अन्ततः पक्राउ परे सीईओ भण्डारी, सवा ७ अर्ब अपचलन

  २०८१ असार १५ गते १३:५३     विकासन्युज

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।

यो सहकारीले वचतकर्ताको सवा ७ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उनी विरुद्द ४ हजार ५७८ जना बचतकर्ताले उजुरी दिएका छन् । उनले बचतकर्ताको ७ अर्ब १७ करोड २ लाख ७५ हजार रुपैयाँ बचत अपचलन गरेको बुझिएको छ ।

यस सहकारीको व्यवस्थापकीय नेतृत्व सुरेन्द्र भण्डारीले गरिरहेका छन् । अध्यक्षका रूमा अर्कैलाई अगाडि सारे पनि यस सहकारीमा सुरेन्द्रकै हालिमुहाली हुन्छ । उनी सो सहकारीका संस्थापक अध्यक्ष हुन् ।

कुनै ताका छुट्टै सहकारी बैंक खोल्न तम्सिएका भण्डारीले सहकारीलाई आफ्नो व्यक्तिगत कम्पनीका रुपमा सञ्चालन गर्दा समस्या सिर्जना भएको उनी निकट सहकारीकर्मीहरू बताउँछन् । नेपाली काँग्रेस निकट भण्डारीले पनि सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि पहल गर्नुको साँटो सरकारले समस्याग्रस्त घोषणा गरेको भन्दै अदालतमा मुद्दा दायर गर्न पुगे ।

लालिगुराँसमा पनि समस्या देखिएको लामो समय भएपनि सबै कुराको मेलोमेसो मिलाइ सकेपछि सरकारले उनको सहकारीलाई समस्याग्रस्त घोषणा गरिदियो । यो बिचमा लालिगुराँस सहकारीले बचत फिर्ता नगरेको भन्दै बचतकर्ता अदालत पनि पुगे । अदालतले पनि तत्काल बचत फिर्ता गर्न भण्डारी र उनको सहकारीलाई आदेश दियो ।

तर, ती बचतकर्ताले हालसम्म पनि बचत फिर्ता नपाएको गुनासो विकासन्युजसँग गरे । बचतकर्ताको बचत फिर्ता नगरेर भण्डारीले अदालतको समेत अवहेलना गरेका छन् । यसअघि नै पक्राउ पुर्जी जारी भइसकेका उनी अन्ततः पक्राउ भएका हुन् ।

One comment on "अन्ततः पक्राउ परे सीईओ भण्डारी, सवा ७ अर्ब अपचलन"

  • Dharma Raj says:

    launa, Dharanko baraha ko pani kura uthai dinu paryo, tya pani hajarau grhaak ko 10 arab blanda jyada paisa nadiyer ruwako chha sabailai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.