यी हुन् नेपालबाट निर्यात हुने ‘टप टेन’ वस्तुहरू

  २०८१ असार १४ गते १८:२९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ११ जेठसम्ममा अर्थात् ११ महिनासम्ममा नेपालले कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जसमध्ये सबैभन्दा धेरै उन र गलैंचाजन्य वस्तु सबैभन्दा धेरै निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

जेठसम्ममा गलैंचाजन्य वस्तु मात्रै ३ लाख ८५ हजार ५५ स्क्वायर मिटर निर्यात भएको छ । जसको कुल मूल्य ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको रहेको छ । नेपालको गलैंचा अमेरिका, युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न ठूला मुलुकहरूमा निर्यात हुँदै आएको छ ।

नेपालमा उत्पादित गलैंचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघले बताउँदै आएको छ ।

त्यस्तै, दोस्रोमा धेरै निर्यात हुने वस्तुमा अलैंची रहेको छ । जेठसम्ममा ७ अर्ब ४७ लाख रुपैयाँ बराबरको ४७ लाख १८ हजार ९४० केजी अलैंची निर्यात भएको छ ।  नेपालमा करिब साढे १३ हजार हेक्टर क्षेत्रफलमा छ हजार मेट्रिक टन अलैंची उत्पादन हुँदै आएको तथ्याङ्क यसअघि नै सार्वजनिक भइसकेको छ ।

पहाडी जिल्लामा लगाइँदै आएको अलैंची सबैभन्दा बढी क्षेत्रफलमा प्रदेश १ का जिल्लामा खेती हुँदै आएको छ । विदेश निर्यात हुने मुख्य नगदेबालीका रुपमा रहेको अलैंचीलाई प्रदेश सरकारले पनि बिस्तार र प्रोत्साहनका लागि विषेश महत्व दिएको छ ।

अलैंची मसलाको रुपमा सबैभन्दा बढी तेस्रो मुलक निर्यात हुने मुख्य नगदेवालीको रुपमा चिनिएको छ ।

त्यस्तै, तेस्रोमा धेरै निर्यात हुने वस्तु जस्ताको पाता र रोल्ड आइरन चौडाइ ६०० एमएम रहेको छ । जेठसम्ममा ४ करोड ८८ लाख ७२ हजार ९२२ केजी निर्यात भएको छ । जसको कुल मुल्य ६ अर्ब १६ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालबाट धेरै निर्यात हुने चौथो वस्तुको रुपमा जुस रहेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा ६ करोड २५ लाख १९ हजार ४ लिटर जुस निर्यात भएको छ । विभागको तथ्याङ्कअनुसार यसको मूल्य ५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

पाँचौंमा भने पाम तेल रहेको छ । विभागको तथ्याङ्कले ८३ करोड ७० लाख १४ हजार ६५७ लिटर निर्यात गरेको देखिन्छ । जसको कुल मूल्य ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

नेपालबाट धेरै निर्यात हुने वस्तु गर्भाधानका सामानहरू अर्थात् प्रिगनेन्सी किटहरू रहेका छन् ।  यो नेपालबाट निर्यात धेरै निर्यात हुने वस्तुको छैटौं नम्बरमा छ । चालु आर्थिक वर्षको जेठसम्ममा कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको १४ लाख ५८ हजार ९८४ केजि निर्यात भएको भन्सार विभागले बताएका छन् ।

साताैं नम्बरमा भने पेन्टेड वार्निस गरिएको वा प्लास्टिकले लेपित रोल्ड आइरन स्टील चौडाइ ६०० एमएम रहेको छ । जेठसम्ममा २ करोड ९३ लाख ६१ हजार ६१८ केजी निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसरा जसको मूल्य ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

निर्यात धेरै हुने वस्तुको आठाैं नम्बरमा भने धागो रहेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा १ करोड ८६ लाख ७२ हजार ५१२ केजी धागो निर्यात भएको छ । सो अवधिमा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको विभागले जनाएको छ ।

नवौं नम्बरमा भने जुट रहेको छ । जेठसम्ममा ८ करोड २९ लाख ६३ हजार ४७९ स्क्वायर मिटर जुट निर्यात भएको छ । केही समय अघिसम्म नेपालबाट निर्यात हुने वस्तुहरूको शिर्ष स्थानमा जुट रहने गरेको थियो ।

त्यस्तै दशाैं स्थानमा प्लाइउड रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसरा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको १० करोड ६ लाख ६१ हजार ७३१ केजी प्लाइउड निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.