न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध

  २०८१ असार १६ गते १५:३१     सन्तोष रोकाया

काठमाडौं । ‘दुई जना गुण्डाजस्तो केटाहरू मेरो घर वरिपरि घुमिरहेका छन्, मलाईं उनीहरूप्रति शंका लागिरहेको छ, उनीहरू को हुन् ? सोधीखोजी गर्नुपर्‍यो,’ सुरेन्द्र भण्डारीले आफ्नो घर नजिक पर्ने स्थानीय प्रहरीलाई फोन गरेर दिएको सूचना हो यो ।’

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीईओ)समेत रहेका भण्डारीबाट यस्तो सूचना पाएपछि स्थानीय प्रहरी पनि सतर्क बन्यो । र, लगत्तै उनको घर नजिक पुगेर ती ‘केटाहरू’लाई धपायो । उनीहरूले स्थानीय प्रहरीलाई कुनै प्रतिकार गरेनन् । अर्थात् आफूहरू त्यहाँ आउनुको कारण स्थानीय प्रहरीसँग खुलाएनन् ।

‘हामी दुई/तीन दिनदेखि उनको (सुरेन्द्र) को निगरानीमा थियौं । उनी घरमै छन् भन्ने निश्चित भइसकेको थियो । तर, झट्ट घरभित्रै छिर्ने कुरा भएन,’ त्यसैले सम्पूर्ण विषयवस्तु बुझ्न उनको घर वरपर निगरानी गरिरहेका थियौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा देखेर शंका लागेको रहेछ, र स्थानीय प्रहरीलाई खबर गरिएछ, स्थानीय प्रहरी आएर हामीलाई सोधखोज गरेपछि हामीलाई थाहा भयो ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीम केही दिनदेखि सुरेन्द्रकोे निगरानीमा थियो । घरमै छन् भन्ने सूचना पाइसकेको थियो । त्यसपछि शुक्रबार राति उनलाई पक्राउ गर्‍यो ।

‘हामीले सहकारीका सबै पदाधिकारीलाई पक्राउ गर्नु थियो, सुरुमा अन्यलाई पक्राउ गर्दा सूचना चुहिने डरले हामीले सुरुमै सुरेन्द्रलाई समात्यौं, त्यसपछि अरुको ठेगाना सजिलै पत्ता लाग्यो र पक्राउ गर्न सफल भयौं,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीले सीईओ भण्डारीसहित संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृत कुमार अर्याल र सञ्चालक समिति सदस्य कदमबाबा जोशी प्रधानलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरिसकेको छ ।

प्रहरी स्रोतका अनुसार उनी पक्राउ पर्दा एक जना न्यायाधीशसँग रक्सी पिइरहेका थिए । ‘न्यायाधीशको नाम नखोलौं, हाम्रो टीम पक्राउका लागि पुग्दा उनी एक जना न्यायाशीसँग रक्सी पिइरहेका थिए,’ स्रोतले भन्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

सो सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू विरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ ।

यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको पनि प्रहरी उपरीक्षक आचार्यलले जानकारी दिए ।

उनका अनुसार अब उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइने छ ।

यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

को हुन् उनीहरू ?

अमरदास श्रेष्ठ

७६ वर्षीय श्रेष्ठ लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । उनी नाम मात्रैका अध्यक्ष भए पनि सहकारीको साँचो भने प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग नै थियो । ३१ वर्ष नेपाल बैंकमा काम गरेका उनले सो बैंकको चिफ म्यानेजरबाट अवकास पाएका थिए ।

वि.सं. २०६१ सालमा लागिगुँरास सहकारीको सचिव बनेका उनी सो पदको जिम्मेवारीमा दुई वर्ष बसेका थिए । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बनेका उनी ८ वर्षसम्म उपाध्यक्षकै जिम्मेवारी सम्हाले । वि.सं २०७४ सालदेखि हालसम्म उनी सो सहकारीको अध्यक्ष भएर काम गरिरहेका छन् ।

सुरेन्द्र भण्डारी

लालिगुराँस सहकारीको पर्याय हुन् सुरेन्द्र भण्डारी । उनी सो सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । २०५६ सालदेखि हालसम्म निरन्तर रुपमा उनी सो सहकारीको विभिन्न पदमा रहेर काम गरेका थिए । सुरुमा सहकारीमा म्यानेजरका रुपमा काम गरेका उनी त्यसपछि प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत छन् ।

उनी विसं २०६६ र २०७६ सालमा गरी दुई पटक राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पनि बने । उनी २०७२ देखि २०७७ सम्म राष्ट्रिय सहकारी महासंघको सञ्चालक भएर पनि काम गरे । नेपाली काँग्रेस निकट उनको घर गोरखा भए पनि हाल ललितपुरको भैंसेपाटीमा बस्छन् । नेपाली कांग्रेस निकट सहकारी तथा वित्त विभागको सचिव समेत रहेका भण्डारी गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि समेत हुन् ।

अमृत कुमार अर्याल

७५ वर्षीय अर्यालको घर काठमाडौंको लाजिम्पाट हो । उनी लालिगुराँस सहकारीको कोषाध्यक्ष हुन् । उनले पनि ३१ वर्ष नेपाल बैंकमा काम गरे । उनी कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भएका थिए ।
वि.सं २०६५ सालदेखि लालिगुराँस सहकारीको सदस्यको रुपमा काम गरिरहेका उनी हाल सो संस्थाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

कदम जोशी प्रधान

प्रधान लामो समय शिक्षण पेशामा थिइन् । उनले २०४७ सालदेखि शिक्षण पेसा सुरु गरेकी थिइन् । त्यसपछि उनी सहकारीमा आवद्ध भइन् । २०७४ सालदेखि हालसम्म उनी लालिगुराँस सहकारीको सञ्चालक समिति सदस्यमा कार्यरत छिन् ।

कुन-कुनमा छ लगानी ?

प्रहरीका अनुसार सहकारीका सञ्चालक तथा पदाधिकारीहरू मिलेर बचतकर्ताको बचत घरजग्गामा लगाएका छन् । सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनेर विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको धारणा प्रहरीको छ ।

यस सहकारीको कार्यक्षेत्र साविक बागमती, गण्डकी, नारायणी र लुम्बिनी अञ्चलका २६ जिल्लामा रहेको बुझिएको छ । यस सहकारीले पर्सामा लालिगुराँस डेरी एण्ड रिसर्च फर्म सेन्टर र ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिरहेको पनि भेटिएको छ ।

प्रहरीले अझैं सहकारी र संस्थाको सञ्चालकले रकम दुरुपयोग गरेर अन्य धेरै कम्पनीमा लगानी गरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि लालिगराँस सहकारीले लगानी गरेका कम्पनीहरूको नाम आफ्नो वेवसाइटमार्फत् नै सार्वजनिक गरेको थियो ।

सो बेला उक्त सहकारीले लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ, लालीगुराँस राष्ट्रिय उच्च मावि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ, लालीगुराँस हस्पिटल, भैरवकुन्ड हाइड्रोपावर र लालीगुराँस एजुकेसन फाउन्डेसनमा लगानी गरेको सार्वजनिक गरेको थियो ।

सम्बन्धित सामग्री : अदालतको आदेशपछि पनि लालिगुराँस सहकारीले ५३ लाख बचत फिर्ता नगरेपछि…

अर्बौंको सम्पत्ति बिक्री गरेर सञ्चालक फरार भएपछि समस्याग्रस्त घोषणा, मिलेभगतमा सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.