जीवनभर बैंकिङ गरे, बुढेसकालमा हिरासत पुगे

  २०८१ असार १६ गते १९:०५     सन्तोष रोकाया

काठमाडौं । जीवनको महत्वपूर्ण तीन दशक नेपाली बैंकिङ क्षेत्रमा योगदान गरे । मुलुकको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’मार्फत् नेपालीलाई बैंकिङ सेवा दिए । बैंकको नाम नसुनेकालाई बैंकिङ सिकाए । पैसा बचत गर्न नजान्नेलाई निक्षेप राख्न सुझाए । इन्ट्री लेवलदेखि बैंकको चिफ म्यानेजरसम्म पुगे । अथक संघर्ष र मिहिनेतपछि ३१ वर्षमा स-सम्मान बैंकबाट अवकाश पाए । बैंकिङ क्षेत्रमा ठूलो योगदान गरेको भन्दै दोसल्ला र खादासहित बैंकबाट विदा भए ।

उनलाई अझैं बैंकिङ भोक मरेन । सर्वसाधारणलाई वित्तीय साक्षरता र वित्तीय पहुँच बढाउनुपर्छ भन्ने हुटहुटी उनको मनमा खेलिरह्यो । अरु कुनै बैंकमा काम गर्ने अवस्था थिएन । परिणामतः उनले रोजे सहकारी ।

बैंकबाट अवकास हुनु पाँच वर्षअघि अर्थात् २०५६ सालमा ललितपुरको पुल्चोकमा स्थापना भएको थियो लालिगुराँस बहुउद्देश्यीय सहकारी । उनले सोही सहकारीमार्फत् जनतालाई बैंकिङ सेवा सिकाउने र आफू पनि व्यस्त हुने विकल्प खोजे । र, उनी बने लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य । उनी अर्थात् अमरदास श्रेष्ठ ।

अमरदास श्रेष्ठ ।

नेपाल बैंकबाट अवकास भएपछि उनी सक्रिय रुपमा सहकारीमा लागे । बैंकिङ करिअरमा कमाएको पैसा र पेन्सनलाई बचतका रूपमा सोही सहकारीमा राखे । सहकारीमा आकर्षक ब्याज थियो, बचत रकम बढ्दै गयो । जति बचत बढ्यो, उनको भूमिका र जिम्मेवारी पनि फेरिन थाल्यो ।

उनको चाहना थियो, आफ्नो बचतको पैसा बढाउने र सर्वसाधारणलाई पनि बैंकिङ सेवा सिकाउने । सोही संकल्पका साथ उनी वि.सं. २०६१ सालमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सचिव बने । उनी सो सहकारीको सचिव मात्रै बनेनन् जहाँ-जहाँ सुरेन्द्र भण्डारीले लगानी गछर्न्, त्यसको सेयर साझेदार पनि बने ।

२०६४ सालमा सो सहकारीको उपाध्यक्ष बने । ८ वर्ष उपाध्यक्षको जिम्मेवारीमा बसे । वि.सं २०७४ सालमा सो सहकारीको अध्यक्ष बने । उनलाई नजिकबाट चिन्ने सहकारीकर्मीहरू भन्छन्, ‘श्रेष्ठ नाम मात्रैका अध्यक्ष थिए, सहकारीको साँचो सुरेन्द्र भण्डारीको हातमा थियो ।’

‘जसो-जसो पण्डित बाजे, उसै-उसै स्वाहा’ भनेजस्तो लालिगुराँस सहकारीमा पनि त्यस्तै भयो । सहकारीका सीईओ भण्डारीले जे भन्यो, त्यस्तै गर्थे अध्यक्ष श्रेष्ठ ।

जहाँ भण्डारीले लगानी गरे त्यहाँ उनको पनि केही लगानी हुन्थ्यो । उनीहरूको साझेदारीमा  लालिगुराँस कलेज पनि खुल्याे । जुन कलेजको भण्डारी अध्यक्ष हुन् भने अमरदास सञ्चालक समिति सदस्य हुन् ।

‘मौरीको संगत गरे फूलबारीतिर, झिँगाको संगत गरे फोहोरतिर’ भनेजस्तै भयो अमरदास श्रेष्ठलाई पनि । भण्डारीकै संगतले वृद्धभत्ता खानु पर्ने ७६ वर्षको उमेरमा हातमा हतकडी लाग्यो । न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा चिसो भुइँमा रात बिताउनु पर्ने बाध्यता आइलाग्यो ।

अमृत कुमार अर्याल ।

अमरदास मात्रै होइनन्, अमरदासका सहकर्मी अमृत कुमार अर्यालको हालत पनि त्यस्तै भयो । उनीहरू दुवै जनाले नेपाल बैंकमा सँगै काम गरे । सँगै बैंकबाट अवकास पाए । अमृतले पनि नेपाल बैंकमा ३१ वर्ष काम गरे ।

उनी पनि बैंकको विभिन्न शाखामा लामो समय काम गरे । कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भए । अमरदासकै सल्लाहमा पेन्सनबाट आएको रकम सोही लालिगुराँस सहकारीमा राखे । २०६५ सालमा सोही संस्थाको सञ्चालक बने । पछि उनी संस्थाको कोषाध्यक्ष बने । अमरदास र अमृतलाई आफ्नो काबुमा लिएर सुरेन्द्रले बचतकर्ताको बचत दुरुपयोग गरे ।

नेपाल बैंकमा अमृत र अमरदाससँग काम गरेका एक बैंकरले अनुभव सुनाउँदै भने, ‘उनीहरू जनताको पैसा ठग्ने क्यारेक्टर (चरित्र)को थिएनन्, अरुको लहैलहमा लाग्दा हिरासत पुग्नुर्‍यो ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको आरोपमा लालिगुराँस सहकारीका पदाधिकारी तथा सञ्चालकलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । प्रहरीले सो सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सीईओ सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ भएकी सञ्चालक समिति सदस्य प्रधान पनि लामो समय शिक्षण पेसामा थिइन् । पछि सहकारीमा लागिन् । अन्ततः त्यही सहकारीले शिक्षण पेसा गरेर कमाएको सम्मानलाई सकाइदियो ।

काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको बताए । लालिगुराँस सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । गत माघमा उनीहरू विरुद्द महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ ।

यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । उनका अनुसार अब उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइनेछ ।

यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइनेछ ।

सम्बन्धित सामग्री : न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.