२०८१ असार १५ गते १३:०५ विकासन्युज
दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।
पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका २ सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमुना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।
सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंकर मावि खरदरियाबाट ४५ , माध्यमिक विद्यालय दुलैयाबाट ९ , बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।
माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसईई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।
शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए ।
‘हामीले शिक्षामा धेरै लगानी गर्यौं,’ उनले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।’ ८ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.