गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

  २०८१ असार १४ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरुमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए । उनले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तिर्ण भएको भन्दै गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रुपले व्यवस्था गर्नुपर्ने बताए । कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बिचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने जानकारी दिए ।

‘हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो, ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन्, ५२ प्रतिशत विद्यार्थी फेल भएका छन्, कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११/१२ लाख हुन्छन्, एसईईसम्म आउँदाखेरी ५ लाख हुन्छ, एक त सात लाख विद्यार्थीहरु बाटोमै हराएका हुन्छन्, अहिले आएर सबभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार फेल भएको छ’, उनले भने ।

उनले प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.