पुर्‍याएको छ ।’

सूर्योदय नगरपालिका गाई जोनको रुपमा पनि चिनिएको पालिका हो । पालिकाले हाल नगर क्षेत्रमा दैनिक ७५ हजार लिटर दूध उत्पादन गर्दै आएको छ । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लिटर पुर्‍याउने लक्ष्य राखेको उनी बताउँछन् । जसका लागि क्यानडाबाट उन्नत प्रजातिको बाच्छी उत्पादन गर्ने तीन सय वटा गाई ल्याइएको छ। ‘ती गाईबाट जन्मिएकामध्ये ९६ प्रतिशत बाच्छी छन्’, बराल भन्छन्, ‘दूधबाट पनि यहाँ समृद्धि ल्याउन सकिने सम्भावना प्रशस्त देखिएको छ।’

हाल गाईमा फैलिरहेको लम्पीस्क्रीन रोगका कारण क्षति ब्यहोरेका किसानहरूलाई नगरपालिकाले क्षतिपूर्ती समेत दिएको बरालले बताए । ‘हामीले एउटा ठूलो गाई मरेको २० हजार रुपैयाँ, बाछिको १० हजार रुपैयाँ र गोरु मरेको ७ हजार रुपैयाँ बराबरको क्षतिपूर्ती किसानहरूलाई दिएका छौं,’ उनी भन्छन्, ‘अहिले चाहीँ हामी लम्पीमुक्त गराउनको लागि खोपलाई निरन्तरता गरेका छौं ।’

इलाम ‘अ’ ले चिनिएको जिल्ला पनि हो । सूर्योदय नगरपालिकाले अदुवा, अलैची, अकबरे लगायतका नगदेबालीलाई विशेष प्राथमिक्तामा राखेको छ । नगरपालिकाको मुख्य नगदेबालीको रुपमा चिया पनि रहेको छ । इलामलाई चियाको राजधानी समेत भन्ने गरिएको छ । नगरपालिकाले चियालाई अर्गानिकिकरण गर्ने, विषादीरहित बनाउने लगायतका कार्यक्रमहरू अघि सारेको छ । ‘सूर्योदय नगरपालिकालाई विषादीमुक्त र गुणस्तरीय चिया उत्पादनको लागि भनेर सम्बन्धित सरोकारबालाहरूसँग छलफल चलाइरहेका छौं,’ उनी भन्छन्, ‘हामीले केही महिना अघि मात्रै पनि नगरपालिकालाई विषादीमुक्त बनाउनुपर्छ भनेर माइकिङ पनि गरेका थियो ।’

विषादीमुक्त गर्ने कुरा एकैपटक सम्भव नहुने भए पनि बिस्तारै परिवर्तन गर्दै जाने उनी बताउँछन् । त्यस्तै तरकारीमा पनि विषादीको प्रयोग न्यून गर्न एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेको छ । उनी भन्छन्, ‘तरकारीमा त विषादी प्रयोग गर्नेपर्ने पनि हुन्छ त्यसैले हामीले विषादी प्रयोग गरेपनि कति गर्ने र कसरी गर्ने भन्ने बुझाउनको लागी र सही तरिकाले विषादीको प्रयोग गर्नको लागी एक वडा एक प्राविधिक कार्यक्रम अघि सारेका हौं ।’

सूर्योदय नगरपालिकामा उत्पादन हुँदै आएको चिज, छुर्पी, चिया लगायतका सामान अन्य देशहरूमा समेत निर्यात हुने गरेको छ । यद्यपि नगरपालिकाले यी सामानहरू कति मात्रामा निर्यात हुन्छन् भन्नेबारे भने यकिन तथ्याङ्क राखिसकेको अवस्था छैन । सोको तथ्याङ्क राख्नेगरी आवश्यक तयारी भइरहेको बराल बताउँछन् ।

पालिकाले कृषकहरूलाई अनुदान स्वरुप कृषि औजारहरू पनि बेला बेला वितरण गर्ने गरेको छ । कृषहरूको साझेदारीमा सो अनुदार वितरण गर्ने गरिएको उनको भनाइ छ ।

यस नगरपालिकाबाट प्रतिदिन करिब ६५ हजार मेट्रिक टन स्कुस (ठूलो करेला) र ४ देखि ५ वटा ठूला गाडीमा कुचो भारततर्फ निर्यात हुने गरेको व्यापारीहरू बताउँछन् । खुल्ला नाका भएका कारण कति निर्यात भए भन्नेबारे यसको पनि यकिन तथ्याङ्क नरहेको उनी बताउँछन् । ६५ उद्योगबाट वार्षिक ५० लाख किलो चियापत्ती उत्पादन हुन्छ । बरालका अनुसार नगरको वार्षिक आन्तरिक आय करिब ९ करोड रुपैयाँ छ ।

नयाँ(नयाँ खोजीका विषयमा अलि बढी चासो राख्ने उनी बताउँछन् । ‘वडा नम्बर ८ मा १ सय ५० मिटर लामो ग्लास ब्रिज अर्थात् सिसाको पुल बनाएका छौं,’ उनी भन्छन्, ‘कन्याम, अन्तु, बुद्ध पार्क लगायतका स्थापित पर्यटकिय क्षेत्रहरूलाई अझै व्यवस्थीत गर्ने काम पनि हामिले गरिरहेका छौं ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागी स्थानीय क्षेत्रका धार्मिक तथा सास्कृतिक क्षेत्रहरूको संरक्षण गर्ने, पदमार्ग निर्माण गर्ने लगायतका काम पर्यटन क्षेत्रमा गरिरहेको उनी बताउँछन् ।

नगरपालिकाले आफ्नो मुख्य आम्दानीको रुपमा पनि कृषि र पर्यटनलाई नै राखेको छ । पालिकाले शिक्षा, स्वास्थ्य र खानेपानिलाई विशेष प्राथमिक्तामा राखेर यसवर्षको बजेट सार्वजनीक गरेको छ ।

शिक्षातर्फ पनि उत्कृष्ट

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा पनि कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले सूर्योदयलाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनाेट गरेको हो ।

साे संघले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा सूर्योदयलाई छानेको जनाएको छ ।  एसोसीएसनको जेठ २६ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गरेको एसोसिएसनका अध्यक्ष सुदाम गौतमले बताएका छन् ।

शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो ।

सूर्योदयले १२ महिना १२ कार्यक्रम, छोरी बुहारी शिक्षा, गणित विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन, अभिभावक परिचयपत्र वितरण सहित विद्यालयलाई प्रविधिमैत्री बनाउने काम गरेको बराल बताउँछन् । नगरले विगतदेखि नै शिक्षकको तलब समेत मासिक रूपमा उपलब्ध गराउँदै आएको छ ।

नगर प्रमुख रणबहादुर राईका अनुसार नगरले नगरका सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब स्थापना गरेको छ । नगरले इ–हाजिरी जडान गरी डिजिटल डिस्प्ले मार्फत अध्ययन गराउने व्यवस्था विद्यालयमा गरेको छ । नगरका ६५ सामुदायिक विद्यालय र ३१ संस्थागत विद्यालयमा ११ हजार बढी विद्यार्थी अध्ययनरत रहेको पालिकाले बताएको छ । अहिले ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत विद्यार्थी संस्थागतमा अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ । नगरले संस्थागत विद्यालयमा समेत सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । बालमैत्री नगर घोषणा गरिएकोमा पछिल्लो समय नगरले पोषणमैत्री नगर घोषणाको तयारी गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.