‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पहुना भित्र्याउन सकेन’

  २०८१ असार १५ गते १५:४३     विकासन्युज

वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन ।

यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटर द्ुरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जंगली जनावरको अवलोकन गर्न सक्नेछन् ।

यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिदस्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् ।

सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकिएको बताए ।

‘सुनाखरी घरबास मधेस प्रदेशकै पहिलो घरबास हो, तर पर्याप्त प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पहुना भित्र्याउन सकिएको छैन,’ उनले भने, ‘यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ, यहाँ स्थानीयस्तरमा उत्पादन हुने परिकारलाई राम्रोसँग ‘ब्रान्डिङ’ गर्न सकिरहेका छैनौँ ।’

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले मधेस प्रदेशको सानका रूपमा रहेको पहिलो घरबासलाई प्रभावकारी ढंगले प्रचारप्रसार तथा ब्रान्डिङ गर्नुपर्ने बताए ।

‘होमस्टेका गतिविधिलाई अहिलेका आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो प्रचारप्रसार गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘घरबाससँग विभिन्न ठाउँमा सचेतनामूलक ब्यानर तथा सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न सकिन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्न जरूरी छ ।’

कार्यालयले शुक्रबार बजार विस्तारसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेको थियो ।

प्रमुख सिंहले कार्यालयले सामुदायिकरूपमा घरबास सञ्चालन गर्दै आइरहेका उद्यमीलाई आगामी दिनमा लेखा तथा बजारीकरण सम्बन्धित जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम अघि बढाइने बताए ।

सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले समितिले सुरुवाती चरणमा ३०÷३० हजार रकम ऋण दिएर सुरुवात भएको सामुदायिक घरबासले पूर्वाधार निर्माणमा धेरै फेरिएको बताए ।

‘सुनाखरी सामुदायिक घरबास निकै कष्टका साथमा सुरुवात भएको थियो, तर अहिले घरबासका सामुदायिक भवन तयार भएर सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘१५ घरबासमा सञ्चालनमा रहेका छन्, केही वर्षअघि प्रदेश सरकारले घरबास पूर्वाधार सुधार गर्न बजेट उपलब्ध गराएको थियो ।’

मध्यवर्ती सामुदायिक घरबासका सञ्चालक ज्योति लामाले स्थानीयस्तरमा पाइने खानेकुरालाई प्राथमिकता राख्दै आइरहेको बताए ।

‘यहाँ उत्पादन हुने मकैको विशेष परिकार पर्यटकले निकै रूचाएर खाइरहनुभएको छ,’ उनले भने, ‘लोकल कुखुरा र मकैको ढिँडाको पनि पहुनाले धेरै रुचाइरहनुभएको छ ।’

सञ्चालक लामाले घरबास मध्यमस्तरमा चल्दा पनि आफ्नो जीविकोपार्जन गर्न धेरै सहयोग पुगेको बताए ।

‘हामीले निकै सस्तो र सुलभ दरमा घरबासले पाहुनाको सेवा सत्कार गर्दै आइरहेका छौँ,’ उनले भने, ‘समूहमा पाहुना आउँदा तामाङ सामुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छौँ ।’

घरबासका अध्यक्ष पौडेलले मधेस प्रदेशमा कानुन अभावले घरबास नवीकरण गर्न पनि पनि समस्या भोगिरहेको बताए ।

‘विगतमा घरबास संघीय सरकार मातहत दर्ता तथा नवीकरण हुने गथ्र्यो, तर पर्यटन कार्यालय प्रदेश सरकार मातहत कार्यालयमा गाभिएसँगै अहिले घरबास दर्ता र नवीकरणसँग सम्बन्धित कानुनको अभाव देखिएको छ,’ उनले भने, ‘कानुन अभावले दुई वर्षदेखि नयाँ दर्ता र नवीकरणको काम रोकिरहेको छ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.