‘ऐला’ ब्रान्डिङका लागि सम्भाव्यता अध्ययन गर्दै काठमाडौं महानगर

  २०८१ असार १६ गते १७:४४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थ (मदिरा) को ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधीका रूपमा समेत प्रयोग हुने गरेको छ ।

जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्रान्डिङ गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।

यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुठी तथा संघ संस्थाका प्रतिनिधिहरूको प्रतिक्रिया बुझ्न र यससम्बन्धी सूचना संकलन गर्न आइतबार छलफल कार्यक्रम आयोजना गरिएको छ ।

‘मदिरा ऐनले यस्ता वस्तुको प्रवर्द्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’

पुस्ताले व्यवहारिक शिक्षाका रूपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यसो नहुँदा स्तरीय उत्पादनका लागि पुर्खाले प्रयोग गरेको सीप थाहा नहुने बताए । उनले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए ।

छलफलमा ज्यापू महागुठी नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.